भिडियो च्यालेन्ज अभियानलाई प्रतिष्ठित व्यक्तिहरुको साथ

खरीबोट

काठमाडौं  । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज अभियान जारी रहेको छ । वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्जको घोषणा गरेको हो । 

भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ ।

अहिलेसम्म सिनेमा, खेलकुद, सरकारका विशिष्ट व्यक्तिहरु र समाजका अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरुले यस अभियानको प्रचारमा सहयोग गर्दै आफ्नो भिडियो संदेश दिएका छन् । 

नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वरिष्ठ कलकार हरिबंश आचार्य, कलाकार निर्मल शर्मा, अभिनेत्री स्वेता खड्का, क्रिकेटर सोमपाल कामी, तेक्वान्दो खेलाडी दीपक विष्ट, मिस नेपाल शृंखला खतिवडा, क्याप्टेन विजय लामा, रेडियोकर्मी तथा निर्देशक दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालगायतले अहिलेसम्म अभियानको प्रचारमा आफ्नो भिडियो संदेश जारी गरेका छन् ।

कुनै अभियानका लागि समाजका विभिन्न क्षेत्रका यति धेरै प्रतिष्ठित व्यक्तिहरु एक ठाउमा आएको यो पहिलो पटक देखिएको छ । यस अभियानमा समाजका अझै प्रतिष्ठित व्यक्तिहरु जोडिदै जाने फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउछन् ।


सातै प्रदेशमा कार्यक्रम :

वी वील राईज (हामी उठ्ने छौं) फाउण्डेसनले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज आयोजनालाई देश ब्यापी बनाउन आजदेखि सातै प्रदेशमा कार्यक्रम गर्दै छ । यस अभियानको बारेमा थप जानकारी दिने उद्धेश्यले पहिलो चरणमा हेटौडा, नारायणघाट, बुटवलमा पत्रकार सम्मेलनको आयोजना हुदै छ । कार्यक्रममा अभिनेता निर्मल शर्मा, १३ पटक सगरमाथा आरोहीफुर्वा तेन्जिङ शेर्पा, सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य,  वी वील राईज फाउण्डेसनका निर्देशकहरु निर्मल श्रेष्ठ, मुकुन्द बोगटी र अनुप बराल सहभगी हुदै छन् l

कार्यक्रम हेटौडामा आज न्युज क्लब नेपालमा ३ बजे, त्यस्तै सोमबार नारायणघाटमा पत्रकार महासंघ चितवनको हलमा बिहान ११ बजे र सोमबार नै द्वारिका उदय सिनेमा हालको फुडकोर्टमा साँझ ५ बजे पत्रकार सम्मेलन आयोजना हुदै छ l


ओझेलमा परेका गन्तव्यको प्रवर्धन प्रमुख उद्धेश्य :

देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउछन् ।

‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने। यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ। व्यावसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउन सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउने छन्। स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउन्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ।

चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ। 

उनले भने, ‘यस्तो भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत बाहिर ल्याउन सकिनेछ। यसरी बनाइएका भिडियो आफ्नै गाउँ ठाउँको सम्पत्ति हुने भएकाले आवश्यक प्रवर्द्धनात्मक गतिविधिमा प्रयोग गर्न सकिन्छ।’

यस्तो छ भिडियो च्यालेन्ज अभियान :

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ । साथै खरीबोट डट कम पनि यस अभियानको मिडिया सहयोगी रहेको छ l 
 

सम्बन्धित समाचार


z