• २०८१ बैशाख १३ बिहीबार

 रंगशाला स्तर उन्नतीको लागि सप्ताह लगाइदै  

kharibot

काठमाडौँ । रंगशाला निर्माणको लागि श्रीमद्धागवत सप्ताह महायज्ञ लगाईने भएको छ ।  काठमाडौँस्थित तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तर उन्नतिका लागि यही फागुन ४ गतेदेखी १० गते  गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ आयोजक समितिले उक्त रङ्गशालाको स्तरोन्नतीका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको बताएको छ ।

आयोजक समितिका अध्यक्ष राजेन्द्र अर्यालले गोलढुङ्गामा रहेको उक्त फुटवल रङ्गशाला प्राकृतिक रुपमा नै प्याराफिट सहितको रहेको र सरकारले अलिकति पनि आँखा लगाए मात्र पनि  रङ्गशाला अन्तराष्ट्रिय स्तरको फुटवल रङगशाला बन्ने दावि गरे ।

उनले भने, ‘यस संस्थाका संस्थापक अध्यक्ष स्वः सुदर्शन आचार्यको सम्मान र यस क्षेत्रको खेलकुद पर्यटन विकासको लागि  रङ्गशाला निमार्ण अपरिहार्य छ ।’समतिका अध्यक्ष अर्यालले महायज्ञबाट रंगशालाको न्यूनतम पूर्वाधार निर्माणका लागि दुई करोड रुपैयाँ संकलन गर्ने उद्देश्य रहेको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै श्रीमदभागवत महायज्ञका प्रमुख वाचक पण्डित शिरमणि दिनबन्दु पोखरेलले हालसम्म आफूले सामाजिक कामको लागि ६ सय भन्दा बढि भागवत बाचन गरेको बताउँदै खेलकुदको विकासका लागि भने आफ्नो यो पहिलो महायज्ञ भएको बताए ।

आध्यात्मिक माध्ययमबाट समाजमा जागरण ल्याई वेद र बुद्धका गहन वाणी मार्फत समाज रुपान्तरणका लागि यस्ता महायज्ञ फलदायी हुने उनको भनाई छ ।

सम्मेलनमा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ का संघीय सांसद रामविर मानन्धरले तयारी अवस्थामा रहेको यस रङ्गशालाको स्तर उन्नतिका लागि सरकारले खासै ध्यान नदिएको बताए ।

काठमाडौँमा यस्ता खालका खेलकुद मैदान कम भएको उल्लेख गर्दै सिंहदरबारबाट ६ किलोमिटर दुरीमा रहेको गोलढुङ्गामा रंगशाला निर्माण गरिएमा यस क्षेत्रको समग्र विकासमा नै टेवा पुग्ने उनको भनाई थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै