• २०८१ बैशाख १३ बिहीबार

हेलो सरकारमा गुनासो : सबैभन्दा बढी गृहको र कम खेलकुदको 

kharibot

काठमाडौँ । हेलो सरकारमा सबैभन्दा बढी गुनासो गृह मन्त्रालयको दर्ता भएको छ । प्रधानमन्त्री कार्यलयमा रहेको हेलो सरकारले दिएको जनाकारी अनुसार विगत एक वर्षको अबधिमा गृह मन्त्रालयमा ३ हजार ९ सय ८५ गुनासा दर्ता भएका  छन् । ती मध्ये ९ सय २१ गुनासा सम्बोधन भएका छन ।

गृह मन्त्रालयअन्तर्गत  शान्ति सुरक्षा, अपराध,  ट्राफिक ब्यवस्थापन, यातायात ब्यवस्था, पुलिस प्रशासनसँग सम्बन्धित भएका सबै विषय समेट्ने भएकाले अन्य मन्त्रालयभन्दा गृह मन्त्रालयमा बढी गुनासो आउने गरेको छ । 

गृह मन्त्रालयमा अरु मन्त्रालयसँग सम्बन्धित नभएका विषयसमेत गृह मन्त्रालयमा आउने गरेकाले गृह मन्त्रालयमा गुनासो बढी भएको हो । 

गृह मन्त्रालयपछि शिक्षा,  स्वास्थ्य, संघीय मामिला, भूमिसुधार मन्त्रालयसँगै  जनचासो र उपयोगीताका विषयहरु टेलिकम, खानेपानी, सडक, ढल निकासी, विद्युतलगायत पार्किङ्ग, असहज यात्रा, बढी भाडा लिएको, छुट नदिएको लगायतका  धेरै गुनासाहरु आउने गरेका छन् । तत्काल समाधान हुन सक्ने गुनासा तत्कालै समाधान गर्नसक्ने खालको कदम चाल्ने गरिएको छ । तत्काल सम्बोधन हुन नसक्ने गुनासामा प्रहरीको निगरानी बढाउने गरिएको छ । 

वि.स. २०६८ साल कार्तिक १७ गते, डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनताका गुनासा र समस्या सुन्ने र ती समस्या समाधान गर्ने उदेश्यका साथ सुरु गरिएको हेलो सरकारमा हाल सम्ममा ८२ हजारभन्दा बढी गुनासा दर्ता भएका छन । 

खरीबोटसँग कुरा गर्दै हेलो सरकार कार्यालयका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले हेलो सरकारमा माघ महिनाको पहिलो सातासम्ममा ८२ हजारभन्दा बढी गुनासा  दर्ता भएको बताएका छन् । हेलो सरकार सुरु भएदेखी हालसम्मको अबस्था हेर्दा ८२ हजारभन्दा बढी गुनासो दर्ता भएका छन् । ती बाहेक दर्ता नगरी रिप्लाई तथा  च्याट गरेका र सिधैँ फोनमा रेस्पोन्स गरेका धेरै गुनासा छन् । जुन हाम्रो गणनामा छैन ।  तर ८२ हजारको डाटा छ ,उनले भने  ।

फर्छ्यौटको अबस्था :

हेलो सरकार सुरु भएको ७ वर्षभन्दा बढी भयो । हाल सम्ममा ८२ हजार गुनासा दर्ता भएका छन । गुनासा फर्छ्यौटको अबस्था कस्तो छ त भन्ने सवालमा  उपाध्याय गुनासो फर्छ्यौटको २ किसिमको भएको बताउँछन् । जसमध्ये सम्बन्धित निकाय वा मन्त्रालयमा पत्रचार गरेपछि फर्छ्यौट भयो भन्ने बुझाई छ । जुन बिगतमा प्रयोगमा थियो भने अर्को गुनासो आएपछि सम्बन्धित मन्त्रालय  वा विभागमा पठाएर काम तथा कारर्वाही भएपछि वा गुनासोकर्ता सन्तुष्ट भएपछिको अबस्थालाई बुझिन्छ जुन हाल प्रयोगमा छ । 

बर्तमान अबस्थालाई हेर्दा हाल गुनासोकर्ता खुसी र सन्तुष्टी हुने वा तत्काल काम सम्पन्न हुने खालका धेरै गुनासाहरु आउने र सम्बोधन समेत हुने भएता पनि समग्रमा हेर्दा २० प्रतिशत मात्र गुनासाहरु फर्छ्यौट भएका छन भने ८० प्रतिशत गुनासा फर्छ्यौट हुन बाँकि रहेको उनले बताए ।

बत्ति, पानी, ट्राफिक जाम, फोहोर, धुलोमैलो लगाएतका समस्याहरु तत्काल समाधान हुन सक्ने खालका गुनासाहरु तत्काल समाधान गर्न सकिने भएकाले गुनासाकर्ता छिटै खुसी र सन्तुष्टी बन्छन् । जुन गुनासाहरु तत्कालको लागि समाधान भएता पनि लामो समयसम्म नरहने भएकाले एउटै विषय र एउटै ब्यक्तिले पटक, पटकसम्म गुनासा दर्ता गराउने गरेको समेत पाइएको छ । एउटै ब्यक्तिले ५ हजार पटक सम्म गुनासो गरेको रेकर्ड समेत पाईएको छ । 

मन्त्रालय अन्र्तर्गत सबैभन्दा बढी गुनासो गृह मन्त्रालयमा ३९८५ गुनासो दर्ता भएकोमा  गृहले हाल सम्म ९ सय २१ गुनासा मात्र फर्छ्यौट भएको छ । त्यस्तै गरी,  नेपाल टेलिकममा २१५ गुनासा दार्ता भएकोमा ६६ प्रतिशत फर्छ्यौट भएको छ । बिधुत् प्राधिकरणमा २५९ गुनासामा ५९ प्रतिशत फर्छ्यौट भएको छ । संघीय मामिला मन्त्रालयमा ६६३, स्वास्थ्य मन्त्रालयमा ३३८ गुनासा दर्ता भएका छन ।  

उल्लेखनीय फर्छ्यौट रहेका मन्त्रालय तथा निकाय अन्तर्गत,  नेपाल टेलिकमले ६६ , बिधुत् प्राधिकरणले ५९ , रक्षा मन्त्रालयले ४३,  संस्कृति पर्यटन तथा उड्यान मन्त्रालयले  ३६ र महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले  २९ प्रतिशत मुद्धा फर्छ्यौट गरेका छन । भने सबै भन्दा कम गुनासो युवा तथा खेलकुद मन्त्रालयको रहेको छ ।  खेलकुद मन्त्रालयमा  एक वर्षको अवधिमा १ सय  २८ गुनासा दर्ता भएका छन । 

त्यस्तै भौतिक पूवोधार तथा यातायात, भूमी ब्यवस्था, खानेपानी, संचार तथा सुचना प्रविधि र कानुन मन्त्रालय गुनासो फर्छ्यौट गर्नमा कमजोर रहेका छन् । 

हेलो सरकार आफैले गुनासो सम्बोधन गर्ने नभएर मेडियटरको भुमिका खेल्ने भएकाले उसले गुनासालाई सम्बन्धित निकायलाई सिफारिस गर्ने  र सम्बोधनका लागि निर्देशन मात्र गर्ने हो । सबै निकायले आफ्नामा आएको गुनासोलाई गम्भीररुपमा लिए सम्बोधनमा गार्हो नहुने हेलो सरकार प्रमुख उपाध्यायको भनाई छ । तर ती निकायले किन गुनासा सम्बोधन गरेनन्, उहाँहरुको आफ्नै समस्या होला उनले भने । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वसाधारणको गुनासो संकलनका लागि मोबाइल एप पनि ल्याउने तयारी थालेको छ । डा. बाबुराम भट्टराई पालामा सुरू भएको ‘हेलो सरकार’ले सुरूमा टेलिफोनबाट गुनासो सङ्कलन सुरु गरेको थियो ।

कार्यालयले केही समयपछि नागरिक मोवाईल एप ल्याउने तयारी गरिरहेको समेत हेलो सरकार शाखाका प्रमुख उपाध्ययले जानकारी दिए । एपमा गुनासो, फोटो, भिडियो सोझै पठाउन सकिने  छ । जहाँ इनपुटमा गुनासो आएपछि गुनासो को सँग सम्बन्धित हो सिधै उ सम्म पुग्ने व्यवस्था गर्न लागिएको छ । नेपाल सरकारका ८ हजार कार्यालयहरु सबैलाई त्यो सिस्टममा इमपुट गर्नुपर्ने हुन्छ । जुन सफ्टवयर तयारी भइसकेको उनले जानकारी दिए । 

मोबाइलका लागि तयार गरिएको उक्त एपमा सार्वजनिक विषयमा गुनासो गर्न र आफूले गरेको गुनासोको जवाफ माग्न कहाँ पठाइयो भनेर समेत हेर्न सकिने छ । 

गुनासो लेख्नका लागि एपमै विवरण भर्नुपर्छ साथै गुनासोको चलानी नम्बर ट्रयाक गरेर जवाफ समेत हेर्न सकिन्छ । एप आएपछि कार्यालयमा फोन गरेर गुनासो टिपाउने झन्झटबाट मुक्त भइने आशा उपाध्यायले गरे ।

पैसा नलाग्ने टोल फ्रि नम्बर, इमेल, एसएमएस, फेसबुक पेज र ट्वीटर एकाउन्ट हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था हाल सञ्चालनमा छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै