• २०८१ बैशाख ६ बिहीबार

नमूना कृषि गाउँका लागि सम्भाव्यता अध्ययन गर्दै गण्डकी प्रदेश

kharibot

तनहुँ । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार वटा गाउँलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिएको हो ।

जसअनुसार भानु नगरपालिका–११ स्थित बाँसखर्क, आँबुखैरेनी गाउँपालिका–४ स्थित भाँगे, शुक्लागण्डकी नगरपालिका–९ र १२ स्थित भाटडाँडा र भिमाद नगरपालिका–९ स्थित भानुमती गाउँको सम्भाव्यता अध्ययन गरिएको जिल्लास्तरीय छनोट समितिका सदस्य एवं पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

नमूना कृषि गाउँ छनोटका लागि कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तेजप्रसाद दुवाडीको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ । उक्त समितिमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा प्रतिनिधि, सम्बन्धित स्थानीय तहका कृषि वा पशु सेवा प्राविधिक कर्मचारी सदस्य र ज्ञान केन्द्रले तोकेको अधिकृतस्तरको कर्मचारी सदस्यसचिव रहेका छन् ।

उक्त समितिले चार वटै गाउँमा पुगेर सम्भाव्यता अध्ययन गरेको श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार समितिले गरेको अध्ययनअनुसार ती गाउँहरु नमूना कृषि गाउँका लागि उपयुक्त देखिएको छ । उनले भने, “हामीले स्थलगत गएर त्यहाँको वस्तुस्थिति बुझ्दा नमूना कृषि गाउँका लागि उपयुक्त भएको पायौँ । सोही रिपोर्ट हामी सम्बन्धित मन्त्रालयमा बुझाउँछौँ ।”

एक स्थानीय तह एक नमूना कृषि गाउँ स्थापना गर्ने उद्देश्य रहे पनि पहिलो वर्ष कम्तीमा एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ बनाउने लक्ष्य राखिएको छ । कार्यक्रमका लागि यस वर्ष रु दश करोड ८० लाख बजेट विनियोजन गरिएको छ । प्रत्येक नमूना कृषि गाउँलाई रु ३० लाखका दरले रकम प्रदान गरिनेछ ।

कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाईको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकूलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रिकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सहसिकाइ कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै