• २०८१ बैशाख १२ बुधबार

कर्मचारी समायोजन : ८४८ उपसचिवको समायोजन सम्पन्न 

kharibot

काठमाडौँ । सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ । 

समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हँुदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । 

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताउनुभयो । सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ ।

सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

सरकारले यसअघि सचिवको समायोजन गरिसकेको छ भने सहचिवको समायोजन प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । कूल ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै