काठमाडौं । न्युजील्याण्डसँगको दोस्रो टी-२० मा भारत विजयी हुदै सिरिज बराबरी गरेको छ । आज भएको खेलमा भारतले ७ विकेटले जित हासिल गरेको हो ।
न्युजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले ३ विकेट गुमाउदै १८.५ ओभरमा जित हासिल गरेको थियो ।
भारतको जितमा रोहित शर्माले सर्वाधिक ५० रन बनाए । रोहितले २९ बलमा ५० रनको तुफानी पारी खेल्दै भारतलाई जित दिलाएका थिए । रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म सर्वाधिक रनको रेकर्ड समेत बनाएका छन् । यसअघि न्युजील्याण्डकै मार्टिन गप्टिलको २२७२ रनको रेकर्डलाई तोड्दै रोहितले २२८८ रन बनाएका छन् ।
त्यस्तै भारतका लागि रिषव पन्तले अविजित ४०, सिखर धवनले ३०, महेन्द्र सिंह धोनीले अविजित २० तथा विजय शंकरले १४ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि ग्राण्डहोमले सर्वाधिक ५० रन बनाएका थिए । त्यस्तै रोज टेलरले ४२ र कप्तान केन विलियम्सनले २० रन बनाएका थिए ।
भारतीय बलर क्रुनाल पाण्डेयले ३ विकेट लिए भने खालिद अहमदले २ तथा भुवनेश्वर कुमार र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।
तीन खेलको सिरिज अब १-१ को बराबरी भएको छ भने सिरिजको निर्णायक खेल फेब्रुअरी १० मा हुने छ ।