पुलमा एउटा बूढो मान्छे – अर्नेस्ट हेमिंग्वे

खरीबोट

सन् १९५४ को साहित्यतर्फको नोबेल पुरस्कार बिजेता अर्नेस्ट हेमिंग्वे (सन् १८९९-१९६१) एक अमेरिकी पत्रकार, उपन्यासकार तथा कथाकार थिए । २०औं शताब्दीको आख्यानमा, उनले प्रतिपादन गरेको 'आइसबर्ग' सिद्धान्तको निकै प्रभाव रहेको पाइन्छ । यस सिद्धान्तका अनुसार आख्यान लेखनमा सबै कुरालाई सतहमा नल्याएर थोरै कुराहरूमार्फत नै धेरै कुराहरू अभिव्यक्त गर्न खोज्नुपर्छ । समुद्रमा तैरिरहेको 'आइसबर्ग'को केवल १/८ भाग मात्र बाहिर देखिन्छ भने बाँकी भाग भित्रै रहेको हुन्छ । हेमिंग्वेका अनुसार कथाको भित्री अर्थ पूर्ण रुपमा सतहमा देखिनु हुँदैन, चम्किनु मात्र पर्दछ । थोरै कुरा कथामा उल्लेख गरेर त्यसबाट धेरै 'थीम'हरू दिनसक्नु हेमिंग्वेको खुबी हो । हेमिंग्वेका १० वटा उपन्यास १० कथासंग्रह र ५ गैरआख्यान कृतिहरू प्रकाशित छन् । उनको 'ओल्ड मेन एण्ड द सी', 'अ फेयरवेल टु द आर्म्स' र 'द सन् अल्सो राइजेज' उपन्यासहरूलाई विश्वसाहित्यकै महत्वपूर्ण कृतिको रुपमा लिइन्छ । सन् १९५२ मा अफ्रीकाको सफारीमा गएका उनी लगातार दुईवटा हवाई दुर्घटनामा परेका थिए जसले गर्दा उनले बाँकी जीवन पीडा र अस्वस्थताका बीच बिताउनुपर्यो । उनले सन् १९६१ मा आफैले आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गर्न पुगे । प्रस्तुत छ २० औं शताब्दीका महत्वपूर्ण लेखक अर्नेस्ट हेमिंग्वेको कथा 'द ओल्ड म्यान एट द ब्रिज’'को अनुप जोशीले नेपालीमा गरेको अनुवाद ' पुलमा एउटा बूढो मान्छे ' :


स्टीलको बिट भएको चस्मा र धूलो लत्पतिएको लुगा लगाएका एउटा बूढो मान्छे बाटोको छेउमा बसिरहेका थिए । त्यहाँ नजिकै नदीमा एउटा पुल थियो जसबाट गाढा, ट्रक, महिला, पुरुष र बालबालिकाहरू नदी पार गरिरहेका थिए । खच्चडहरूद्वारा तानिएका गाढाहरू पुलको डिलमा पुगपछि अड्किन पुग्थे, जसलाई सिपाहीहरूले पांग्रामा धक्का दिंदै अगाडि बढ्न सहयोग गरिरहेका थिए । 

ट्रकहरू धमाधम पुलबाट वारपार गरिरहेका थिए भने कामदारहरू खुट्टाको गोलीगाँठोसम्म आएको धूलोमा काम गरिरहेका थिए । तर ती बूढो मान्छे भने त्यहाँ अचल भएर बसिरहेका थिए । यात्रा जारी राख्नका लागि उनी निकै थाकेका थिए । 

पुल पार गर्नु, किल्ला अवलोकन गर्नु र सत्रुहरू कहाँसम्म आइपुगेका छन् भनेर पत्ता लगाउनु मेरो जिम्मेवारी थियो । मैले त्यो सबै पूरा गरेर पुलमा फर्केको थिएँ । 
अहिले भने गाढाहरू र पैदल यात्रुहरू पातलिंदै थिए तर ती बूढो मान्छे अझै त्यहीं स्थिर थिए ।
‘तपाईं कहाँबाट आउनुभयो?’, मैले उनलाई सोधें ।
‘सान कार्लोसबाट’, उनले भने र मुस्कुराए ।
सान कार्लोस उनको पुर्ख्यौली शहर थियो जसलाई उल्लेख गर्न पाउँदा उनलाई खुसी मिलेकाले उनी मुस्कुराएका थिए ।
‘म जनावरहरूको हेरचाह गरिरहेको थिएँ’, उनले बुझाउन खोजे । मैले उनले भन्न खोजेको बुझ्न सकिनँ र ‘ए’ मात्र भनेर प्रतिक्रिया जनाएँ ।
‘हो’, उनले भने, ‘हेर्नुस्, म जनावरहरूको हेरचाह गर्दै बस्थें । म सान कार्लोस शहर छाड्ने अन्तिम व्यक्ति थिएँ’
उनी कुनै गोठालोजस्ता देखिदैनथे । मैले उनको कालो रंगको धूलाम्य लुगा, धूलोले लत्पतिएको खैरो अनुहार र स्टीलको बिट भएको चस्मा राम्रोसँग नियालें अनि सोधें, ‘कुन जनावर थिए ती?’
‘धेरैखालका जनावर थिए ’, उनले भने र टाउको हल्लाए । ‘मैले तिनीहरूलाई छाड्नुपर्यो’
म त्यो पुललाई र अफ्रिकी भूमिजस्तो लाग्ने एब्रो डेल्टा गाउँलाई अवलोकन गरिरहेको थिएँ । र चनाखो भएर हमलाको संकेत दिने बिगुल बजेको प्रतीक्षा गर्दै सोचिरहेको थिएँ कि कतिबेला सत्रुहरू देखा पर्नेछन् । ती बूढा मान्छे अझै त्यहीं थिए ।
‘कस्ताखालका जनावरहरू थिए ती?, मैले सोधें ।
‘सबै गरेर जम्माजम्मी तीन जनावरहरू थिए’, उनले व्याख्या गरे ।
‘दुईवटा बाख्रा थिए, एउटा बिरालो थियो र चार जोडी परेवाहरू थिए’
‘र तपाईंले ती सबैलाई छोडेर हिंड्नुपर्यो?’, मैले सोधें ।
‘हो । तोपखानाका कारण । कप्तानले मलाई तोपखानाका कारण शहर छाडेर जान भने’
‘तपाईंको कोही परिवार थिएन?’, पुलको अन्तिम भागलाई हेर्दै मैले सोधें जहाँबाट केही अन्तिम गाढाहरू अगाडि बढिरहेका थिए ।
‘अहँ’, उनले भने, ‘मेरो आफ्नो भन्नु ती जनावरहरू मात्र थिए । बिरालोलाई त केही हुन्न होला । बिरालाहरू आफ्नो हेरचाह आफैं गर्न सक्छन् तर म अरूहरूको के हुन्छ होला भनेर सोच्न पनि सक्दिनँ’
‘के इलम गर्नुहुन्छ’, मैले सोधें ।
‘मेरो कुनै इलम छैन’, उनले भने । ‘म ७६ वर्षको भएँ । १२ किलोमिटर पर आइसकेको छु र अब मलाई लाग्दैन कि यहाँ भन्दा अगाडि बढ्न सक्छु’
‘यो विश्राम गर्नका लागि उपयुक्त ठाउँ होइन’, मैले भनें । ‘यदि तपाईं अगाडि जानुभयो भने सडकमा ट्रकहरू भेटिनेछन् । 
‘म केहीबेर विश्राम गर्छु’, उनले भने, ‘र त्यसपछि जान्छु’ । ‘ट्रकहरू कहाँ जान्छन्?’ 
‘बार्सिलोनातर्फ जान्छन्’, मैले उनलाई भनें ।
‘मैले त्यसक्षेत्रका कसैलाई पनि चिनेको छैन’, उनले भने, ‘तर तपाईंप्रति म धेरै कृतज्ञ छु । तपाईंलाई धेरै धेरै धन्यवाद’
आफ्नो मनको पीडा कसैलाई सुनाउन चाहेका बूढाले मलाई थकित र रित्तो दृष्टिले हेरे र भने, ‘म निश्चिन्त छु, बिरालोलाई त केही हुनेछैन । उसको बारेमा धेरै व्याकुल हुनु आवश्यक छैन । तर अरु? तपाईंलाई के लाग्छ अरुलाई के हुन्छ होला?’
‘शायद तिनीहरू पनि सकुशल नै रहन्छन् होला’
‘तपाईंलाई त्यस्तो लाग्छ?’
‘किन नलाग्नु त’, मैले नदीको अर्को किनारातर्फ हेर्दै भनें जहाँ अब एउटा पनि गाढा थिएन ।
‘तर उनीहरू तोपखानामुनि कसरी सुरक्षित रहन्छन् होला जबकि मलाई त्यहाँ तोपखाना भएकै कारण अन्त्यत्र जान भनियो?’
‘के तपाईंले परेवाको खोर खुल्लै छोडेर आउनुभएको थियो?’, मैले सोधें ।
‘अँ, खुल्लै छोडेको थिएँ’
‘त्यसोभए उनीहरू उँडेर जानेछन्’
‘हो त, उनीहरू त निश्चयनै उँड्नेछन् । तर अरु? शायद अरुकाबारे नसोच्नु नै वेश होला’, उनले भने ।
‘यदि तपाईं यहीं बसिरहनुहुन्छ भने मचाहिं जान्छु’, मैले इच्छा व्यक्त गरें । ‘अब उठ्नुस् र हिंड्ने प्रयास गर्नुस्’
उनले ‘धन्यवाद’ भने र आफ्नो खुट्टामा उभिए । दायाँबायाँ ढलपल गरे र फेरी तल धूलोमा बसे ।

‘म जनावरहरूको हेरचाह गरिरहेको थिएँ’, उनले निष्प्राण लबजमा भने । तर अब उनी मसँग बोलिरहेका थिएनन् । ‘म केवल जनावरहरूको हेरचाह गरिरहेको थिएँ’
उनको लागि मैले गर्न सक्ने केही पनि थिएन । त्यो दिन इस्टर आइतबार थियो र फासिस्टहरू इब्रोतर्फ अगाडि बढिरहेका थिए । त्यसदिनको मौसम निकै खराब भएकाले धन्न उनीहरूका लडाकु विमानहरू आकाशमा थिएनन् । ती बूढो मान्छेसँग सौभाग्यका रुपमा यही एउटा कुरा र बिरालाहरू आफ्नो हेरचाह आफैं गर्न सक्छन् भन्ने तथ्यबाहेक संसारमा अरु केही पनि थिएन ।

सम्बन्धित समाचार

अनुप जोशीको कविता: मैले तिमीलाई प्रेम गरिरहेको हुनेछु

रुखको यही हाँगामा आएर हजारौं चराहरूले विश्राम गरेर जानेछन् यही बाटोलाई पछयाएर हजार यात्रुहरू गन्तव्यमा पुग्नेछन् फूलहरू फुलिरहेकै हुनेछन् वा ओइलिएर झरिसक्नेछन् मैले तिमीलाई प्रेम गरिरहेको हुनेछु वसन्तहरू जानेछन् शिशिरहरू आउनेछन् कुनै दिन म बूढो हुनेछु छाला चाउरी पर्नेछन् र

तिम्रो श्रीमानले मलाई तिमीलाई चुम्बन गर्न पठाएका छन् (केट चोपिन)

सन् १८५० मा अमेरिकाको मिसौरीमा जन्मेकी केट चोपिनलाई अहिले १९औं शताब्दीको अमेरिकी साहित्यमा महत्वपूर्ण व्यक्तित्वका रुपमा लिइन्छ । विशेषगरी उपन्यास र कथा विधामा कलम चलाएकी उनको सुप्रसिद्ध उपन्यास ‘द अवेकनिङ’लाई नारी

'गोहो'ले सिङ्गो रक्तरञ्जित इतिहासको आलोचना गरेको छ : जिके पोख्रेल

पाँचथरका जिके पोख्रेल पछिल्लो समय नेपाली साहित्यमा एक कुशल समीक्षक/समालोचकका रुपमा परिचित छन् । लेखनमा समेत सक्रिय रहँदै आएका उनको तेस्रो कथासंग्रह 'गोहो' यही चैत्र २३ गते सार्वजनिक हुँदै छ

कुरूप चन्द्रमा यसरी सुन्दर भयो [कथा]

ब्रह्माण्डको उत्पत्तिलाई लिएर विश्वका विभिन्न समुदायमा आ-आफ्नै खालका मिथक र दन्तेकथाहरू पाइन्छन् । त्यस्तै चन्द्रमाको सुन्दरतालाई लिएर पनि विश्वका फरक-फरक समुदायमा थरीथरीका किम्बदन्तीमा आधारित रहेर लोककथाहरू लेखिएका छन् । यहाँ


z