• २०८१ बैशाख ८ शनिबार

‘इनसाइट’को अवतरणमा महत्वपूर्ण भूमिका खेलेका नासाका दुई उपग्रह सम्पर्कविहीन 

kharibot

काठमाडौँ ।‘क्युब साट्स’ भनिने नासाका दूई साना उपग्रहहरू ‘वाल-ई’ र ‘एभ’ पछिल्लो एक महिनादेखि सम्पर्कमा नआएको नासाले जनाएको छ ।

यी दुई साना उपग्रहहरूलाई अघिल्लो वर्ष मङ्गल ग्रहका लागि प्रक्षेपण गरिएको थियो । यी उपग्रहहरूले २०१८ नभेम्बरमा मङ्गल ग्रहको सतहमा नासाको ‘रोबोटिक ल्याण्डर इनसाइट’ को अवतरणमा महत्वपूर्ण भूमिका खेलेका थिए। ‘इनसाइट’ मङ्गल ग्रहको सतहमा उत्रदा ‘वाल-ई’ र ‘एभ’ले उक्त ग्रहको माथिबाट उँड्दै पृथ्वीमा रहेको ग्राउण्ड कन्ट्रोलरलाई ‘इनसाइट’ को अवतरणबारे प्रतक्ष्य अपडेट प्रदान गरेका थिए । 

एक महिना भन्दा बढी बितिसक्दा पनि ती उपग्रहहरूसँग सम्पर्क हुन नसक्दा अब सम्पर्क स्थापित हुने सम्भावना कम रहेको नासाले बताएको छ । तर ती उपग्रहहरू अझै सूर्यको कक्षमा घुमिरहने भएकाले उनीहरूसँग फेरी चांडै नै सम्पर्क गर्ने प्रयास गर्ने पनि नासाले जानकारी दिएको छ ।

‘वाल-ई’ मा २०१८ मे देखि नै इन्धनको चुहावट हुने समस्या देखिएको थियो र उक्त उपग्रहसँग अन्तिमपटक डिसेम्बरमा सम्पर्क भएको थियो । त्यसैगरि ‘एभ’ भने जनवरीदेखि सम्पर्कबिहिन बनेको थियो । नासाकाअनुसार मङ्गल ग्रहदेखी ‘वाल-ई’ १६ लाख किलोमिटर र ‘इभ’ ३२ लाख किलोमिटर टाढा गइसकेका छन् ।

‘वाल-ई’ र ‘एभ’ अन्तरिक्षको भित्रि तहसम्म पुग्ने एक्ला ‘क्युब साट्स’ हुन्। क्युब साट्स भनेको अन्तरिक्ष अन्वेषणका लागि प्रयोग हुने निकै साना उपग्रहहरू हुन् । एउटा सामान्य ब्रिफकेस जत्रो आकार हुने क्युब साट्सको तौल १/३३ ग्राम भन्दा बढी हुँदैन । तुलनात्मक रुपमा क्युब साट्सको लागत निकै कम हुने हुँदा यस्ता साना उपग्रहहरू अन्तरिक्षको अध्ययन गर्ने किफायती साधन हुने गर्छन । अहिलेसम्म ९०० भन्दा बढी क्युब साट्सहरू अन्तरिक्षको कक्षमा स्थापित भइसकेका छन् ।

अहिले सम्पर्कबिहिन भए पनि नासाले भने ‘वाल-ई’ र ‘एभ’को अहिलेसम्मको यात्रालाई एक महत्वपूर्ण उपलब्धि मानेको छ । नासाकाअनुसार ‘वाल-ई’ र ‘एभ’को प्रक्षेपण यस्ता साना उपग्रहहरू अन्तरिक्ष अन्वेषणमा कत्तिको उपलब्धिमुलक हुन सक्छन् भन्ने एक प्रयोग थियो । त्यसैले ‘वाल-ई’ र ‘एभ’को सफलताले भविष्यमा अन्तरिक्ष अन्वेषणका लागि यस्ता लघु प्रविधिहरूको प्रयोग अझ व्यापक रुपमा गर्न सकिनेछ भनेर देखाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै