• २०८१ बैशाख ८ शनिबार

शिक्षा नीतिमै समस्या: मुख्यमन्त्री भट्ट

kharibot

लम्की । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिक्षा नीतिमै समस्या रहेको बताएका छन् । कैलालीको टीकापुरस्थित कर्णाली माविको ३०औँ वार्षिकोत्सवमा उनले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रयासरत रहेको बताए । 

“गरीब जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको गुणस्तर बढाउन हामी प्रयास गरिरहेका छौँ । अझ त्यसमा पनि प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालय पहिलो प्राथकितामा रहन्छन्”, मुख्यमन्त्री भट्टले भने । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रुपा चौधरीले प्राविधिक जस्ता विषयमा गरीब जनताका छोराछोरीले सहज रुपमा पढ्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले कर्णाली माविले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले भने, “नगरपालिकाले शिक्षा नियमावली निर्माण गरिरहेको छ ।” 

विद्यालयका अध्यक्ष खडक शाहले विद्यालयमा पूर्वाधार र भवन अभाव भएका कारण प्राविधिक शिक्षा सोचेजस्तो गुणस्तरीय हुन नसकेकाले सहयोग गर्न मुख्यमन्त्रीसँग आग्रह गरे ।

कर्णाली माविमा प्राविधिक शिक्षातर्फ बालीविज्ञान र ओभरसियर अध्यापन गरिन्छ । अध्यक्ष शाहले प्राविधिक शिक्षा अध्ययन गर्न प्रयोगशालाका लागि चाहिने सामग्रीको अझै अभाव रहेको बताए । कर्णालीमा चालू आवदेखि बालीविज्ञान र दुई वर्ष अघिदेखि ओभरसियरको अध्यापन गरिँदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै