• २०८१ बैशाख ७ शुक्रबार

न्यायालय बाहिरका निर्मलाहरु !

kharibot

काठमाडौँ । एउटा कोपिला सुन्दर डालीमा फक्रने आशमा मन्द मन्द मुस्कुराउदै भविष्यको प्रतिक्षामा बसिरहदा अनायासै उसलाई कसैले चुडेर फालिदिएका छन् । 

एउटी अवोध बालिका निश्चल पवित्र भावना बोकेर हजारौ हजार सपनाहरु मनमा सजाएर आफ्नो गन्तव्यमा लम्किरहदा अचानक मानवरुपी पशु, यौन पिपासु दुष्ट राक्षसहरुको मुखमा परेर आफ्नो अस्मिता गुमाउछिन् । 

आफ्नो अस्मिताको रक्षा गर्नको लागि उनले गरेको अहमकारको सजाय यी मानवरुपी दानवहरुले आफ्नो स्वार्थ पुरा भएपछि यती नराम्रो हर्कत गरेको उनलाई तड्पाई तड्पाई प्राण लिएर फालिदिए । यो कस्तो सजाय हो ? हत्या भएको ८ महिना बित्न लाग्दा पनि हत्यारा पत्ता नलागेर न्याय नपाएको कन्चनपुरका एक अन्जान, निर्दोष बालिका निर्मला पन्त ।

उनका फक्रिरहेका रहरहरुलाई सुन्दर बगैचामा फुलाउने सपना सपनामै परिणत भयो। अनेकौ चाहना बोकेर गन्तव्यमा दौडिरहेकी उनको यात्रा दोबाटोमै टुंगियो। के दोष थियो र उनमा त्यस्तो उनको बाँच्न पाउने अधिकार सम्म पनि खोसियो ? 

यत्रो जघन्य अपराध गरेर पनि अपराधी हालसम्म पक्राउ परेको छैन् अर्थात् वास्तविक अपराधीको पहिचान भएको छैन । शान्ती सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मीहरु मुख दर्शक बनेझै देखिएका छन् । कहाँ लुकेका छन अपराधीहरु ? के हेर्दैछन सरकार र सुरक्षाकर्मीहरु ? कहिले न्याय पाउँछिन निर्मलाले ? के यही हो नेपालको कानुन ? चुनावको बेला शान्ती सुव्यावस्था कायम गर्छौ। हाम्रो राष्ट्रलाई सुन्दर शान्त र समृद्ध बनाउँछौ भनेर बकम्फुसे भाषण छाडने नेताहरु कहा मुख लुकाएर बसेका छन् ?

हत्या भएको ८ महिना बित्न लाग्दा पनि अपराधी पत्ता लगाई कानुनको कठघरामा उभ्याउन नसक्ने देश र जनताको ठेक्का लिएका ठेकेदारहरुलाई कुन अर्थमा लिने ? 

निर्मलाको मृत्यु पश्चात बलात्कार विरुद्ध अनेकौ आवाज उठेपनि दिनानुदिन बलात्कारका घटनाहरु घटिरहेका छन्। यिनै अनेक घटनाहरु र हजारौं निर्मलाहरुको प्रतिनिधि पात्र बनेकी छिन् निर्मला पन्त । मृत्यु पश्चात चर्चामा रहेकी निर्मला पन्त जस्तै पिडित तर चर्चामा नआएका अनेकौ निर्मलाहरुलाई आफ्नो रहरलाग्दो जिवनदिर्घ गुमाउन बाध्य पारिएको छ। यहाँ सधै नारीको शरीरसँग खेलिन्छ। 

नारीको भावनामाथि खेलवाड गरिन्छ। यहाँ नारीलाई स्वतन्त्रसँग हिड्न र बाँच्न पनि दिइदैन। नारीहरु हरेक पल पलमा डर त्रास बोकेर, हरेक पाइला पाइलामा जोखिम मोलेर हिड्न बाध्य छन्। यसमा अलिकति समाजको पनि दोष छ, पुरुषले जसो गरेपनि, जे गरेपनि केही नहुने, ऊ सधै चोखो हुने भनेर समाजले पुरुषलाई बलवान बनाएर नारीको कोखबाट जन्मेर, नारीको हातबाट हुर्किएर, नारीको छत्रछायाँमा बसि दिन दाहाडै आफ्नै आमा, बहिनी चेली तथा छोरीलाई समेत बलात्कार गरेर हत्या गर्न सम्म पनि पछि परेनन् केही पुरुषरुपी दानवहरु । यो घटना लिगं विशेषको नभई केही व्यक्ति र प्रवृत्तिको हो । 

कहिलेकाही समाचारको हेड लाइनमा यस्तो आउँछ, आफ्नै बाबुबाट चार वर्षिय बालिकाको बलात्कार पछि हत्या, आफ्नै दाजुबाट बहिनी बलात्कृत अनि मेरो भगवान समान पिताको मुखमा हेरेर झस्किन्छु । छि...। अनि मलाई घृणा जागेर आउँछ केही व्यक्तिसँग । यसमा मैले हरेक महान, सज्जन पुरुषहरुलाई मुछ्न खोजेको होइन कि, केही यस्ता मानव भएर पनि पशुको भन्दापनि तुच्छ व्यवहार देखाउने मानवरुपी पशु र यौन पिपासु दुष्ट पापीहरुले म जस्ता हरेक नारीहरुको मानसयटलमा नकारात्मक छाप पारेका छन्। अर्को तर्फ समाजले नारीलाई यतीसम्म कमजोर तुल्याउँछ की पुरुषका हरेक गल्तिहरुको सजाय चुपचाप सहन बाध्य बनाउँछ।

हाम्रो जस्तो पितृसतात्मक राष्ट्रमा पुरुषले जे गरेपनि हुने तर महिलाले आफ्नो अस्मिताको रक्षा सँधै गरिनै रहनुपर्ने भन्ने कुराले पनि हजारौ नारीहरु आफ्नै आफन्तहरुबाट पटकपटक बलात्कृत हुँदा हुँदै पनि आफ्नो इज्जतमा दाग लाग्ने डरले पिडा सहेरै बस्न बाध्य बनेका हुन्छन् भने कतिले त पिडा सहन नसकी आत्महत्या गरी ज्यान गुमाएको पनि सुनिन्छ।

यस्ता घटनाहरुलाइ कम गर्नको लागि सम्पूर्ण शिक्षित वर्गहरुले अशिक्षित जनताहरुलाई जनचेतना जगाउने कार्य गर्नुपर्दछ। सरोकारवाला व्यक्तिहरुले यसलाई चासोको विषय बनाएर कसरी न्युनीकरण गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्दछ। यसमा हाम्रो राष्ट्रको कमजोर पक्ष भनेको फितलो कानुनी व्यवस्था हो। 

बलात्कार जस्तो जघन्य अपराधलाई सामान्य रुपमा लिने र अपराधीलाई दुई चार वर्ष जेल हालेर छाड्ने प्रबृद्धिले यस्ता घटनाहरु कम हुनुको सट्टा बढ्दै जान्छन् । र हाम्रा निर्दोष चेलिहरुले बिनाकारण बलात्कृत हुनु तथा मारिनु परिनै रहन्छ ।  

त्यसकारण यसको अन्त्य गर्नको लागि बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउनुपर्छ ।

मानव अधिकारको नाममा बालिका बलात्कार, हत्या, अपहरण आदि कुकार्य गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी शारीरिक, मानसिक सजाय र आजिवन जेल सजाय हुनुपर्छ ।

जस्तोसुकै अपराध गर्ने व्यक्तिलाई जेलमा राखेर घरज्वाइँ पाले जस्तो बिहान बेलुका दालभात खुवाएर राख्दा उनीहरुमा झन आपराधिक मानसिकता बढ्ने भएकोले अपराधको प्रकृति हेरेर तत्काल कडा दण्ड सजायको व्यवस्था हुनु जरुरी छ। यस्तो गरेमात्रै बलात्कार तथा हत्याका घटनाहरु कम हुन्छन्। यसमा कानुन बनाउने कानुन विद्हरुको ध्यान जानुपर्छ। ता की भोलीको दिनमा सोही अपराधीले अर्को निर्मलाको बलात्कार गरेर हत्या नगरोस् ।

(हाल मध्यपुर थिमि, बोडे)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै