• २०८१ बैशाख ७ शुक्रबार

“विन्टर लेक्चर सिरिज इन नाचुरल साइन्स” उत्सहाजनक रुपमा सञ्चालन हुँदै

kharibot

काठमाडौँ । तीन दिने “विन्टर लेक्चर सिरिज इन नाचुरल साइन्स” भौतिकशास्त्र केन्द्रिय विभाग, त्रिविको सभाकक्षमा भव्यताका साथ सञ्चालन भइरहेको छ । ६० भन्दा बढिको सहभागिता रहेको यस कार्यक्रममा ८ वटा प्रवचन र एक अन्तरक्रिया कार्यक्रम हुँदैछ ।

यस कार्यक्रमको उद्घाटन माघ २७, आइतबार भएको थियो । भौतिकशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. बिनिल अर्याल सभापति रहेको कार्यक्रमको प्रमुख अतिथि प्रा. डा. निलम श्रेष्ठ रहेकी थिइन् । 

भौतिकशास्त्र केन्द्रिय विभाग र रसायनशास्त्र केन्द्रिय विभागको सह-आयोजनामा सञ्चालित यस कार्यक्रमको उद्घाटन समारोहमा रसायनशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. रामचन्द्र बस्नेत, त्रिवि केन्द्रिय क्याम्पस प्राध्यापक संघका अध्यक्ष प्रा. डा. मोतिलाल शर्मा, नेपाल भौतिक विज्ञान समाजका अध्यक्ष प्रा. डा. प्रदिप कुमार भट्टराई, प्रा. डा. राजु खनाल, प्रा. डा. निरञ्जन पराजुली, सह-प्राध्यापक उद्धव राज खनाल लगायतको सहभागिता थियो।

यस कार्यक्रममा उपस्थित अतिथिहरुले विज्ञानमा दर्शनको महत्वको बारेमा चर्चा गरेका थिए । विज्ञानको शिक्षालाई दर्शनसँग जोड्न किन आवश्यक छ भन्ने विषयमा अतिथिहरुले जोड दिए । कार्यक्रममा प्रा. डा. बिनिल अर्यालले दुइ विभागका विद्यार्थीहरुले यस कार्यक्रमको आयोजनाका लागि गरेको मिहेनत र उत्साहको प्रशंसा पनि गरेका थिए ।

आठ वक्ताबाट प्रवचन हुने यस कार्यक्रमको पहिलो र अन्तिम दिन दर्शनमा केन्द्रित हुनेछ भने दोस्रो दिनमा विज्ञान लेखन सीप सम्बन्धि लेक्चरहरु हुनेछ । पहिलो दिन विज्ञान के र किन ? मा अन्नपुर्ण न्युरो अस्पतालका प्रमुख डा. वसन्त पन्त र पूर्वीय विज्ञान र दर्शनमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका सह-प्राध्यापक डा. सम्मोद आचार्यले प्रस्तुती दिएका थिए । 

कार्यक्रममा विभिन्न विषयका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ। विज्ञान लेखन सीपसम्बन्धि लेक्चरहरु भएको दोस्रो दिन प्रा.डा. नारायण अधिकारी, प्रा.डा. निरञ्जन पराजुली, प्रा. डा. मेघराज पोख्रेल, डा. दिपक खड्काले विभिन्न शीर्षकमा प्रवचन दिएका थिए ।

दोस्रो दिनको अन्तमा “टेक्निक एन्ड फिलोसोफि इन फिजिकल साइन्स” विषयक अन्तरक्रिया भएको थियो। सहभागीहरु सँग भौतिकशास्त्र केन्द्रिय विभागका प्रा.डा. निरञ्जन पराजुली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव सुरेन्द्र सुवेदी र विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा.दिपक खड्काले अन्तरक्रिया गरेका थिए । 

यस अन्तरक्रियामा अनुसन्धानको लागि बजेटको आवश्यकता, विज्ञान निति, अनुसन्धानलाई उद्योगसँग जोड्नुको आवश्यकता आदिमा छलफल भयो । यस अन्तरक्रियाका संयोजक प्रा.डा. राजु खनालले विज्ञान नितिको मस्यौदामा सल्लाह दिन सबैलाई आग्रह गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै