• २०८१ बैशाख ११ मंगलबार

बैतडीका मुक्त हलियाद्वारा पुनःस्थापनाको माग

kharibot

बैतडी । बैतडीका मुक्त हलियाले आफूहरुको नाम तथ्याङ्कमा समेटी तुरुन्त पुनःस्थापना गर्न माग गरेका छन् ।

जिल्ला सदरमुकाममा सोमबार तथ्याङ्कमा छुटेका मुक्त हलियाको अवस्थाका बारेमा गरिएको सामूहिक छलफलमा सहभागी मुक्तहलियाले सरकारले आफूहरुलाई ठगेको बताएका छन् । सरकारले मुक्त गरेपछि पनि आफूहरुको जीविकोपार्जनमा समस्या आएको उनीहरुको भनाइ थियो । मुक्त गरेर आफूहरुलाई अलपत्र छोडेको मुक्त हलियाहरुले बताएका छन् ।

बैतडीमा करीब पाँच हजार मुक्तहलिया भए पनि दुई हजार २२ जना मात्रै तथ्याङ्कमा समेटिएको जिल्ला हलियामुक्ति समाजका अध्यक्ष रमेश कोलीले जानकारी दिए । अहिलेसम्म एक हजार ५५८ जनाले मात्रै मुक्तहलिया परिचयपत्र पाएका छन् ।

उनीहरुमध्ये एक हजार दुई सय तीनजनाको पुनःस्थापना भइसकेको छ । छुट भएका मुक्तहलियाले आफूहरुको अवस्थाका बारेमा अध्ययन गरेर चाँडो भन्दा चाँडो पुनःस्थापन गर्न दबाब दिएका छन् ।

भूमि अधिकारमञ्च, जिल्ला हलियामुक्ति समाज, हलिया महासङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, राष्ट्रिय दलित नेटवर्क, दलित महिला सङ्घ (फेडो) लगायतका संस्थाले आयोजना गरेको सामूहिक छलफलमा मुक्तहलिया पुनःस्थापना केन्द्रीय समितिका सदस्य राजुराम भुल र सरस्वती नेपालीको पनि सहभागिता रहेको थियो ।

यस्तै सामूहिक छलफलमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टलेमुक्त हलियाको समस्या समाधानका लागि सबैले गम्भीर हुनुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै