• २०८१ बैशाख ७ शुक्रबार

प्रहरी दलालका लागि होइन, राष्ट्रको सेवाका लागि हो : प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बताएका छन् ।

प्रहरी निरीक्षक आधारभूत तालीमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “धेरै वर्ष अगाडिदेखि यो ठाउँ साँघुरो भयो भन्ने वास्तविक आभास थियो, यहाँबाट पनौती लाने भनेर जमीन खरीद गरिएको र दशौँ वर्षअघि भारतले समेत एकेडेमी बनाउने भनेको थियो, अहिले यसमा कतिपय हल्ला गर्न रुचाउने सेलेब्रेटी स्वभावले अनुचित खालका टिप्पणी गरे ।”

“कतिपयले सम्माननीय राष्ट्रपतिज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो गरेर प्रचार गरी असभ्यता देखाए, पूर्वप्रहरी अधिकृतले आफ्नो समयमा त्यही कुरा गर्ने अनि अहिले आएर विरुद्धमा वक्तव्यबाजी र टिप्पणी गरेको पनि सुनियो, जनताको पक्षमा काम गर्न सरकार दृढ छ”, प्रधानमन्त्रीले थपे । प्रहरी स्रोतका अनुसार प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा स्थानान्तरण गर्न दुई तीन चरणमा गरी ८२२ रोपनी जग्गा लिइसकिएको छ ।

अर्को प्रसङ्गमा उनले विभिन्न बहानामा अपराधको राजनीतिकीकरण भएको उल्लेख गर्दै बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउने प्रयास गर्ने र आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल बनाउनेहरु उम्किन नसक्ने चेतावनी दिए ।

देशको समृद्धि र सुशासनका लागि प्रहरीको समेत महत्वपूर्ण भूमिका हुने बताउँदै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गरे । सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न उनले सुझाव दिए । प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्यपरायण देखाएर सेवा गर्नका लागि हो भन्दै उनले बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु नपर्ने बताए ।

“प्रहरी सङ्गठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु, कार्यसम्पादनका मूल्याङ्कन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस्, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन ।”

अराजक बन्न पाइँदैन : गृहमन्त्री

समारोहमा गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने गहन जिम्मेवारी प्रहरीमा छ भन्दै पेशागत निष्ठा र सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए ।

उनले नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको र ९० प्रतिशत बढी प्रतिवादीलाई कानूनी कठघरामा उभ्याइनु सङ्गठनको व्यावसायिकताकै सूचक भएको उल्लेख गरे । गृहमन्त्री थापाले व्यक्तिगत त्रुटि र लापर्वाहीले सङ्गठनप्रतिको नागरिकको भरोसा घट्ने बताउँदै त्यसमा सतर्कता अपनाउन निर्देशन दिए ।

हिलो पानीमा माछा मार्ने प्रवृत्ति अझै जारी रहेको र राष्ट्र र संविधान विरोधी गतिविधि प्रदर्शन भइरहेको छ भन्दै उनले देशलाई विखण्डनतर्फ लैजाने समूहका गतिविधिमा चनाखो बन्न प्रहरीलाई आग्रह गरे । गलत मनसायले निर्दोषलाई अपराधी घोषित गर्ने प्रवृत्तिबाट पनि सबै सचेत हुनुपर्नेमा उनको जोड थियो ।

“असमर्थन गर्न पाइन्छ तर अराजक बन्न पाइँदैन, सबै सम्भावना र शक्ति विरोधमा मात्रै खर्च गर्ने हो भने समृद्ध र समुन्नत नेपाल बनाउने कसरी, यो सोचनीय विषय होइन र ?”, गृहमन्त्री थापाले भने । उनले नेपाल प्रहरी सुधारको बाटामा अगाडि बढेको बताउँदै सुरक्षा सरकारको प्राथमिकता र दिगो विकासका लागि अनिवार्य शर्त भएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित प्रहरी कर्मचारीलाई सिकेका सीपलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर प्रयोग गर्न आग्रह गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले ६२ वर्षअघि स्थापना भएको प्रतिष्ठानको आजै ६३ औँ वार्षिकोत्सवसमेत परेको जानकारी दिँदै यस पटक १९ महीनाको तालीम पार गरी १२ महिलासहित ९५ प्रहरी निरीक्षक दीक्षित भएको बताए । त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले सिकेका ज्ञान सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणका क्रममा अध्ययनमा सर्वप्रथम हुन सफल कमल क्षेत्री, द्वितीय कुशराम कार्की र तृतीय विष्णुबहादुर बस्नेत, कवाजमा प्रथम सुशील थापा, शारीरिक व्यायाममा प्रथम राकेश रेग्मी, प्रहरी युक्ति तथा कारवाहीमा प्रथम प्रदीप सुवेदी र चाँदमारीमा प्रथम शेखरकुमार शाहलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा पूर्वसमादेशक चिन्तबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै