प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन प्रस्ताव पारित

खरीबोट

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी प्रस्ताव पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम २०२ (३) बमोजिम प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको सो संशोधन प्रस्तावको समर्थनमा प्रदेशसभा सदस्य शिवनारायण गुरागार्इं रहेका छन् ।

‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक–२०७५’ सदनमा विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (१) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गरेका थिए ।

मन्त्री कार्कीले शून्य समयमा प्रदेशसभाका सदस्यले उठाएका विषयमा जवाफ दिँदै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न भ्याएसम्मको जनशक्ति परिचालन गरिसकेको जानकारी दिए ।    

उनले टिपर सञ्चालनलाई व्यवस्थित गरी नियमन गर्ने बताउँदै आक्रोश र भिडन्तले समस्या समाधान नहुने र यसका लागि वार्ता नै उपयुक्त रहेको बताए । प्रदेश नं १ मा रहेका करिव १०० नदी तथा खहरे खोलालाई नियन्त्रण गर्न प्रदेश सरकार आवश्यक गृहकार्यमा जुटेको बताउँदै मन्त्री कार्कीले मापदण्ड विपरीत नदी उत्खन्न कार्यलाई पूर्ण रुपमा रोक लगाउने कुरामा जोड दिए ।

प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ ।


z