• २०८१ बैशाख ४ मंगलबार

नेपालका तीन लाख व्यक्ति अटिजमका शिकार

kharibot

धनुषा । नेपालमा करीब तीन लाख अटिजम (बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता) भएका व्यक्ति भएको अनुमान गरिएको छ ।

अटिजम केयर नेपाल सोसाइटी नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित अटिजम विषयक जनचेतनामूलक पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

विश्वको पछिल्लो तथ्याङ्कअनुसार हरेक ५९ जन्मेको बालबालिकामध्ये एकलाई अटिजम भएका व्यक्ति भएको अनुमान पनि गरिएको छ । चिकित्सकका अनुसार अटिजम मस्तिष्क विकासको विकार हो, जसले मस्तिष्कको सामान्य कार्यलाई प्रभावित पार्दछ । प्रायजसो जन्मेको तीन वर्षभित्र प्रष्टरूपमा देखिने अटिजम जीवनभर रहिरहन्छ ।

अटिजम भएका व्यक्तिले साधारण सञ्चार र सामाजिक कठिनाइदेखि लिएर जीवनयापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ । एक्लै बस्ने बानी, वस्तुप्रति अमिल्दो लगाव, आँखामा आँखा नजुधाउने, शब्द र वाक्यांश दोहोर्याउने, अधिक चकचके अथवा अति निष्क्रिय हुने, हरेक दिन एउटै जस्तै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने, बिना कारण रुने, कराउने र चिन्तित हुने, घाउ, चोट तथा दुखाइप्रति वास्ता नगर्ने, कुनै पनि चिज÷वस्तु घुमाइ रहने, असान्दर्भिक तरिकाले हाँस्ने, आफूलाई चाहिएका सामान औँलाले नदेखाउने, बोलाउँदा नबोल्ने, नसुनेजस्तो गर्नेलाई अटिजमको लक्षण मानिएको छ ।

सो अवसरमा डा सुनिता अमात्यले यसको पहिचान सानो उमेरमा नै गर्नसकेमा केही हदसम्म आत्मनिर्भर बनाउन सक्ने सम्भावना हुन्छ बताए ।

उनले छोरामा अधिक देखिएको अटिजमको प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्षलाई सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नुका साथै विशेष सहयोग, प्रशिक्षण र उपचार शीघ्र गर्न सकेमा उनीहरूले अर्थपूर्ण र उपयोगी जीवन जीउन सक्छन् भने ।

डा अर्चना कायस्थले अटिजमका लागि औषधोपचार नभएता पनि अकुपेशनल थेरापी, सञ्चार, व्यावहारिक सीप र सामाजिक थेरापी तथा विशेष र समाहित शिक्षाले आशा लाग्दो सुधार गर्न सक्ने धारणा राखे ।

उनले धेरैजसोले यसको मुख्य कारण वंशाणुगत नै आधार माने पनि अझसम्म मुख्य कारण पत्ता लाग्न नसकेको पनि जानकारी दिए । सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालयको व्यवस्था, तालीम केन्द्रको स्थापना र अनुसन्धान गर्ने सोसाइटीको भविष्यको योजना भएको बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै