• २०८१ बैशाख ६ बिहीबार

निगमले जहाज पूर्ण क्षमतामा उडाउने

kharibot

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक (पाइलट) को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो । 

पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए । निगमका जहाज साच्चिकै ग्राउण्डेड भएका हुन त ? भन्ने रासससँगको जिज्ञासामा निगमका सहायक प्रवक्ता नवराज कोइरालाले केही जहाज पाइलट अभाव तथा मर्मतका सिलसिलामा भएका जहाजबाट पनि छिट्टै उडान गर्ने तयारीमा रहेको जानकारी दिए । 

“वाई–१२ जहाजमध्ये केही एक साताभित्र उडाउँछौँ, बाँकी जहाजको पनि पाइलटको व्यवस्था गरी छिट्टै पूर्ण रुपमा सञ्चालन गर्ने योजनामा छौँ”,उनले भने । सहायक प्रवक्ता कोइरालाकाअनुसार निगमका तीन पाइलटमध्ये दुई जनाले बिरामी बिदा लिएको र एक पाइलट प्रोफिसियन्सी चेक (पिपिसी) का लागि बुधबार चीन जानेछ । फर्केपछि आगामी १५ तारिखदेखि वाइ १२ को उडान शुरु गरिनेछ । 

पाइलट अभावले वाई १२ चार वटा जहाज उड्न नसकेको निगमको भनाइ छ । अहिले तीन वटा ट्वीन अटर जहाजले मात्र आन्तरिक उडान गरिरहेको छ । दुई एमए–६० जहाजमध्ये एक मर्मतमा रहेको र अर्को ‘टु यर्ली’ चेकको क्रममा रहेकोले यो जहाजले पनि छिट्टै उडान भर्ने निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई एमए ६०, चार वाई–१२, र तीन ट्वीन अटर गरी नौ जहाजले विभिन्न २२ गन्तव्यमा उडान भर्दै आएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै