• २०८१ बैशाख ७ शुक्रबार

स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण

kharibot

काठमाडौँ । सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ । 

देशभर हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् । समाजमा छरिएर रहेको स–साना रकमलाई एकीकृत तथा बचत गर्न लगाई पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्यमा सहकारी क्षेत्रले योगदान गरेको छ । सहकारी क्षेत्रको विकासका लागि मन्त्रालयले विभिन्न तालीम, प्रशिक्षण तथा सूचना उपलब्ध गराउँदै आएको छ । 

सहकारी संस्था सञ्चालन, नियमन एवं प्रवद्र्धनका लागि नमूना कानून, दिग्दर्शन निर्माण गरिएको स्थानीय तह र प्रादेशिक सरकारलाई अभिमुखीकरण एवं क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको सचिव गोपिनाथ मैनालीले जानकारी दिए । 

मुलुकको विकास र समृद्धिका लागि सरकारी, निजी र सहकारी क्षेत्र गरी तीन खम्बे अर्थनीतिलाई आधार बनाउन खोजिएको छ । हिमाल, पहाड, तराईका विकट भू–भाग, ग्रामीण तथा सहरी क्षेत्रमा उत्पादनकर्ता कृषक तथा उपभोक्तालाई लक्षित गरी धेरै सहकारी स्थापना भएको पाइन्छ । 

विसं २०१३ देखि सहकारी क्षेत्रले आर्थिक विकासका लागि कार्य गर्दै आएको छ । यस क्षेत्रले उन्नतजातका स्तरीय बिउबिजन, रासयनिक मलखाद, किटनासक औषधीहरू, कृषि औजारहरू सहुलियतपूर्ण ब्याजदरमा अनुदान स्थानीय तहमा उपलब्ध गराइने छ । सहकारी क्षेत्रको माध्यमबाट देशभर निस्कृय पूँजीलाई बचत गरी वित्तीय पहुँच नपुगेकालाई विभिन्न वस्तु उत्पादनमा सहयोग तथा सेवा प्रदान भइरहेको मन्त्रालयले जनाएको छ । 

सहकारी बजार विस्तारमार्फत गरिबी निवारण कार्यक्रमसमेत मन्त्रालयले सञ्चालन गरेको छ । सरकारले राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) सँगको सहकार्यमा सहकारी बजार विकास कार्यक्रम (सीएमडिपी) सञ्चालनमा ल्याएको छ । 

यसबाट काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका छ जिल्लाका १८ गाउँ पालिकाका ७२ उत्पादन क्षेत्रलाई सहकारीमार्फत आबद्ध गरेको छ । त्यसबाट १४ हजार ४०० कृषक परिवारलाई काठमाडौँको बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापना गरिएको छ । जसबाट आगामी दिनमा उपभोक्ता र उत्पादक दुवै पक्ष प्रत्यक्ष लाभान्वित हुनेछन् । 

यस क्षेत्रले देशभर रु दुई खरब भन्दा बढी निक्षेप सङ्कलन गरेको छ । समूहको वित्तीय सुरक्षा दिने तथा उनीहरुलाई लगानीको वातावरणको प्रबन्ध गर्ने उद्देश्यले सहकारी दर्ता हुने गरेको पाइन्छ । विश्वमा सहकारीको अवधारणा सन् १८४४ मा बेलायतबाट शुरु भएको इतिहास छ । सन् १८९५ सम्ममा सहकारीको यो अवधारणा विश्वका १४ मुलुकमा विस्तार भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै