क्रिकेट स्टेडियमका लागि आर्थिक सङ्कलन गर्न धुर्मुस सुन्तली मलेसियामा

खरीबोट

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ ।

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी रु ३५ लाख सङ्कलन गरेका छन् ।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत मलेसियाको तीनवटा शहर क्वालालामपुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत रु ३५ लाखभन्दा बढी रकम सङ्कलन भएको जानकारी दिए ।

रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन अहिले उनीहरु मलेसियामा छन् । कट्टेलका अनुसार नेपाली समुदायबाट रु २० लाख ७१ हजार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट रु १५ लाख गरी रु ३५ लाख ७१ हजार सङ्कलन भएको हो ।

अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो ।

मलेसियापछि अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताउँदै कट्टेलले रङ्गशाला निर्माणका लागि आवश्यक रु दुई अर्ब रकम फाउण्डेशन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रह गरेका छन् । “रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ । मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइबाट हामीले सोँचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छाँै ।”

फाउण्डेशनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रामपुर विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गामा निर्माण प्रक्रिया शुरु गरेको हो । हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ भने महीनाभित्र डिपिआर तयार गरी त्यसपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष राखिएको छ ।

तीन महीनाअघि धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुर महानगरलाई रङ्गशाला बनाउनका लागि प्रस्तावपत्र पेश गरेको थियो । यसबीचमा फाउण्डेशनका तर्फबाट दक्ष प्राविधिकको टोली, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललगायतले सो स्थानको अवलोकन गरी उपयुक्त रहेको ठहर गरेका थिए ।

दुई साताअघि काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गरी रङ्गशाला निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चितवनको भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनले यसअघि ललितपुरको गोदावरीमा रङ्गशाला बनाउने प्रक्रिया शुरु गरेको थियो तर, प्राविधिकको समूहले त्यस ठाउँ उपयुक्त नभएको बताएपछि उनीहरु चितवनमा लागेका थिए । भरतपुर महानगर आफैँले पनि धुर्मुस–सुन्तली फाउण्डेशनलाई क्रिकेट रङ्गशाला बनाउने भए जग्गा उपलब्ध गराउने बताएको थियो ।

अध्यक्ष कट्टेलले एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटका लागि आवश्यक रङ्गशाला छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । “धेरै ठूलो परियोजना हो, हामीले आफैँले बनाउने आँट गरेका छौँ तर सरकार वा महानगरबाट सहकार्यका लागि प्रस्ताव भएमा हामी सहकार्य गर्नेछौँ”, कट्टेलले भने ।

सम्बन्धित समाचार

निर्माणाधीन रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेकपाको कारवाही 

चितवन । भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिस्ट पार्टीले कारबाही गरेको छ । नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले विज्ञप्ति प्रकाशित

रंगशाला निर्माणकार्य स्थगित, बार भत्काउने १६ जना पक्राउ 

चितवन । चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कार्य केहि समयको लागि स्थगित भएको छ । बुधबार पश्चिमतर्फको तारबार अराजकीय तरिकाबाट स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि केहि समयको

रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली साँझ दुबईबाट २२ लाख संकलन

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ

क्रिकेट स्टेडियमका लागि आर्थिक सङ्कलन गर्न धुर्मुस सुन्तली मलेसियामा

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल


z