रोहिंग्याहरुलाई नेपालमा भित्र्याउने डिजायन अनुसार समाचार प्रवाह भएको छ : बसन्त महर्जन, बौद्ध धर्म विज्ञ

खरीबोट
ad

विक्रम सम्वत ५० को दशकमा संचार कर्ममा रमाएका वसन्त मर्हजन मुलतः पत्रकार हुन । तर आजकल पत्रकारिता उनको सौखिन लेखन कर्ममा मात्रै सीमित भएको छ । आजकाल मर्हजनको मुख्य कर्म हो वौद्धिक खोज, अनुसन्धान । धर्म र ईतिहासको उतखन्नमा उनी संसारै भुलेर पनि लिप्त भैदिन्छन ।

वौद्ध धर्मको गहिराई, उचाई र ईतिहास तथा वर्तमानका बहुपक्षिय आयामहरुबारे अनुसन्धानकत्र्ता मर्हजनका एक दर्जन बढी खोजमुलक पुस्तकहरु प्रकाशित भैसकेका छन । प्राज्ञिक, वैज्ञानिक र तथ्यमा आधारित भएर वौद्ध दर्शनकाबारेमा पुस्तक लेखेका कारण मात्रै होईन निरन्तर खोजमा तल्लिन भएका कारण उनलाई वौद्ध धर्म र ज्ञानका विविध आयामका एक वौद्धिक ज्ञाता पनि मानिन्छ ।

पछिल्लो समयमा भगवान गौतम वुद्धको देश म्यान्मारमा रोहिंज्या शरणार्थीको लर्कोले विश्वको मानवतालाई गिज्जाईरहेका बेला के त्यो वुद्ध दर्शनको मर्म र भावना अनुसारको हर्कत भैरहेको हो त ? के हो राहिंज्या समस्याको वौद्ध धर्मसंगको कनेक्सन ? यी र यस्तै सैद्धान्तिक विषयमा आधारित भएर खरीबोट डट कमले खोजकर्ता मर्हजनसँग गरेको कुराकानीको सम्पादित अंश :

म्यानमारको पछिल्लो घटनाक्रम र नेपाली मिडियाको कभरेजका बारेमा तपाईको नजर र टिप्पणी अलि फरक आयो किन ?

म्यानमारमा रोहिंग्या समुदायसँग सम्बन्धित समाचारहरु नौला होइनन् । राखिन प्रान्तमा अतिवादी रोहिंग्याहरुबाट बौद्ध भिक्षुहरुमाथि भएका अत्याचारका समाचार तथा तस्वीरहरु पनि नौला होइनन् । दुई समुदाय बीचको यो मनमुटाब दुईचार वर्ष वा दुई चार दशकको पनि होइन । राज्यले अतिवादी रोहिंग्याहरुविरुद्ध कारवाही चलाउँदा सर्वसाधारण रोहिंग्या जनसमुदाय प्रभावित हुन पुगेका हुन् र सुरक्षाका लागि विस्थापित भए । ती विस्थापितहरु नेपालसम्म आइपुगेका छन् र शरणार्थीका रुपमा रहेका छन् । यस प्रकरणमा प्रकाशित तथा प्रशारित समाचारहरुमा म्यान्मारका बौद्ध जनसमुदालाई नकारात्मक र रोहिंग्याहरुलाई सकारात्मक रुपमा प्रस्तुत गर्ने काम भयो । रोहिंग्याहरु पीडित छन्, उनीहरुलाई दयामाया गरेर नेपाली भूमिमा शरण दिऔं भन्ने वातावरण तयार पार्ने हिसावले योजनावद्ध रुपमा यो भइरहेको छ । जुन नेपालको हितमा छैन । शरणार्थीका रुपमा राख्दैमा रोहिंग्याहरुको समास्या समाधान हुने पनि होइन । यस अवस्थामा नेपाली मिडियाका कभरेजप्रति असहती जनाउँदै टिप्पणी गरेको हुँ । 

म्यानमारको रैथाने बौद्ध समुदायको नकारात्मक छबी र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छबी बनाउन मिडियाको भुमिका रहेको भन्नु भएको छ । यसलाई अलि बिस्तारमा व्याख्या गरिदिनुहोस न । किन र कसरी यस्तो हुदैछ ?

म्यान्मारमा रोहिंग्याको प्रकरणलाई सामान्यीकरण गरेर समष्ट बौद्ध समुदायलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने काम भइरहेको छ । बौद्धहरु सहनशील हुनुपर्छ र अरुले जे जस्तो अत्याचार गरेपनि सहनुपर्छ, त्याग मात्रै गर्नुपर्छ, यही बौद्धहरुको पहिचान हो भन्ने गलत बुझाइ रहेको देखियो र यो गलत बुझाइअनुसार म्यान्मारका बौद्धहरु छैन भन्दै तिनका बारेमा नकारात्मक छबी प्रस्तुत गरेको पाइयो । यो गलत बुझाईलाई स्थापित गर्दै म्यान्मारमा मात्रै नभएर अन्यत्र पनि बौद्ध समुदायलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने खतरा देखिएको छ । म्यान्मारमा संगठित रुपमा नै बौद्ध समुदायमाथि अत्याचार हुँदै आएकोमा त्यसविरुद्ध राज्यले कारवाही चलाएको जरुर हो । त्यो सांगठित अत्याचार राज्यको अंगमाथि नै पनि लक्षित हुँदा कारवाहीको स्तर पनि बढाएको बुझिन्छ । यस अवस्थामा द्वन्द्व बढ्नु स्वाभाविक हो । यो म्यान्मारको आन्तरिक मामिला हो । 

तपाई एक वौद्ध ज्ञाताका रुपमा वास्तविकता के हो भन्ने देख्नुहुन्छ, ठान्नुहुन्छ ?

मेरो क्षेत्र बौद्ध धर्म–दर्शनको अध्ययन अध्यापनको अतिरिक्त इतिहास पनि हो । इतिहास अध्ययनमा बेलायती साम्राज्यवादले एसियामा राज गरेको अध्यायलाई हिजोआजको मात्रै घटनाको रुपमा लिइन्छ । भारतीय भूभागमा मात्रै नभएर म्यानमार पनि बेलायती उपनिवेशमा परेको थियो । यही बेला रोहिंग्याहरु बंगलादेशबाट म्यानमार पुगेका हुन् । पछि रोहिंग्याहरु सैन्य क्षेत्रमा पनि प्रयोग गरिए र त्यो प्रयोग नै समस्याको विषय बन्यो । एकै ठाउँमा रहँदा बस्दा मनमुटाब हुनु स्वाभाविक हो र दुई समुदायबीच द्वन्द्व चर्कियो ।
नेपाली संचार माध्यम सुनियोजित रुपमा सजिलै यसमा प्रयोेग भएको भन्ने तपाईको ठम्याईका आधार र कारणहरु पनि स्पष्ट पारिदिनुस न ।

नेपाली मिडियाको सबल पक्ष र दुर्बल पक्षसँग म राम्रैसँग परिचित छु किनभने लामो समयसम्म म यही क्षेत्रमा संलग्न रहें । अन्तरंग नै भएँ । नेपाली संचारकर्मीहरु साना साना कुरामा पनि चाँडै प्रभावित हुन्छन् । संचारकर्मीको काम समाचार प्रवाह गर्नु मात्रै हो भन्ने बुझाइ रहेको पाइन्छन्, जुन गलत बुझाइ हो । यस्तो बुझाइले संचारकर्मीलाई गैरजिम्मेवार बनाइदिन्छ । वास्तबमा संचारकर्मीको भूमिका वाचडग पनि हुनु हो । रोहिंग्याहरुलाई शरणार्थीको रुपमा नेपालमा भित्र्याउने ग्राण्ड डिजायन’ अनुसार समाचार प्रवाह भएको छ । यी समाचारहरु नेपाली संचारकर्मीका आफ्नै उत्पादन होइनन्, समाचार एजेन्सीबाट आएका हुन् । 

मिडिया कहाँ चुक्यो, के गर्नु पर्ने थियो नेपाली मिडियाले ?

मिडिया हुँदैमा उसले अभ्यास गर्ने राष्ट्रलाई भुल्नुपर्छ भन्ने छैन । प्रायः समाचारहरु मानवीय सम्वेदना झल्काउने खालका छन् तर ती एक पक्षीय भयो । यसअघिका घटना क्रमहरुमा नेपाली मिडिया आँखा चिम्लेर बस्यो र अहिले छेउटुप्पो नबुझी बडो सम्बेदनशील भएर हतारहतारमा समाचार प्रकाशन तथा प्रशारण गर्ने काम भयो । म्यान्मारमा यो समस्या निम्तिनुको अन्तर्य खोतल्ने काम भएन । रोहिंग्याहरु समस्यामा परेका छन्, जरुर हो । करुणाप्रद दृष्यचित्रहरु पनि आयो । स्थितिको चित्रण नै तिनीहरुलाई दयामाया गरी हाम्रो देशमा भित्र्याउँ र शरण दिउँ भन्ने खालको छ । तर, नेपाल आफै समस्याको भुमरीमा फरेको एउटा सानो मुलुक हो र शरणार्थीहरु थेग्न सक्ने अवस्थामा छैन । फेरि रोहिंग्याहरुको समस्याको समाधान शरणार्थी हुनुमा होइन, आफ्नै गाउँठाउँमा ससम्मान फर्कनु हो । नेपाली मिडिया यहीँ चुक्यो, कति आलाकाचा पाराले हामी काम गरिरहेका छौं भन्ने कुरा पनि छताछुल्ल भयो ।  

को हो नेपाली मिडियालाई दुरुपयोग गर्ने शक्ति स्रोत ? किन यस्तो गरिरहेको ठान्नुहुन्छ तपाई ?

नेपालमा रोहिंग्याहरुलाई शरणार्थीका रुपमा भित्र्याउने योजनाअनुसार यो भएको हो भन्ने लाग्छ । मानवअधिकारका सवालमा यो जायज पनि हो । उनीहरुका लागि खर्चबर्च नेपालले व्यहोर्नु पर्दैन पनि तर यसले के कस्ता समस्याहरु निम्त्याइदिन्छन् भन्ने कुरा भुटानी शरणार्थीका सन्दर्भमा हामीले बेहोरिसक्यौं । भुल्नु हुँदैन । फेरि अर्को कुरा, रोहिंग्याहरु इस्लाम धर्मावलम्बी र म्यान्मारका जनता बौद्ध हुन् । यसलाई बौद्ध–इस्लाम बीचको द्वन्द्वको रुपमा प्रस्तुत गर्ने र त्यसलाई सामान्यीकरण गरेर मुसलमानहरु पीडित र बौद्धहरु पीडक भनेर देखाउन खोजेको पनि देखियो । समग्र बौद्ध समुदायलाई खुइल्याउनकै लागि यो नाटक गरिरहेको र त्यसमा नेपाललाई पनि नजानिँदो पाराले सहभागी गराउन खोजेको हो भने त्यो त झन् खतरनाक भयो । यस्ता कुराहरुमा नेपाली मिडियाले ध्यानै दिएन । 

बौद्ध विरोधी र रोहिंग्या समर्थक नेपाली मिडियाको दुरुपयोग रोक्न अब के के गर्ने त ? कसको भुमिका के हुनु पर्यो अब ?

मुख्य कुरा नेपाली मिडिया सम्वेदनशील र विवेकशील हुनुप¥यो । यस सन्दर्भमा नेपाली मिडिया कसैको प्रभावमा पर्नु भएन । दीर्घकालिन असरका सन्दर्भमा सचेत हुनुपर्छ र नेपालमा रोहिंग्याहरुलाई शरणार्थी रुपमा नभएर आइसकेकाहरुलाई पनि फर्काउने वातावरण बनाइदिनु पर्दछ । 

नेपाललाई शरणार्थी भर्तीकेन्द्र बनाउने षडयन्त्र भन्ने तपाईको आशंकाका आधार र कारण पनि खुलाईदिनुहोस न ?

विगत केही वर्षअघिदेखि रोहिंग्याहरु शरणार्थीका रुपमा काठमाडौंमा नै बस्दै आएका छन् । यी शरणार्थीको संख्या बढ्दो छ । नेपालले लामो समयसम्म भुटानी शरणार्थीकौ समस्या भोगिसकेको अनुभव छ । भारतीय भूभाग भएर आएका भुटानी शरणार्थीहरु भुटान नै फर्कन भारतले भारतीय भूमिमा पस्न दिएन । अहिले रोहिंग्याहरु पनि भारतीय भूमि भएरै आएका हुन् । नेपाली संचार क्षेत्र तथा बौद्धिक वर्गले भुटानी शरणार्थी समस्या चाँडै नै भुलेको देखिन्छ र रोहिंग्या समस्या निम्त्याउन इच्छुक देखिन्छ । नेपालको आफ्नै समस्या कम छ र ? हामी शरणार्थी समस्याहरु थेगिरहन सक्छौं र ? 

रोहिंग्या समस्या म्यान्मारको आन्तरिक मामिला हो । त्यो मामिलालाई नेपालमा किन हुल्न दिने ? तर मिडियामा म्यान्मारबाट विस्थापित रोहिंग्याहरुको दुःख  दर्दले भरिपूर्ण दृष्यचित्रहरु तथा कथावस्तुको प्रकाशन तथा प्रशारण नेपाली मिडियामा बढ्दो छ । तिनीहरुले धेरै दुःख पाएका छन्, नेपालमा शरण दिउँ न भन्ने भावना जगाउने हिसावले मिडिया प्रयोग भएको देखियो । नेपालमा रोहिंग्याहरुलाई शरणार्थीका रुपमा राख्न चाहनेहरुले जे चाहेको हो त्यही कुरा नेपाली मिडियाले पस्कने काम गरिरहेको छ ।  

खासमा बौद्ध धर्म शान्तिको पर्याय हो । तर म्यानमारमा त्यो अपवाद भएको हो त ?

बौद्ध धर्म शान्तिको पर्याय भनेको के हो ? यस सम्बन्धमा चर्चा गर्न सकिन्छ । सामान्यतः युद्ध र झैंझगडा नहुनुलाई नै शान्ति भन्ने गरिन्छ तर बुद्ध वा बौद्ध धर्म दर्शनको उद्देश्य वा लक्ष्य त्यस प्रकारका ‘शान्ति’ होइन । बौद्ध धर्म–दर्शनमा यस्तो शान्ति त ‘बाइ प्रडक्ट’ हुन्छन्, स्वतः सिर्जना हुन्छन् । 

म्यान्मारकी नेतृ सुकि नोवल शान्ति पुरस्कार विजेता । तर किन यस्तो दुर्दशा भैरहेको होला ?

हामी म्यान्मार र नोबेल शान्ति पुरस्कार बिजेता आङ साङ सुकीलाई एउटै डालोमा राखेर हेर्छौं तर त्यहाँ उनका पनि आफ्नै समस्या छन् । म्यानमारमा रोहिंग्या समस्या आङ साङ सुकी सत्तामा आएपछि सिर्जना भएको नभई दशकौं दशकअघि देखिको हो । यसअघि त्यहाँ सैनिक सत्ता थियो । त्यो सैनिक सत्ताबाट स्वयं सुकी पनि प्रताडित थिइन् । कैयौं वर्षसम्म नजरबन्दमा बसेकी थिइन् । निर्वाचनमा भारी मतले सुकी र सुकीको पार्टीले विजय हासिल गरेर अहिले सत्तामा आएपनि सैनिक सत्ताको शक्ति बाँकी नै छ । सैनिक सत्ता रोहिंग्याहरुको गतिविधिलाई मन पराउँदैन । म्यानमारमा शक्ति सैनिकसँग र जनता आङ साङ सुकीसँग भएको अवस्था हो । भनौं, दुई शक्तिबीचको मिलोमतोमा आजको म्यान्मार चलिरहेको छ । म्यान्मारका अधिकांश जनता पनि रोहिंग्याको गतिविधि मन पराउँदैनन् । नोबेल शान्ति पुरस्कार बिजेताको नाताले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो साख जोगाउन रोहिंग्याप्रति लचिलो हुन खोजुन्जेल म्यानमारको राजनीतिक परिदृष्य फेरिन पनि सक्छ । यस्तो जोखिम मोल्नुले सुकीका लागि मात्रै नभएर एक प्रकारले रोहिंग्या समुदायकै लागि प्रत्युत्पाद हुनसक्छ । यस अवस्थामा रोहिंग्याका सन्दर्भमा शान्तिपूर्ण समाधानको खोजी गरिनुपर्छ जुन दीर्घकालसम्म कायम रहोस् ।  

एक वौद्ध ज्ञाताका रुपमा उत्पन्न यो संकटको समाधानका सूत्र के हुन सक्छ तपाइको विचारमा ?

बौद्ध धर्म दर्शनअनुसार कुनै पनि समस्या कुनै न कुनै प्रकारले समाधान हुन्छ नै । कुनै न कुनै उपायकौशलले समास्याको समाधान गर्नु पर्छ । यसका लागि सर्वप्रथमतः सबैले आआफ्नो अहंता छाड्नु पर्छ । एकले अरुको अस्तित्व स्वीकार्नु पर्छ । बौद्धहरुको आदर्श त मानव मानव बीच मात्रै नभएर सबै प्राणीप्रति नै मैत्री राखी सदैव करुणाको भावले हेर्नुपर्छ । साथै, अरुको खुशीमा खुशी हुने मुदिताको भाव पनि राख्दै अरुले नियतवश नै हानी नोक्सानी गरेपनि त्यसलाई उपेक्षा गर्नसक्नु पर्छ । चतुब्रम्हविहारका नामले चिनिने यी मैत्री, करुणा, मुदिता र उपेक्षा भावहरु बौद्धजनका गहना हुन् तसर्थ समस्या समाधानमा बौद्धहरु नै अगाडि बढ्न त सक्छन् तर एक हातले ताली बज्दैन भन्ने कुरा पनि बुझ्नु पर्दछ । यस्तै गरी, बौद्ध हुनु भनेको बुद्धको उपदेशको अनुयायी हुनु हो, स्वयं बुद्ध हुनु होइन । बुद्धका सबै गुण बौद्ध जनसमुदायमा खोज्नु मिल्दैन अर्थात् बुद्ध र बौद्ध दुई भिन्नै विषय हुन् । बौद्धहरुमा पनि कमीकमजोरीहरु हुन्छन् ।   
 

सम्बन्धित समाचार

साइकल चढेर नेपालको फन्को मार्दै ओम प्रकाश 

काठमाडौं । हरेक मान्छेका आफ्नै इच्छा हुन्छ । त्यही इच्छा पूरा गर्न मानिसले के गर्दैन ? जे पनि गर्न तयार हुन्छ। धेरैले पैसा कमाउँँदा सुख र सन्तुष्टि मिल्ने ठान्छन् तर जीवनमा

नेपालमा अल्जाइमर रोगीको तथ्यांक नै छैन  : डा. बराल

आफ्नो नामै बिर्सिने, उमेर बिर्सिने, आफ्नै परिवारको सदस्यलाई बिर्सिने, भर्खरै खाएको बसेको कुरा पनि बिर्सिने, बानी भएपछि के होला ? यस्तो अवस्थाले सबैलाई असजिलो बनाउँछ नै । हो यही अवस्थालाई

असल दाम्पत्य जीवनयापनमा तीजले राम्रो प्रभाव छोड्छ :  प्राडा कौण्डिन्न्यायन 

वि.सं. २०२४ सालमा तनहुँको चुँदी रम्घामा जन्मिएका हुन् आमोदवर्धन कौण्डिन्न्यायन (आचार्य) । उनले पूर्वमध्यमा तह भारतको बनारसबाट, उत्तरमध्यमा त्रिभुवन विश्वविद्यालयबाट, शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) राजधानीको वाल्मीकि क्याम्पसबाट विशिष्ट श्रेणीमा

‘पैसा तिर्नै नसक्ने बिरामीलाई वीर अस्पतालको इमर्जेन्सीमा ५० प्रतिशत छुट’ 

नेपालकै जेठो वीर अस्पतालले जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसियनअन्तर्गत इमर्जन्सी सेवा, ज्येष्ठ नागरिक क्लिनिक, जनरल हेल्थ चेक, एआरटी सेवालगायतका सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको  इमर्जेन्सी विभागमा कार्यरत चिफ