• २०८१ बैशाख ७ शुक्रबार

नेविसंघको तदर्थ समिति बनाइँदै

kharibot

काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी संघको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो ।

गत माघ २ गते कार्यकाल समाप्त भएसँगै संघको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । संघका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिएका थिए र सोही दिन उनको राजीनामा स्वीकृत भएको थियो । 

बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पार्टीको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित परिमार्जन गरी पेश गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको महासमिति बैठक गत मङ्सिर २८ पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । साथै भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सङ्घ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ । 

बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै