• २०८१ बैशाख १२ बुधबार

दुर्घटना न्यूनीकरण गर्न खोटाङका घुम्तीमा सडक ऐना

kharibot

खोटाङ । सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा ‘स्ट्याण्ड’सहितको ठूलो सडक ऐना राखिएको हो ।

दैनिक हलेसी आवतजावत गर्ने अन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थी सवार सवारीसाधनको बाक्लो ओहोरदोहोर हुने सडकमा हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले नगरपालिकासँगको सहकार्यमा सडकका जोखिमपूर्ण मोड छानेर ऐना राखेको जनाइएको छ ।

अष्ट्रेलियाली रेडक्रसको आर्थिक सहयोग, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिज (आइएफआरसी) र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा जिल्लामा सञ्चालन भइरहेको समुदायमा आधारित विपत् जोखिम न्यूनीकरण (सिविडिआरआर) कार्यक्रमअन्तर्गत सडक ऐना राखिएको रेडक्रस जिल्ला शाखाका कार्यक्रम अधिकृत अच्युत अधिकारीले बताए ।

नौ वर्षअघि ‘ओटासिल’ गरिएको जयराम–हलेसी सडकमा खाल्डाखुल्डी भएपछि यात्रा जोखिमपूर्ण बनेकाले न्यूनीकरण गर्न सडक ऐना जडान गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए । जयराम–हलेसी सडकको प्रहरी चौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्र उप्किएर खाल्डैखाल्डा बनेको छ ।

स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक विसं २०६७ मा गरेको कालोपत्र छोटो समयमै उप्किएपछि सबैभन्दा बढी हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थीलाई समस्या भएको छ । ठेकेदारको लापरवाहीका कारण कालोपत्र उप्किएपछि सवारीसाधन गुड्नै मुस्किल परेको च्यास्मिटार–३ का वडाध्यक्ष भलाराज राईले बताए ।

तीस किलोमिटर लामो उक्त सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा सवारीसाधन चलाउने चालक छिनछिनमा भेटिने खाल्डाखुल्डी छल्दै सवारीसाधन चलाउन बाध्य छन् । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानीलगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो ।

हाल सो सडकमा दैनिक हलेसी र दिक्तेल आउने÷जाने सयौँ सवारीसाधनको ओहोरदोहोर हुन्छ । विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने ओटासिल नै बाँकी नरहेपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुको गुनासो छ ।

अन्तर्राष्ट्रियस्तरको फुटबल खेलमैदान निर्माण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेलमैदान निर्माण शुरु भएको छ । नगरपालिकाको लगानी तथा स्थानीय युवाको पहलमा १२० मिटर लम्बाइ र ८० मिटर चौडाइ भएको खेलमैदान निर्माण शुरु गरिएको हो ।

दिक्तेल–बास्पानी–बाक्सिला सडकखण्डमा पर्ने खार्मीका स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा फुटबल खेलमैदान निर्माण शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले जानकारी दिए । “खेल क्षेत्रको विकास र व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलमैदान निर्माण थालिएको छ”, उनले भने, “खार्मीमा निर्माणाधीन खेलमैदान जिल्लाकै ठूलो र उत्कृष्ट हुने हाम्रो दाबी छ ।”

खेलमैदानका लागि स्थानीय पुष्कर राई, डम्बर राई र कृष्णकुमारी तामाङले संयुक्तरूपमा निःशुल्क जग्गा उपलब्ध गराएका छन् । निर्माणाधीन खेलमैदान जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब ११ किलोमिटर टाढा पर्छ । खार्मीमा निर्माणाधीन खेलमैदानलाई नगरपालिकाको गौरवको योजनामा समावेश गरी निरन्तर विकासमा सहयोग गर्ने नगरप्रमुख दीपनारायण रिजालले बताए । “खेल क्षेत्रको विकासका लागि हरेक वडामा एक÷एक खेल मैदान निर्माण गर्न नगरपालिका लागिपरेकोे छ”, उनले भने, “खार्मीमा निर्माणाधीन खेल मैदान उपयुक्त ठाउँमा रहेकाले पनि नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने छ ।”

खार्मीमा निर्माणाधीन खेलमैदान अन्य ठाउँको तुलनामा थोरै खर्चमा निर्माण सम्पन्न हुने प्राविधिकको अनुमान छ । निर्माणाधीन खेलमैदान सम्याउने काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिले जनाएको छ । खेल मैदान सम्याउने काम सकिएलगत्तै प्यारापिट, मञ्च, धारा तथा शौचालयलगायत अन्य संरचनाको काम शुरु गरिने अध्यक्ष राईले जानकारी दिए । खार्मीमा अन्तर्राष्ट्रियस्तरको फुटबल खेलमैदान निर्माण शुरु गरिएपछि बारीको कान्ला र खुला चउरमा फुटबल खेल्दै आएका खेलाडी हर्षित भएका छन् ।

समुन्द्री सहतदेखि करीब एक हजार ७०० मिटर उचाइमा रहेको खार्मीमा निर्माणाधीन खेलमैदानमा बाह्रै महीना प्रतियोगिता आयोजना गर्न सकिने जनाइएको छ । खार्मीमा निर्माणाधीन खेलमैदान जिल्लाकै उपयुक्त ठाउँमा रहेको जनाइएको छ ।

निर्माणाधीन खेलमैदान मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा सडकखण्डको सोल्मादेखि करीब नौ किलोमिटर उत्तर खार्मी–बाक्सिला सडकभन्दा करीब २५ मिटरमाथि पर्दछ । निर्माणाधीन खेलमैदान नयाँ वर्ष २०७६ को अवसरमा खुला फुटबल प्रयोगिता आयोजना गरेर उद्घाटन गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै