• २०८१ बैशाख ८ शनिबार

मलाई समान्य, तर नसोचिएका र नभनिएका विषय टिप्न मन लाग्छ: महेश पौड्याल

kharibot

कथाकार, उपन्यासकार, समालोचक र अनुवादकका रुपमा नेपाली साहित्यमा आफ्नो विशेष पहिचान बनाएका साहित्यकार महेश पौड्याल आफ्नो पहिलो कवितासंग्रह “शून्य समयको साक्षी”सँगै कवितामा पनि आउँदै छन् । शिखा बुक्सले चैतको सुरुवाततिर उनको संग्रह सार्वजनिक गर्दै छ । यसअघि उनका "त्यसपछि फुलेन गोदावरी" कथासंग्रह, 'तादी किनारको गीत' लगायतका १२ पुस्तकहरू प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालको केन्द्रीय अंग्रेजी विभागमा उपप्राध्यापकका रुपमा अध्यापन गर्दै आएका पौड्याल श्रीमती रमा अधिकारी पौड्यालसँग भक्तपुरमा बस्छन् । प्रस्तुत छ साहित्यकार महेश पौड्यालसँग उनको नयाँ कृतिको सेरोफेरोमा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश :
 

तपाईंको पछिल्लो कथासंग्रह “त्यसपछि फुलेन गोदावरी”बाट केकस्ता प्रतिक्रिया पाउनुभयो? सकारात्मक/नकारात्मक प्रतिक्रिया आउँदा कस्तो महसुस हुन्छ?

“त्यसपछि फुलेन गोदावरी”मा मैले पाएको प्रतिक्रिया मेरो साहित्यिक जीवनकै लागि ऊर्जाको श्रोत बनेको छ । विमोचनमा देखिएको उत्साहवर्धक उपस्थिति, हलमा नअटाएर बाहिरसम्म उपस्थित शुभेच्छुकको सङ्ख्या, मेरो लागि प्रेमको वर्षा थियो । विमोचन पनि काठमाडौँ, नारायणगढ, अमेरिका, अष्ट्रेलिया र भारतको औरङ्गावाद गरी पाँच ठाउँमा भयो । नेपालभित्र गोदावरीमाथि चर्चा कोहलपुर, घोराही, नारायणगढ, धादिङ, बनेपा, इलाम, बिर्तामोड, इटहरी र धरानमा भयो । गोदावरीमाथि समीक्षा नेपालका प्रायः सबै ठूला दैनिक पत्रिकाले छापे, जसमा कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, सौर्य दैनिक, नयाँ पत्रिका, काठमाण्डु पोष्ट आदि सामेल छन् । पुस्तकले वर्ष २०७४ का लागि विमल स्मृति पुरस्कार पनि पायो । पुस्तकमाथि त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले दुईवटा शोधपत्र पनि लेखिसकेका छन् । रेडियो नेपाल, उज्यालो नेटवर्क, रेडियो  कान्तिपुर, रेडियो सिटी, गुराँस एफएम, रेडियो श्रृङ्गेश्वर, अन्नपूर्ण एफएम, आदिवाट यसका कथा वाचन गरिए अथवा मेरो अन्तर्वाता प्रशारण भयो । 

गोदावरीका केही पक्षको आलोचना पनि भयो । यसका नारी पात्र कमजोर छन्, अथवा धेरैजसो कथा मृत्युचिन्तनकै वरिपरि छन् भन्ने पनि सुनेँ, र स्वीकारेँ । केही पाठकले कथा फिटिक्कै मन नपरेको पनि भन्नुभयो । एक जनाले उजिर कोइराला छद्म नाम राखेर पनि फेसबुकमा बेइज्जत गर्ने कोशिस गर्नुभयो, तर उहाँ आफैँ अस्तित्वबाट अलप हुनुपर्यो । एक जना स्थापित आख्यानकारले पोखरामा गएर यो पुस्तक निकृष्ट भएको अभिमत दिनुभएछ । लेखक हुँ, स्वीकार्य छ । 

सकारात्मक पत्रिक्रिया आउँदा म थप विनम्र हुन्छु । अझ राम्रो लेख्नुपर्छ भन्ने लाग्छ । नकारात्मक आउँदा सिक्न बाँकी रहेछ भन्ठान्छु । स्वीकार्छु । तर, पूर्वाग्रही प्रतिक्रिया आयो भने बेवास्ता गरिदिन्छु । म आफैँ समालोचनाको मान्छे हुँ । प्रतिक्रिया कसरी पूर्वाग्रही हुन्छ, त्यो बुझेको छु । 

तपाईंको पहिलो कवितासंग्रह प्रकाशनको क्रममा छ । कस्ता कविताहरू समेट्नुभएको छ? शैली र विषयवस्तुका हिसाबले कस्ता छन् कविताहरू? कहिले आउँछ बजारमा?

मेरो पहिलो कवितासङ्ग्रह “शून्य समयको साक्षी” तयारीको क्रममा छ, र २०७५ को चैतको पहिलो हप्तामा बजारमा आउने अनुमान गरेको छु । यसमा मैले छोटा आयतनका १०८ कविता समेटेको छु । शैली सीधा छ, उपकरणमा नअल्झिकनै सीधै कथ्यमा प्रवेश गरेको छु, एक झट्कामै कविता सकिन्छ । मेरा कविता प्रायः जीवन र जगतका छन् । मानवीय स्वभावका छन् । मनोविज्ञानका छन् । अलिअलि राजनीतिका पनि छन् । 

सामान्यतया मझौला वा लामा आकारका कविताहरू लेखिने गर्छन् । तपाईंले छोटा कविताहरू नै किन रोज्नुभयो? 

सायद लामा कविता लेख्न नसकेरै म छोटा कवितामा आएको हुँ । म धैर्य अलि कम भएको मान्छे हुँ । हेर्छु, सबै पाठक हतारमा छन् । अचेल, फेसबुकको एक फ्लासमा कविता पढेर सकियोस् भन्ठान्ने युग छ । धेरै लामा कविता आउँदा समयको बढी लगानी हुने, तर कविताचाहिँ एउटै तर्कको वरिपरि घुम्ने देख्छु । त्यसैले, घुमाउरो बाटो किन जाऊँ भन्ने लागेको हुन सक्छ मलाई । छन त एउटा सङ्ग्रह पुग्नेगरी मसँग मझौला आकारका कविता पनि छन् । तर तिनलाई अहिले फाइलमै सुरक्षित राखेको छु । 

पछिल्ला केही वर्षमा लगातार रुपमा तपाईंका उपन्यास, कथासंग्रह आए र अब कवितासंग्रह आउँदैछ । एउटै विधाले समात्न नसकेको हो तपाईंलाई?

हो । अडिन सकिनँ । भाव तरङ्ग न हो, धेरैतिर दौडिन्छ । म चिन्तित पनि छैनँ । लेखकहरू फैलेर पनि सफल भएको देखेको छु । देवकोटा, डिएच लरेन्स, रवीन्द्रनाथ टेगोर, आन्तोन चेखभ, एडगार्ड एलन पो, मन्जरुल इस्लाम थुप्रै विधामा फैलिए, र सफल पनि भए । म सिक्ने क्रममा छु । हेरौँ ।  

’शून्य प्रहरको साक्षी’ संग्रह कसरी तयार भयो? तपाईंको कविता लेखन प्रक्रिया कस्तो हुने गर्छ? 

कविता त म सानैदेखि लेख्थेँ । ती सिकारु कविता हुन् । तर छोटा आकारका कविता भने मैले पछिल्लो १० वर्षमा लेखेको हुँ । हुन त मसँग यस आकारका कविता ५०० को हाराहारीमा होलान्, तर मैले गोडेर १०८ मात्रै छानेँ, 'शून्य समयको साक्षी'का लागि । वास्तवमा छोटा आकारका कविताको ल्याकत मैले त्यो बेला बुझेँ, जब कवि कृष्ण प्रसाईंका जेन कविता उहाँको सङ्ग्रह “घामको वर्षा” मा पढेँ । मैले विलियम कार्लोस विलियम, रिचर्ड राइट, सुसन सन्टोग, सिन्थिया जेरिन, को ऊन, कोपीकृष्ण कुट्टुर, रुपी कौर आदिलाई पढेपछि यस प्रकारका कविताको एउटा छुट्टै साम्राज्य भएको फेला पारेँ । तब लाग्यो, मैले गलत बाटो समाएको होइन । 

एक झट्का विचार हुन्छ यस कवितामा । धेरै अलङ्कार र उपकरण हुँदैन । त्यो एक झटका कहाँ, कतिबेला फुर्छ थाहै हुँदैन । मैले बाटोमा जाँदा बाइक रोकेर भिजिटिङ कार्डमा कोरेको छु, वा मोबाइलमा आवाज रेकर्ड गरेको छु, विमानमा लेखेको छु, स्नान घर वा भान्सा घरमा टिपेको छु, कोलाहलमा भेटेको छु, सन्नाटामा पनि फेला पारेको छु । यसरी टिपेको झटकालाई म फुर्सदमा लेख्छु, गोडमेल गर्छु, केही समयपछि पुनर्लेखन पनि गर्छु, अनि कुनै माध्यमबाट पाठकसमक्ष पठाउँछु । 

एक समालोचकका हिसाबले अहिले आइरहेका कविताहरूमाझ आफ्नै कविताको समीक्षा गर्नुपर्यो भने के भन्नुहुन्छ आफ्ना कवितालाई?

पछिल्लो छिमलका कविले नेपाली साहित्यलाई निकै बलिया कविता दिएका छन् । यस मानेमा म खुसी छु । तर केही कवितामा अलङ्कारमा अल्झिने, अनावश्यक रूपमा लामा कविता लेख्ने, देखेभोगेको समाचारजस्ता लाग्ने कुरा लेख्ने, सूक्ति कम भएका गन्थन वा आक्रोश लेख्ने, राजनैतिक आग्रहका आधारमा आफूलाई डोहोर्याउने आदि लोष देखिन्छन् । 

यी कविताहरूको भीडमा मेरा छोटा आकारका कविता स्वरूपमा अलि पृथक त देखिने नै भए, तर राम्रा छन् भनेर दावी म गर्दिनँ । म तमाम दोषसहित उभिएको छु, र मेरा कविता पनि । तर, मेरा कविताले पाठकलाई अलङ्कारको झाडीमा अल्मल्याउँदैन । त्यो सत्य हो । 

मेरो कविताको पुस्तक आएपछि तीन हिसाबले मेरो आलोचना हुन सक्छ । पहिलोः यो लेखक विधाहरूमा छरियो । दोस्रोः अरुलाई नेपाली रङ बोकेका कविता लेख भन्छ, आफ्ना कविताको बहाव अर्कैतिर छ । तेस्रोः सारै छोटा छन् कविता, बुझ्न खोज्लाखोज्दै सकिन्छन् । प्रश्न आएपछि म जवाफ दिऊँला । 

कस्ता कुराहरूले तपाईंलाई छुन्छन् र लेख्न बस्नुहुन्छ?तपाईंको लेखनको ’मिसन’ के हुने गर्छ? वैचारिक धरातलमा आफैंलाई कहाँनेर पाउनुहुन्छ?

कसैले भनिसकेको कुरा नटिप्ने मेरो कोशिस हुन्छ । म कवितालाई सूक्ति बनाउनुपर्छ भन्ने पक्षको मान्छे हुँ । मलाई समान्य, तर नसोचिएका र नभनिएका विषय टिप्न मन लाग्छ । मेरो लेखनमा कुनै दार्शनिक जटिलता हुँदैन । सामन्य कुरा, तर सामान्यतः उपेक्षा गरिएका विषय म लेख्छु । यसो गरिरहँदा, जीवनको गहिरो तर उपेक्षा गरिएको पक्षतिर पाठकलाई तान्नु मेरो 'मिसन' हुनेगर्छ । कथामा पनि मैले यसै गरेको हुँ । जहाँसम्म वैचारिक धरातल छ, म एक उदार प्रजातन्त्रवादी हुँ । सबै विचारलाई सम्मान छ, र सबैसँग उठबस छ । म सोच्छु, नेपाललाई, नेपाली परिवेशबाट बनेको, हाम्रा आवश्यकताअनुरुपको विचारले निर्माण गर्छ, वा परिवर्तन गर्छ । आयातीत विचार, जति सुन्दर भए पनि नेपालअनुकूल हुँदैन भन्ने मलाई लाग्छ । मेरो लेखनमा पनि मेरो यही विचार अन्तर्घुलित भएको हुन्छ सायद । 

तपाईं अनुवादमा पनि सक्रिय हुनुहुन्छ । तपाईंले अनुवाद गरेको कृष्ण धरावासीको ’राधा’ अमेरिकाबाट प्रकाशित भयो । समकालीन नेपाली कवितामा कस्ता कविता लेखिए भने तिनलाई अनुवादद्वारा विश्वमाझ चिनाउन सकिन्छ जस्तो लाग्छ तपाईंलाई? 

कि कसैले नभनेको कुरा वा प्रयोग नरेको शैलीमा केही कुरा लेख्नुपर्यो । कि नेपाली मिथक, लोकअनुभव वा मौलिक नेपाली दर्शनको जगमा केही लेख्नुपर्यो । अथवा नेपाली लघुइतिहासको उत्खनन गरेर त्यसको जगमा केही लेख्नुपर्यो । लघुइतिहास भनेको कर्मकाण्डी, शासक–प्रायोजित इतिहासभन्दा पृथक, लेख्न बाँकी र आम जनताको इतिहास भनेको हुँ । यी कुरा भए भने हाम्रा कवितामा विश्वलाई बाँड्नका लागि केही नयाँ कुरा हुन्छ । नत्र, अनुवाद पनि कर्मकाण्डी हुन्छ, अथवा पैसा हुनेहरूको रहरको रत्यौलीमात्रै हुन्छ । 

एउटा कविता लेखिसक्दाको आनन्द कस्तो पाउनुहुन्छ? लेख्दालेख्दै बीचमा छाडेका कविता कति छन्? 

कविता लेखिसक्दाको आनन्द शब्दातीत हुन्छ । लेख्दालेख्दै बीचमा छोडेका कविता छैनन् । बरु पुनर्लेखन गर्न बाँकी केही छन् । आनन्द त मलाई तब लाग्छ, जब मेरा छोटा कविता मेरा पाठकले कण्ठस्थै सुनाउँछन् । धेरैपटक यस्तो भएको छ । कसैले वाचन गरेर रेकर्ड पठाएका छन् । कतिले युट्युबमा हालिदिएका छन् । स्वतःस्फूर्त कतिले हिन्दी, बङ्गाली, बर्मेली र अङ्ग्रेजीमा अनुवाद पनि गरिदिएका छन् । म गएका ठाउँमा यस्ता कविता सुनाइदिन अनुरोध गर्छन् । त्यस्तो बेला अपार हर्षको अनुभूति हुन्छ । 

कवितालाई कम बिक्री हुने विधाको रुपमा लिइन्छ र अधिकांश कविहरू पनि आख्यानतिर आकर्षित भइरहेको देखिन्छ । समकालीन नेपाली साहित्यमा कविताको उपस्थिति कस्तो पाउनुहुन्छ?

कविता चेतनाको उच्चतम तहबाट लेखिन्छ । त्यसैले, त्यसलाई पढ्ने पाठकको चेतना पनि त्यस्तै उच्च हुनु जरुरी छ । त्यस्तो उन्नत चेतना भएका पाठक कति हुन्छन्? थोरै । त्यैसे, थोरै लेखक र थोरै पाठकबीचको विमिनयमा आधारित हुने विधा कवितालाई चाउचाउ बनाउन सकिएन भनेर गुनासो गर्नु हुँदैन । अन्य विधामा सम्भव नहुने माध्यम पनि छ कविताकोः सभासमारोहमा वाचन, रेडियो टिभीमा वाचन । यो पनि भावको बिक्री नै हो, प्रेमको विनिमय नै हो, प्रभावकारिताको अनुष्ठान नै हो । 

आख्यानतिर लागे पनि, कविता लेखेर आएको श्रष्टाले खुसुखुसु कविताकर्म जारि राखेको पनि सत्य हो । समय आएपछि बाहिर निकाल्छन् । 

राम्रा कविता लेखियो भने कविता पनि बिक्री हुन्छन्, र लेखकले पैसा कमाउँछ । पछिल्लो समय हजारौँ प्रति कविता बिकेको र त्यस्ता पुस्तकको श्रष्टा देशविदेश डुलेको पनि हामीले देखेका छौं । यो एउटा आनन्दको विषय हो । 

आगामी दिनलाई लिएर तपाईंका योजना?

म कथा लेखिरहेको छु । २०७६ मा कथा निकाल्ने सोच छ । म मेरा कथालाई अङ्ग्रेजीमा पनि अनुवाद गरिरहको छु । त्यो पनि प्रकाशन गर्ने सोच छ । बालकथा प्रकाशन गर्ने पनि योजना छ । हेरौँ । 

पुस्तक प्रकाशनको पूर्वसन्ध्यामा आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ?

मेरा कविताको पहिलो पुस्तक आउँदैछ — 'शून्य समयको साक्षी' । फागुनलाई छपाइको समय, र चैत्रको पहिलो सातालाई विमोचनको मोटामोटी समय मानेको छु । मेरो पाठलाई मेरो आग्रह छः 'तादी किनारको गीत' र 'त्यसपछि फुलेन गोदावरी'लाई जस्तै मेरा कवितालाई पनि माया गरिदिनुहोला । म आशावादी छु ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै