• २०८१ बैशाख ८ शनिबार

कविता - नारीवाद

kharibot

हातमा जल्दो मसाल बोकेर
जब हामी अँध्यारोमा
आफ्नो पहिचान खोज्छौं 
आफ्नो अस्तित्व पहिल्याउन चाहन्छौं 
तब अतितमा त्यतिबेला
जब कहीँ गर्भमा वीजांकुरण हुँदै गर्दा
हामीले दिएको मौन स्वीकृति 
हुरी बनेर आइदिन्छ
हातको मसाल निभ्छ
र हातमा शून्य मात्र दिन्छ

हामी आफैमा आफैले 
आफ्नै हातले लिपेर आफैलाई
बलियो बनाइएका बगरका ढिकुरा हौँ 
तितेपाती र भिमसेन पाती चढाईएर पूजित हुन्छौं 
झ्याँसझुसले छोपेर अलग्याईन्छौं 
पँहेलो रोगनमा सजिन्छौं 
र लात्ताले भत्काईन्छौं 
कमजोरी महान बहलाईँदामा भएको थियो 
कमजोरी शक्तिस्वरूप बनाईँदामा भएको थियो 
अरूका उपमा र अलङ्कारमा सजिएर
जब हामीले आफ्नै अस्तित्व बिर्सियौं 
तब हातमा शुन्य मात्र लाग्यो 

वेश्या नगरवधु देवकन्या या देउकी
धर्मका उपज होइनन्
संस्कार या सभ्यताका देन होइनन्
एक खोक्रो आस्थाका बिरोधमा
एक नरबलीको प्रतिरोधमा
कुमारी योनीका प्यासी हात कहिल्यै उठेनन्
कहिल्यै बढेनन् कहिल्यै सघाएनन्
शिर झुकाए नूर गिराए
र र्याल चुहाएर बसे, बस्दैछन् बस्नेछन्
बिद्रोह यहाँ गर्नु छ मसाल यहाँ झोस्नु छ
अन्यथा नारीवाद मलाई खोक्रो लाग्छ
तल नाङ्गै माथि ह्वाङ्गै 
नारा मात्र लाग्छ

समा श्री 
काठमाडौं
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै