• २०८१ बैशाख ८ शनिबार

अनियमितता गर्ने, कारवाही कहिले नहुने ! 

kharibot

काठमाडौँ । देशमा भ्रष्ट्राचार नियन्त्रण गर्न बनेको संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै अहिले भ्रष्ट्राचारका कारण विवादमा रहेको छ । अख्तियारका आयुक्त राजनारायण पाठकले मुद्धा मिलाइदिने नाममा लिएको घुस बारे भिडियोसहित सार्वजनिक भएपछि उनले राजीनामा गरेका छन् । सत्तारुढ दलले उनलाई महाभियोग लगाउने तयारी गरेपछि उनले राजीनामा गरेका हुन् ।

ठुलो पदमा बस्नेहरुले गरेको अनियमतितामा आफ्नो पद छोड्दैमा छानबिन रोकिने गजबको परम्परा बसेको छ । यसअघि अख्तियार कै प्रमुख लोकमान सिंह कार्की, प्रधानन्यायाधीश गोपाल पराजुली लगायतको प्रसंग अझै ताजै छ । यति मात्र होइन सांसदहरुले लिएको घर भाडा, मन्त्रीहरुले लिएको दोहोरो इन्धन सुबिधा लगायत अन्य उच्च पदस्थ व्यक्तिहरुले गरेको अनियमितता दुई-चार दिन चर्चाको विषय बनेर सेलाउदै गएको देखिन्छ । 

कुनै पनि किसिमको अनियमितता देशमा सुशानको बाधक हो । तर देशमा हरेक ठाउमा भएको अनियमतिताले देशलाई खोक्रो बनाउदै छ । कारवाहीका नाममा हरेक दिन जसो १०-२० हजार घुस लिनेलाई पक्रिएको खबर आइनै रहन्छ तर आफ्नै कार्यलयका आयुक्तले लाखौ अनियमितता गरेको भिडियो सार्वजनिक भइसक्दा अख्तियारले पक्राउ गरेर कारवाही किन गर्दैन ? के राजीनामा दिदैमा उनले गरेका अपराध सकिन्छन् ? यो प्रश्न अहिले अख्तियार तिर सोझिएको छ । 

विगतमा पनि लोकमान सिंह कार्की अख्तियार प्रमुख हुदा पदको दुरुपयोग गरेको आरोप लगाउदै सर्वोच्चको आदेश अनुसार पदबाट हटाइयो तर उनलाई थप कारवाही भएन । पदबाट हटेपछि मानौ उनको कारवाही नै त्यहि थियो जस्तो परम्परा हामीले बसालेका छौ, जुन सरासर गलत छ । त्यस्तै सर्वोच्चका प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको नक्कली प्रमाणपत्र भएको भन्दै उमेर विवादमा उनलाई अवकाश दिइयो । तर उनको प्रमाणपत्र नक्कली नै थियो भने उनी कारवाहीको दायरामा आउनु पर्दैन ? सानो पदमा भएका खरदार, सुब्बा, प्रहरी जवान अहिले नक्कली प्रमाण पत्रको केसमा पक्राउ परेका छन् तर देशको सर्वोच्च अदालतको प्रमुख जस्तो व्यक्तिको प्रमाण पत्रमा प्रश्न उठाएर पदबाट हटाएपछि यो प्रसंग नै सकियो त ? 

अनियमितता कै प्रसंगमा शुक्रबार मात्र लोक गायक पशुपति शर्माले एउटा गित सार्वजनिक गरे । तर सो गीतमा प्रयोग भएका शब्दका कारण उनलाई दबाब दिइयो र उनले शनिबार सो गीत हटाउन बाध्य भए । लुट्न सके लुट कान्छा’ शिर्षकको सो गीतमा अहिलेको यथार्थ चित्रण गरिएको छ । तर उनलाई गीत हटाउन र सच्चिन भन्दै धम्की दिइयो र उनले सो गीत हटाए ।

यो एउटा प्रतिनिधिपूर्ण र ठुलो उदाहरण हो हामी कँहा कसरी अनियमतिताको बचाउ गरिन्छ भन्ने । एउटा गीत गाएको कलाकारलाई त यसरी घेराबन्दीमा पारेर हटाउन बाध्य बनाइन्छ भने लाखौ करोडौ अनियमितता गर्नेलाई छुने हिम्मत कसको छ होला र खै !  

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक भाषणमा भ्रष्ट्राचार बारे समय खर्चिएको पाइन्छ । तर अनियमितताको सिलसिला रोक्न भने उनी असफल भएका छन् । अख्तियार आयुक्तको प्रकरणमा अहिले काँग्रेसले नियुक्त गरेको भनिएको छ । नियुक्त जसले गरेको भएपनि घटना सार्वजनिक गरेपछि कारवाहीको दायरामा ल्याउन के ले रोकेको छ । कारवाही नगर्ने प्रवृति देशको समृद्धि र विकासका लागि ठुला अवरोध हुन् । यसलाई सरकारले चिर्ने पर्छ ।

पछिल्लो समय पनि वाइडबडी, फोरजी, एनसेल प्रकरणमा करोडौ, अरबौको अनियमितता भएको विषय विस्तृतमा बाहिर आएको छ तर यसमा कुनै कारवाही हुने छनक अहिलेसम्म देखिदैन । 

देशलाई विकास गर्छु भन्ने समृद्ध बनाउछु भन्ने नारा लगाउदैमा विकास र समृद्धि आउदैन । यस्ता अनियमिततामा मुछिएकाहरुलाई कारवाही गरेर आम मानिसको सरकार र संबैधानिक निकायप्रतिको विश्वासलाई कायम राख्नु अहिले सरकारमा जो छ उसैको दायित्व हो ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै