• २०८१ बैशाख १३ बिहीबार

नासाको नयाँ टेलिस्कोपले ब्रह्माण्डको उत्पत्तिबारे अन्वेषण गर्ने

kharibot

तस्बीर : नासा

काठमाडौँ ।  नासाले सन् २०२३ मा ब्रह्माण्डको उत्पत्तिको बारेमा अध्ययन गर्नका लागि एउटा नयाँ स्पेस टेलिस्कोप लन्च गर्ने भएको । यस टेलिस्कोपले ब्रह्माण्डको उत्पत्तिपछिका सुरुवाती दिनहरू कस्ता रहे भन्नेबारेमा पनि प्रकाश पार्नेछ । 

स्फेरेएक्स नाम दिइएको यो मिसन दुई वर्षको हुने र यसको कुल बजेट २४.२ करोड अमेरिकी डलर हुने नासाले जनाएको छ । 

स्फेरेएक्सले 'अप्टिकल' र मानव आँखाले देख्न नसकिने 'इन्फ्रारेड लाइट' मार्फत आकाशको सर्वेक्षण गर्नेछ, जो ब्रह्माण्डबारेका जिज्ञासाहरू पत्ता लगाउनका लागि निकै शक्तिशाली उपकरणहरू मानिन्छन् । खगोलविदहरूले यस मिसनमार्फत ३०० भन्दा बढी तारापुंजहरू र हाम्रो आकाशगंगामा रहेका १० करोड ताराहरूको तथ्यांक संकलन गर्नेछन् । यस टेलिस्कोपले निकै दूर रहेका ताराहरूको पनि अध्ययन गर्ने बताइएको छ जसको प्रकाश पृथ्वीमा आइपुग्न १० अर्ब बर्षभन्दा बढी लाग्छ ।

यस मिसनले आकाशगंगामा जीवनका लागि अपरिहार्य तत्वहरू पानी र अरु जैविक अणुहरूको खोजी गर्नेछ । हरेक छ महिनामा स्फेरेएक्सले पृथ्वीका भूउपग्रह र मार्सका अन्तरिक्ष यानहरूमा प्रयुक्त प्रविधिको प्रयोग गरेर पूरै आकाशको सर्वेक्षण गर्नेछ ।

यो मिसन पहिलेका मिसनहरूभन्दा निकै अत्याधुनिक रहेको र यसले ब्रह्माण्डबारेका ठूला रहस्यहरू खुलासा गर्ने संचारमाध्यमहरूमा बताइएको छ । 'बिग ब्यांग' पश्चात एक नानोसेकेन्डभन्दा पनि कम समयको द्रुतगतिमा के कारणले गर्दा ब्रह्माण्ड फैलिन गयो भन्ने प्रश्नको उत्तर नासाको यस मिसनबाट पत्ता लाग्ने अपेक्षा गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै