• २०८१ बैशाख ७ शुक्रबार

मेलवर्न स्टार्स फाइनलमा पराजित, रेनेगडेसले जित्यो बिग बास लिग

kharibot

काठमाडौँ । बिग बास लिगको उपाधि मेलवर्न रेनेगडेसले जितेको छ । आज भएको फाइनल खेलमा रेनेगडेसले दिएको १४६ रनको लक्ष्य पछाएको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउदै १३२ रन मात्र बनाएपछि रेनेगडेसले खेल १३ रनले जितेको हो ।

मेलवर्न स्टार्सका लागि बेन डंकले सर्वाधिक ५७ रन बनाएका थिए भने मार्कोस स्टोइनिशले ३९ रन बनाएका थिए । पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेको स्टार्सले आफ्ना ७ विकेट ३९ रनमा गुमाउदै खेल गुमाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्न रेनेगडेसले २० ओभरमा ५ विकेट गुमाउदै १४५ रन बनाएको थियो । 

रेनेगडेसका लागि टम कुपरले सर्वाधिक ४३ रन बनाए भने डेनियल क्रिस्टियनले ३८ रन बनाएका थिए । त्यस्तै म्यकेनेज हार्भेजले १४, कप्तान एरोन फिन्चले १३ रन बनाएर आउट भएका थिए ।

मेलवर्न स्टार्सका बलर ज्याक्सन बर्ड र एडम जाम्पाले २-२ विकेट लिएका थिए । नेपाली बलर सन्दीप लामिछानेले भने विकेट नलिए पनि सबैभन्दा किफायती बलिङ गरेका थिए ।    

रेनेगडेसले पहिलो पटक बिग बास लिगको उपाधि जितेको छ । अहिलेसम्म बिग बास लिगको उपाधि धेरै पटक जित्नेमा पर्थ स्कोर्चर रहेको छ । पर्थले अहिलेसम्म ३ पटक बिग बासको उपाधि जितेको छ । पर्थले सन् २०१३-१४, २०१४-१५ र २०१६-१७ सिजनको बिग बास लिग जितेको थियो । त्यस्तै सिड्नी सिक्सर्स, सिड्नी ठंडर, ब्रिसबेन हिट, एडिलेड स्ट्राइकरले एक एक पटक बिग बासको उपाधि जितेका छन् ।

फाइनलमा सन्दीपको किफायती बलिङ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगको फाइनलमा विकेट नलिए पनि किफायती बलिङ गरेका छन् । सन्दीपले आफ्नो ४ ओभर बलिङ गर्दै १६ रन दिएका छन् । सन्दीपले प्रतियोगितामा कुल ११ विकेट लिए । सन्दीपले बिग बास लिगका ९ खेल खेल्दै ११ विकेट लिएका हुन् ।   

सन्दीपले अहिलेसम्म विश्वका धेरै फ़्रेन्चाइज टी-२० लिग खेलेपनि सन्दीप लामिछाने पहिलो पटक कुनै फाइनलमा खेलेका हुन् । 

सन्दीप खेलेका टीम आइपिएलको तत्कालिन दिल्ली डेयर डेभिल्स, ग्लोबल टी-२०को मोन्टरियल टाइगर्स, क्यारेबियन प्रिमियर लिगको सेन्ट किट्स एंड नेभिस प्याट्रोयट्स, अफगानिस्तान प्रिमियर लिगको टिम नन्गारहर लियोपार्ड, बंगलादेश प्रिमियर लिगको टिम सिलहेट सिक्सर्स जस्ता टिम प्रतियोगिताको फाइनलमा पुग्न असफल भएका थिए । 

नेपालमा भएको एभरेष्ट प्रिमियर लिगमा सन्दीपको टिम ललितपुर प्याट्रोयट्सले उपाधि जितेपनि सन्दीप यस टिमका सुरुका दुई खेल मात्र खेलेर अस्ट्रेलिया गएका थिए ।
यसरी हेर्दा सन्दीप पहिलो पटक अस्ट्रेलियाको टी-२० लिग र विश्व कै ठुलो टी-२० लिग मध्यको एक बिग बास लिगमा पहिलो पटक मै फाइनल खेलेका हुन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै