• २०८१ बैशाख ७ शुक्रबार

संघियता बारे राष्ट्रिय जनमत संग्रह गर्न राप्रपाको माग

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयताका विषयमा जनमत संग्रह गर्न माग गरेको छ । 

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष कमल थापाले पत्रकार सम्मेलन गरेर आफ्ना आन्दोलनका मागहरु सार्वजनिक गरेका छन् ।

राप्रपाले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौँसहित देशका सबै जिल्लामा जुलुससहित आफ्ना मागसहितको ज्ञापन पत्र दिने अध्यक्ष थापाले जानकारी दिए । उनले काठमाडौँमा प्रधानमन्त्रीलाई र प्रदेश सदरमुकाममा मुख्यमन्त्रीलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको बताए ।

राप्रपाले आफ्ना मागका विषयमा फागुन महिनाभरको समय दिने र सरकारले आफ्ना मागहरु सम्बोधन नभए चैत्रको पहिलो साताबाट थप संघर्षमा जाने घोषणा गरे ।

राप्रपाले यसै बीचमा आफ्ना माग पुरा गराउन दबाब सिर्जना गर्न मेची देखि महाकालीसम्म फागुन १५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।

राप्रपाले सरकारसमक्ष २२ बुंदे माग प्रस्तुत गरेको छ । २२ बुंदे मागमा धर्म निरपेक्षता खारेज गर्न, संघियता बारे जनताको प्रत्यक्ष जनमत बुझ्न जनमत संग्रह गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न, राजसंस्थासहितको नेपालकै मौलिक प्रजातन्त्र स्थापना गर्न सर्वपक्षिय गोलमेच सम्मेलनको समेत माग गरेको छ ।

राप्रपाले देशका विखण्डनकारीलाई तत्काल कारवाही गर्न, धर्म परिवर्तन गराउने आइएनजियोलाई बन्द गर्न माग गरेको छ । त्यस्तै राप्रपाले एक परिवार एक रोजगार कार्यक्रम लागु गर्न र बेरोजगारहरुलाई बेरोजगार भत्ता दिन माग गरेको छ ।

राप्रपाले आफ्ना मागमा बुढीगण्डकी नेपालले नै बनाउनुपर्ने माग गरेको छ । त्यस्तै चर्चित सुन तस्करी प्रकरण र एनसेल करछली प्रकरणमा दोषीलाई कारवाही गर्न समेत माग गरेको छ । त्यस्तै मेलम्ची खानेपानी आयोजना, वाइड बडी खरिदमा भएको अनियमितताको छानबिन गरेर कारवाही गर्न माग गरेको छ ।

त्यस्तै राप्रपाले २०४७ साल देखि अहिलेसम्मका सबै उच्च पदस्थ व्यक्तिको सम्पति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्न माग गरेको छ । कानुनले दण्डनीय मानेको गौ हत्यालाई नियन्त्रण गर्न र हरेक गाउँपालिका र नगरपालिकामा कम्तिमा एउटा गौशाला निर्माण गर्न माग गरेको छ । 

त्यस्तै राप्रपाले विदेशमा रहेका नेपालीहरुका लागि मतदानको व्यवस्था आगामी आम निर्वाचनबाट नै गर्न माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै