• २०८१ बैशाख १३ बिहीबार

पशुपतिको गीतको प्रसंग संसदमा : अमरेश सिंहले २५ हजार पुरस्कार दिने घोषणा 

kharibot

काठमाडौँ । पशुपति शर्माको गीतको प्रसंग प्रतिनिधि सभाको बैठकमा समेत उठेको छ । आज भएको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले गायक शर्मालाई आफ्नो पारिश्रमिकबाट २५ हजार नगदले सम्मान गर्ने घोषणा गरे ।

सांसद सिंहले संसदमा भने, ‘गायक पशुपति शर्माले एउटा लोक दोहोरी गीत गाएका थिए । तर दुई तिहाईको सरकारको अगाडी त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ? त्यतोलाई त मुखमा ताला लगाउनु पर्छ सुन्नेलाई कानमा मर्करी या सिसा पघालेर लगाउनु पर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कँहा छ भन्ने प्रश्न उठेको छ ।’

उनले गायक शर्मालाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार नगदले सम्मान गर्ने घोषणा गरे ।

सांसद सिंहले सरकारले गणतन्त्रको नाममा लोकतन्त्रको नाममा जनताको भावना, गायकको भावनालाई जान्दैन भने जनताले पनि सरकारलाई सम्मान गर्न नसक्ने बताए । उनले जनताको भावना अनुसार सरकार चल्नुपर्ने बताए । 

अमरेश कुमार सिंहलाई काउन्टर दिदै सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलले अमरेश कुमार सिंहलाई संसदमै सो गीत गाए आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गरे । 

सांसद रावलले पशुपतिनाथले बचाउन नसकेको काँग्रेसलाई गायक पशुपतिले बचाऊन् भन्दै उनले सुशील कोइराला प्रधानमन्त्री हुँदा अमेरिका नि यही जापान पनि यही भन्ने गीत गाएको र अहिले काँग्रेसका सांसदले पुरस्कारको घोषणा गरेपछि यसको रहस्य खुलेको बताए ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै