• २०८१ बैशाख ८ शनिबार

प्रतिनिधिसभामा पाठक र पशुपति

kharibot

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ ।

भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । उनीहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिए । 

सांसद अमृता थापा र गणेश पहाडीले दोषी देखिए पाठकलाई कारवाही हुनुपर्ने माग गरे । 

पशुपतिको गीतमा अमरेश र झपटको जुहारी :

पशुपति शर्माको गीतको प्रसंग प्रतिनिधि सभाको बैठकमा समेत उठेको छ । आज भएको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले गायक शर्मालाई आफ्नो पारिश्रमिकबाट २५ हजार नगदले सम्मान गर्ने घोषणा गरे ।

सांसद सिंहले संसदमा भने, ‘गायक पशुपति शर्माले एउटा लोक दोहोरी गीत गाएका थिए । तर दुई तिहाईको सरकारको अगाडी त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ? त्यतोलाई त मुखमा ताला लगाउनु पर्छ सुन्नेलाई कानमा मर्करी या सिसा पघालेर लगाउनु पर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कँहा छ भन्ने प्रश्न उठेको छ ।’

उनले गायक शर्मालाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार नगदले सम्मान गर्ने घोषणा गरे । सांसद सिंहले सरकारले गणतन्त्रको नाममा लोकतन्त्रको नाममा जनताको भावना, गायकको भावनालाई जान्दैन भने जनताले पनि सरकारलाई सम्मान गर्न नसक्ने बताए । उनले जनताको भावना अनुसार सरकार चल्नुपर्ने बताए । 

अमरेश कुमार सिंहलाई काउन्टर दिदै सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलले अमरेश कुमार सिंहलाई संसदमै सो गीत गाए आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गरे । सांसद रावलले पशुपतिनाथले बचाउन नसकेको काँग्रेसलाई गायक पशुपतिले बचाऊन् भन्दै उनले सुशील कोइराला प्रधानमन्त्री हुँदा अमेरिका नि यही जापान पनि यही भन्ने गीत गाएको र अहिले काँग्रेसका सांसदले पुरस्कारको घोषणा गरेपछि यसको रहस्य खुलेको बताए ।  

सांसद उमाशङ्कर अर्गरियाले ठेकेदारले बाटो निर्माणमा गरेको ढिलाइले नागरिकको स्वास्थ्यमा असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद घनश्याम खतिवडाले मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणले जनताले दुःख पाएको भन्दै त्यस्ता ठेकेदारमाथि कडा कारवाही गर्न माग भयो । 

बैठकमा सांसद अमनलाल मोदीले किसानलाई सहज र सुलभरुपमा मलको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद आशाकुमारी विकले हालै बझाङमा भएका सवारी दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति र घाइतेको उपचारमा प्रभावकारी काम गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । 

सांसद इन्दुकुमारी शर्माले बर्दिबासको रातुखोलामा मापदण्डविपरीत ढुङ्गा, गिटी, बालुवाको दोहन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद उमा रेग्मीले मालपोत कार्यालयको अनलाइन प्रणाली अस्तव्ययस्त भएको र एक व्यक्तिको नाम अर्का व्यक्तिका नाममा दर्ता हुने समस्या भएको भन्दै तुरुन्त यसमा आवश्यक सुधार गर्न माग गरीन् । 

सांसद कलिला खातुनले मुसलमान विद्यार्थीको छात्रवृत्ति काटिएको छ भन्दै तत्काल उचित व्यवस्था गर्न माग गरीन भने सांसद कृष्णप्रसाद दाहालले काठमाडौँमा भएको प्रदूषणले वाग्मती नदी भएर बग्ने अन्य जिल्लामा समेत असर परिरहेको र नदीमा जलचर प्राणीको विनाश भएको छ भन्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतको स्वीकृति नभएर केही स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै यस सम्बन्धमा सरकारले पहल गर्न माग गरे ।

सांसद गोपालबहादुर बमले संसद्को शून्य समयको सुनुवाइ पनि शून्य भएको छ भन्दै यसको सुनुवाइ प्रभावकारी बनाउनुपर्ने माग गरे । सांसद गङ्गा चौधरीले महिलाको महिनावारी हुनु प्राकृतिक विषय हो भन्दै यसमा रहेको कुप्रथालाई नियन्त्रण गर्न तीनै तहको सरकारले महाअभियानका रुपमा लैजानुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै