• २०८१ बैशाख ११ मंगलबार

बैंकर र व्यापारीहरुबीच अर्थमन्त्री र गभर्नरको अगाडी चर्काचर्की 

kharibot

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले बिस्तारै ब्याजदर घटाउँदै लैजाउने बताएका छन् ।

बैंकर्स, राष्ट्र बैंक र उद्योगी व्यापारीबीच अर्थ मन्त्रालयमा भएको छलफलमा तनाव उत्पन्न भएपछि अर्थमन्त्री खतिवडाले कोही पनि आवेगमा आएर समस्या समाधान नहुने र सबैकुरा छलफलबाटै समाधान हुने बताएका हुन् । 

छलफलमा बैंकहरुले ब्याजदर घटाउने कि नघटाउने भन्ने विषयमा बैंकर्स र उद्योगी व्यापारीबीच अर्थ मन्त्रालयमै चर्काचर्की भएको थियो । 

अर्थमन्त्री खतिवडा, गभर्नर चिरिञ्जीवी नेपालको उपस्थितिमा मन्त्रालयमा भएको छलफलमा बैंकर्सले उद्योगी व्यापारीलाई स्वार्थको आधारमा ब्यादर घटाउन भनेको आरोप लगाएपछि व्यापारीले त्यसको विरोध गरेका थिए । 

अर्थसचिव राजन खनालले स्थिति शान्त बनाएपछि भएको छलफलमा ब्याजदर घटाउन सकिने ठाउँमा सोच्न सकिने बैंकर्सले प्रतिवद्धता जनाएका थिए ।

बैंकहरुले चर्को ब्याजदर नघटाउँदा उद्योग व्यापारमा समस्या परेको भन्दै उद्योगी व्यापारी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबार प्रधानमन्त्रीसँग पनि छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले तत्कालै ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरलाई  निर्देशन दिँदै ब्याजदर नघटे आफूले हस्तक्षेप गर्ने चेतावनी समेत दिएका थिए ।

उद्योगी व्यापारीले ब्याजदर घटाउन माग गर्दै आन्दोलन गरे पनि बैंकरहरुले भने अहिले ब्याजदर घटाउन सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भैरहेकाले बैठकपछि ब्याजदरको बारेमा ठोस निर्णय आउने बताइएको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै