• २०८१ बैशाख १३ बिहीबार

दर्ता विना नैं हस्पिटल सञ्चालनमा

kharibot

बारा । बाराको कोल्हवी नगरपालिका वडा नं.१ मा दर्ता बिना नैं ‘कोल्हवी सिटी हस्पिटल’ सञ्चालन भईरहेको खुलासा भएको छ ।  

विगत एक वर्ष देखि सञ्चालन भईरहेको उक्त हस्पिटलले कम्पनी रजिष्टारमा कम्पनी दर्ता गरे कै भरमा स्वास्थ्य सुविधा सञ्चालन गरिरहेको खुलासा भएको हो । 

कम्पनी रजिष्टारमा दर्ता भएको कम्पनीले उद्देश्य अनुसारको काम गर्नका लागि अन्य संबन्धित निकायसँग अनिवार्य अनुमती लिनु पर्ने कानुनी व्यवस्था गरिएको छ ।

तर, कोल्हवी सिटी हस्पिटल प्रा.लि.ले एक वर्ष देखि स्वास्थ्य सेवा सञ्चालनका लागि कुँनै पनि निकायसँग अनुमती लिएको छैन । हस्पिटलका सञ्चालक सञ्जिव कुमार यादवले आँफूहरु हस्पिटल दर्ताको प्रकृयामा रहेको बताए । 

हस्पिटल सञ्चालन गरेको करिब एक वर्ष भए पनि हालसम्म दर्ता हुँन नसकेको स्वीकार गर्दै अब आँफूहरु तत्काल दर्ताको प्रकृयामा जाने सञ्चालक यादवको भनाई छ ।

कोल्हवीको मूख्य बजार क्षेत्रमा विना दर्ता हस्पिटल सञ्चालन भइरहँदा अनुमती प्रदान गर्ने जिम्मेवारी पाएको कोल्हवी नगरपालिका भने यस विषयमा अनभिज्ञ छ । कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत भण्डारीले हस्पिटल चलेको थाहा भए पनि दर्ताका विषयमा आँफूलाई केहि जानकारी नभएको जानकारी दिएका छन् । 

कोल्हवी सिटी हस्पिटलका विषयमा नयाँ जानकारी प्राप्त भएको भन्दै नगर प्रमुख भण्डारीले आँफूहरुले छानविन गरि कारवाहीको दायरामा ल्याउँने बताए । 

कोल्हवी सिटी हस्पिटलले न्युनतम आवश्यक पूर्वाधार विना नैं हस्पिटल भनेर सेवा सञ्चालन गरिरहेको छ । जस्तापाताले छाएको सामान्य टहरोमा केहि बेड राखेर हस्पिटल जस्तो गरि सेवा सञ्चालन भईरहेको छ । जुन मापदण्ड विपरित हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालका अनुसार कोल्हवी सिटी हस्पिटलले दर्ताका लागि आवेदन दिए पनि न्यूनतम पूर्वाधार पनि नभएका कारण उक्त हस्पिटललाई सञ्चालनको अनुमती नदिईएको जानकारी दिए । 

गत कात्र्तिक यता हस्पिटल सञ्चालनका लागि स्थानीय तहबाटै अनुमती लिन सकिने व्यवस्था भए पनि कोल्हवी सिटी हस्पिटलका सञ्चालकले त्यस अघि नैं दर्ता प्रकृयाका लागि आवेदन दिएको जनस्वास्थ्य अधिकृत जयसवालले जानकारी गराए । 

विना दर्ता सञ्चालनमा रहेको कोल्हवी सिटी हस्पिटलले आवश्यक प्राविधिक नैं नराखी हचुवाका भरमा  ल्याब र एक्सरे सेवा समेत सञ्चालन गरिरहेको छ । 

हस्पिटलका सञ्चालक सञ्जिव कुमार यादवले ल्याब सञ्चालनका लागि टेक्निसियन राखेको बताए पनि एक्सरे मेशिन आँफैले सञ्चालन गर्ने गरेको उनको भनाई छ । 

कोल्हवी सिटी हस्पिटलमा आवासिय चिकित्सकका रुपमा कार्यरत डा.सरोज महत्तोले आँफूलाई हस्पिटल दर्ताको विषयमा जानकारी नैं नभएको बताए । चार महिना यता हस्पिटलमा कार्यरत डा.महत्तोले हस्पिटल सञ्चालकले आँफूलाई अस्पताल दर्ता रहेको बताएको जानकारी दिए ।

१०९०० एन.एम.सी दर्ता नम्बर रहेका डा.महत्तो चीनबाट एमविविएस उतिर्ण डाक्टर रहेको नेपाल मेडिकल काउन्सिलको वेवसाईटमा उल्लेख छ ।

नियमन निकाय अनबिज्ञ भई दिदा यसरी कानुन मिचेर सञ्चालनमा आएका अस्पतालहरुले जनताको स्वास्थ्यमा प्रतक्ष खेलवाड गर्दै गर्दा भोलिका दिनमा दुर्घटना ननिम्तेला भन्न सकिदैन । त्यसैले समय मैं नियमन निकाय सचेत हुँन जरुरी देखिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै