• २०८१ बैशाख ११ मंगलबार

मेलम्ची प्रकरणमा खानेपानी सचिव हटाइए 

kharibot

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई काममा फर्काउने अवरोध गरेको भन्दै खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको सरुवा गरेको छ । 

मेलम्ची प्रकरणमा मन्त्री र सचिवबीचको विवाद उत्कर्षमा पुगेपछि आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो । सचिव ठाकुरले खानेपानी मन्त्रीमा बीना मगर नियुक्त हुनेबित्तिकै दसैँमा काठमाडौँमा पानी आउने ब्रिफिङ गरेका थिए । 

मेलम्चीको काम अन्तिम चरणमा पुगेका बेला गत डिसेम्बर २१ मा सिएमसीले आयेजनास्थल छोडेर गएपछि अन्यौल सिर्जना भएको थियो । त्यसपछि मन्त्रालयले सिएमसीका प्रतिनिधिसँग औपचारिक र अनौपचारिक गरी पटकपटक वार्ता गरेको थियो । वार्तामा सचिव ठाकुर सिएमसी फर्काउने कुरामा सकारात्मक नभएको आरोप लाग्दै आएको थियो । 

अघिल्लो साता मन्त्री मगरले सिएमसी मूख्यालयकै प्रतिनिधिसँग वार्ताका लागि तीन सदस्यीय टोली सिङ्गापुर पठाएको बताएकी थिइन् । वार्तामा नेपाली प्रतिनिधि र सिएमसीका अधिकारीबीच मेलम्ची आयोजनाको बाँकी काम सक्न गर्न सिएमसी नै फर्काउनेबारे छलफल भएको थियो ।

मन्त्री मगरले मेलम्चीको बाँकी काम सिएमसीलाई नै दिनुपर्ने अडान राखेकी थिइन् भने सचिव त्यसको विपक्षमा थिए । मन्त्री मगरले कानुन उलंघन गर्दै तीन अर्ब ६० करोड रुपैयाँ सिएमसीलाई दिएर पुनः उसैलाई काम दिन दबाब दिएको सचिव ठाकुरले बताएका छन् । 

सचिव ठाकुरले सिएमसीलाई फर्काउन नसकिने बताउँदै आएका थिए भने मन्त्री मगरले सिएमसीलाई फर्काएर मेलम्चीको अन्यौल हटाउन सकिने अडान लिएकी थिइन् । सिएमसी फर्काउन सचिव तयार नभएपछि मन्त्री मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसबारे बताएपछि सरुवा गरिएको हो । 

मेलम्ची आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ । ३ प्रतिशत बाँकी कामका लागि टेण्डर गर्दा आयोजनाको अर्बौ लागत बढ्ने, समय अवधि पनि लम्बिने, स्थानीय ढुवानीकर्ता र कामदारहरुले अवरोध गर्न सक्ने दाबी मन्त्री मगरले गर्दै आएकी छन् । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव ठाकुरलाई जगेडा समूहमा सरुवा गर्ने निर्णय गरेको हो।  मन्त्रिपरिषद् स्रोतका अनुसार ठाकुरको ठाउँमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । सहरी विकास मन्त्रालयका सचिव शर्मालाई मन्त्रिपरिषदमा तानिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै