बारा । नेपाली कांग्रेसका सभापति एवंम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
वीरगञ्जको दियालो होटलको उद्घाटन गर्न जाने क्रममा सिमरा आई पुगेका देउवालाई नेपाली कांग्रेस जितपुर, सिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएको हो ।
नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए ।
सिमरा आएका देउवाले सञ्चारकर्मीसँग भने बोल्न मानेनन् । सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा देउवाले अहिले नबोल्ने भन्दै सञ्चारकर्मीलाई पन्छाएका थिए ।
यसअघि देउवालाई स्वागत गर्न सिमरा विमानस्थलमा पूर्व मन्त्री फरमुल्ला मन्सुर, पूर्व सभासद् राधेचन्द्र यादव, अजय चौरसिया, रमेश रिजाल, अजय द्विवेदी, मधु शाहीसहित बारा र पर्साका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । देउवालाई स्वागत गर्न कांग्रेस कार्यकर्ताबीच तछाडमछाड समेत देखिन्थ्यो ।