• २०८१ बैशाख १२ बुधबार

शेखर कोइरालालाई कारवाही गर्ने देउवाको चेतावनी 

kharibot

वीरगञ्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवारमाथि आक्रोश व्यक्त गरेका छन् ।

बुधबार वीरगञ्जमा पर्सा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले काँग्रेस नेता शेखर कोइरालाको नामै लिएर उनको पार्टीमा के हैसियत छ भन्दै प्रश्न गरेका छन् । सभापति देउवाले शेखर कोइरालाको आलोचना गर्दै शेखर कोइरालाले जथाभावी बोल्दै हिडेको आरोप लगाएका छन् । 

‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो’, उनले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ?’ ‘कांग्रेस पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदान छ, यो हामीले पनि स्वीकार्छौँ’, देउवाले भने, ‘तर यो पार्टीमा बिपी र जिपीका छोरा भतिजाको कुनै योगदान नै छैन । जसले पार्टीमा योगदान नै दिएको छैन, पार्टीमा केही गरेकै छैन, उसैले कार्यकर्तामाझ जथाभावी बोल्दै हिँडदैछन् ।’

नेता शेखर कोइरालाले जथाभावी बोल्दै हिँडेको देउवाले आरोप लगाए । ‘पार्टीका लागि शेखरको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसेका छन् ?  मण्डलेहरुले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ?’, देउवाको प्रश्न थियो, ‘पार्टीका लागि कुनै योगदान नै नगर्ने अनि अहिले कोइरला थर भयो भन्दैमा पार्टी सभापति नै बन्न पाउनु पर्छ भनेर शेखरले जथाभावी बोल्दै हिँडेका छन् ।’  

देउवाले जथाभावी बोल्दै हिड्नु पनि अनुशासनको उल्लंघन भएको भन्दै कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

गत शनिबार मात्र वीरगञ्जमा जीपी कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कोइराला परिवारका डा.शेखर कोइराला, महामन्त्री डा.शशांक कोइराला र सुजाता कोइराला उपस्थित थिए ।

पछिल्लो समय उनीहरुले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै