• २०८१ बैशाख १२ बुधबार

सामसुङ ग्यालेक्सी फोल्ड : किताबजसरी मोडिने स्मार्टफोन 

kharibot

दक्षिण कोरिया । सन् २००९ मा आफ्नो पहिलो स्मार्टफोन बजारमा ल्याएपछि सामसुङले विश्वमा नयाँ प्रविधिको सुरुवात गर्यो । यसको निरन्तरतास्वरूप बिहीवार कम्पनीले सामसुङ ग्यालेक्सी फोल्ड नामक आफ्नो पहिलो फोल्ड हुने अर्थात् मोडिने फोन सार्वजनिक गरेको छ । 

आफ्नो पहिलो फोन बनाएको १० वर्षपछि यो नयाँ फोनको रूपमात्र नभई फोनको भविष्य नै बदलिएको सामसुङले बताएको छ । 
यो फोन दुई महिनापछि अर्थात् अप्रिलमा अथवा त्योभन्दा केही अगाडि बजारमा ल्याइनेछ । 

ग्यालेक्सी फोल्ड स्मार्टफोन 

पेन्सिल बक्सजस्तै देखिने सामसुङ ग्यालेक्सी खोल्दा ७.३ इन्चको हुन्छ अर्थात् यो फोल्ड गर्दा एक स्मार्टफोनको आकारमा हुन्छ भने खोल्दा एक सिंगल स्क्रिनवाता ट्याब्लेट बन्छ । 

यो फोनमा एकसाथ स्क्रिनमा तीनओटा एप चलाउन सकिन्छ । यसको लागि एपलाई ट्याबलेट मोडबाट फोन मोडमा लैजानुपर्छ । 

बारम्बार फोल्ड गर्दा फोनमा कुनै नोक्सानी नहोस् र धेरै प्रयोग गर्नाले ब्याट्री नसकियोस् भनी दुवैतिर ब्याट्री राखिएको छ । 

यसलाई जसरी समाए पनि तस्वीर लिन समस्या नआओस् भनी ग्यालेक्सी फोल्डमा तीनओटा पछाडि, दुईओटा भित्र र एउटा अगाडि गरी जम्मा ६ ओटा क्यामरा राखिएको छ । 

यही अप्रिल २६देखि ग्यालेक्सी फोल्डको ४जी भेरिएन्ट १ हजार ९ सय ८० अमेरिकी डलरमा बजारमा ल्याइने कम्पनीले बताएको छ । यसको ५डी भेरिएन्ट भने केही महँगो हुने र त्यो केही पछि आउने बताइएको छ । यसको मूल्यअनुसार कम्पनीले यसलाई ‘लग्जरी आइटम’को संज्ञा दिएको छ । 

अन्य कम्पनीले पनि ल्याउँदै छन् फोल्डेबल फोन 

सामसुङले आफूले फोनको भविष्य बदलेको घोषणा गरिरहेको अवस्थामा अन्य कुनै पनि कम्पनी यस्तो फोन बजारमा ल्याउन हालसम्म सफल भएका छैनन् । तर, फोल्डेबल फोनको निर्माण गर्ने सामसुङ पहिलो कम्पनी भने होइन । गतवर्ष डिसेम्बरमा सीईएस टेक शोमा रोयल कर्पोरेशनले आफ्नो ७.८ इन्चको फ्लेक्सिपाई फोन सार्वजनिक गरेको थियो जुन एकतर्फ मोडिन्थ्यो । तर, अहिलेसम्म उक्त फोन बजारमा आएको छैन । यो डेभलपर भर्जनमा १ हजार ५ सय ८८ अमेरिकी डलरमा उपलब्ध छ र यसको प्रिअर्डर गर्न सकिन्छ । 

यी दुई कम्पनीमात्र नभई अन्य कम्पनीले पनि फोल्डेबल फोन निर्माणमा काम गरिरहेका छन् । मोटोरोलाले पनि जनवरीमा फोल्ड हुने फोनको लागि एक नमूना एप्लिकेशन राखेको थियो । त्यस्तै, ओप्पोले पनि आफ्नो डेभलपर इनोभेशन इभेन्टमा फोल्डेबल स्मार्टफोन ल्याउन सक्ने अपेक्षा गरिएको छ । 

नुबियाले यही २५ तारिखमा एक विशेष स्मार्टफोन सार्वजनिक गर्ने बताएको छ । कम्पनीका सीईओ नी फेईले चिनियाँ सामाजिक सञ्जाल पाइतुमा पछिल्ला केही महिना दुई तस्वीर पोस्ट गरेका थिए जुन तस्वीरले कम्पनीले घडीजसरी लगाउन मिल्ने स्मार्टफोन ल्याउने संकेत गर्छन् । 

जेडटीईले गतवर्ष एक्सन एम नामक एक फोन सार्वजनिक गरेको थियो जसको स्क्रिन मोडिने नभए पनि त्यसमा दुईओटा स्क्रिन थियो । 

२४ फेब्रुअरीमा हुवावेले पनि फोल्डेबल फोन सार्वजनिक गर्ने अनुमान छ । साओमीका संस्थापकले हाल चिनियाँ सामाजिक सञ्जालमा ग्यालेक्सी फोल्डजस्तै एक ट्याब्लेटको तस्वीर पोस्ट गरेका थिए । तर, यो ग्यालेक्सी फोल्डजसरी बीचबाट दुई भागमा नमोडिएर दुईतिर तीनभागमा मोडिन्छ । यो पनि अब छिटै सार्वजनिक हुने अपेक्षा छ । 

के सामसुङले साँच्चै भविष्य बदल्न सक्ला त ? 

सन् २०१३ देखि नै सामसुङले मोडिने अथवा फोल्ड हुने स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीका अध्यक्ष स्टिफन वूले सन् २०१३ मा सीएसईमा वाईओयूएम डिस्प्लेको बारेमा जानकारी दिएका थिए । त्यस बेला दुई किसिमका स्क्रिन मोडिने फोन कम्पनीले ल्याउने भएको थियो । 

कम्पनीले त्यी वर्ष ग्यालेक्सी कभ्र्ड नामक फोन पनि दक्षिण कोरियाका बजारमा सार्वजनिक गरेको थियो । त्यसपछि सन् २०१४ मा नोट एज सार्वजनिक भयो । 
तर, सन् २०१५ मा ग्लेक्सी एस६ एजपछि कम्पनीले कर्भ स्क्रिनको मैदानमा आफूलाई अब्बल सावित गर्न समर्थ भयो । त्यसपछि हाल कम्पनीले स्क्रिन पूरा मोडिने फोन सार्वजनिक गरेको छ । 

यसरी सामसुङ ग्यालेक्सी फोल्ड स्मार्टफोनका साथ सामसुङले आफूलाई एक उदाहरणको रूपमा विश्वसामु प्रस्तुत गरेको छ । 

स्मार्टफोनको बजारमा अनुसन्धान गर्ने रिसर्च कम्पनी स्ट्राटेजी एनालिटिक्सका नील मोस्टन भन्दछन्, ‘फोल्ड हुने फोन महँगो हुन्छ र यसको प्रमुख कारण ठूलो स्क्रिन र सानोको डिजाइनको लागि धेरै कुरा फिट गर्नुपर्ने हुन्छ, तर उपभोक्तालाई यो फोन कसरी चलाउने भन्ने बारे केही पनि थाहा छैन र यसको लागि एपमा परिवर्तन ल्याउनु पनि त्यतिकै आवश्यक छ ।’

उनले भने, ‘पहिला पनि फोल्डेबल फोन धेरै बुक भएको छैन, त्यसैले अहिले नै केही भनिहाल्न सम्भव छैन ।’
बीबीसीका प्रविधि संवाददाता डेब ली भन्दछन्, ‘यो फोन साँच्चै उत्कृष्ट छ, तर यसको मूल्य धेरै छ, फोन सार्वजनिक भएको समयमा जेजस्तो उत्साह देखिएको छ, मलाई लाग्छ, यसबाट धेरै आशा गर्नु उचित होइन ।’

बीबीसीबाट भावानुवाद 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै