• २०८१ बैशाख ७ शुक्रबार

नेताहरुका अगुवा बन्दै धुर्मुस सुन्तली

kharibot

विसं २००७ सालदेखि बीपी कोइरालाले सुरु गरेको समाजवादी आन्दोलन होस् या पुप्पलाल, मदन भण्डारी हुँदै पछिल्लो चरणमा पुष्पकमल, बाबुराम भट्टराईले सुरु गरेको साम्यवादी आन्दोलन, लक्ष्य एउटै थियो, समृद्ध मुलुक र नागरिकको जीवनस्तर सुदृढ गराउने । 

मुलुक र नागरिकको जीवन सहज र सम्पन्न बनाउने लक्ष्यमा शाही शासक नै भए पनि महेन्द्र तथा वीरेन्द्रको योगदानलाई समेत कम आँक्न मिल्दैन । तर, समय भन्नु वा नियतिको खेल बीपी र पुष्पलाल आफ्नो जीवनकालमा आफ्नो सपनाले कुनै पनि मुर्तरुप लिन नपाई परलोक भए, मदन भण्डारी र राजा वीरेन्द्रलाई उनीहरुको सपनाले साकार रुप लिन नपाउँदै षड्यन्त्रपूर्वक ढंगले मारियो । पछिल्लो साम्यवादी आन्दोलनका अगुवा पुष्पकमल र बाबुराम हजारौं जनताको बलिदानीलाई सत्ताप्राप्तिको भर्याङ बनाएर व्यक्तिगत रुपमै भए पनि समृद्ध जीवन बाँचिरहेका छन् ।

हुन त बीपी, पुष्पलाल, मदन भण्डारी, महेन्द्र र वीरेन्द्रका अनुयायी अहिले पनि छन् । यिनीहरुलाई नै आदर्श मान्दै अहिले पनि राजनीतिको व्यापार चलिरहेकै छ । तर, उनीहरुलाई आदर्श मान्नेहरु जनतामा भ्रम छर्दै आफ्नो राजनीतिक व्यापार चलाउने र व्यक्तिगत स्वार्थ पूरा गर्नमै व्यस्त छन् । बीपी, पुष्पलाल, मदन भण्डारी, राजा महेन्द्र र वीरेन्द्रले देखेको समृद्ध नेपाल र सम्पन्न नागरिकको सपना मृतप्रायः बनेको छ । बाँकी छन् त खोक्रा आश्वासन, जर्जर मुलुक, अभाव र दुःखमा पिल्सिएका नेपाली जनता । 

लेखक : बिशाल पाण्डे 

हामी सिद्धान्ततः सात दशकदेखि समृद्धि र सम्पन्नताका कुरा गरिरहेका छौँ, सपनामा समाजवाददेखि साम्यवाद पनि ल्याइसक्यौं तर व्यवहारमा रु अहिले पनि सात दशक पहिलेकै अवस्थामा छाँै । समृद्धि र सम्पन्नताको आश्वासन सुन्दासुन्दै एउटा पुस्ताको पूरै जीवन सकिसकेको छ, अर्को पुस्ता त्यही प्रवृत्तिको शिकार हुँदै पलायन हुन बाध्य बनिरहेको छ । तर, हाम्रो राजनीतिक नेतृत्वलाई सात दशक पुरानो उधारो सपना बाँड्ने प्रवृत्तिले अहिले पनि छोडेको छैन । तर, सधैंभर उधारो आश्वासनले मात्र राजनीतिक व्यापार चल्ने अवस्था कम्तीमा पनि अब छैन । मुलुकको विकास र समृद्धिको लागि धेरै ढिला भइसकेको छ । र, जनताको मुहारमा खुशी ल्याउँदै मुलुकको समृद्धिमा इँट्टा थप्नका लागि अमुक सिद्धान्तको पछि लाग्नु पर्दैन भन्ने कुरा एउटा व्यक्तिको प्रयासबाट सुरु भइसकेको छ । 

भूकम्प जस्तो प्राकृतिक विपत्तिको चपेटामा परेका नागरिकलाई अढाई वर्षभन्दा बढी हुँदा समेत सिद्धान्तबाट निर्दे्शित दल र उनीहरुले नेतृत्व गरेको राज्यले एउटा सानो बस्ती व्यवस्थापनसमेत गर्न नसक्दा एउटा व्यक्तिले सुरु गरेको अभियानले एक वर्ष्भित्रमा तीन-तीनवटा बस्ती निर्माण भएका छन् । राज्यले मुलुक चिनाउन नसकिरहेको बेला एउटा व्यक्तिको प्रयासले सम्पूर्ण मुलुकलाई एउटै स्थानबाट चिनाउने ठूलो परियोजना विकासको अभियानको थालनी भएको छ ।

राज्यले मुलुक चिनाउन नसकिरहेको बेला एउटा व्यक्तिको प्रयासले सम्पूर्ण मुलुकलाई एउटै स्थानबाट चिनाउने ठूलो परियोजना विकासको अभियानको थालनी भएको छ ।

बाढीको चपेटामा परेको तराई क्षेत्रमा राज्य नपुग्दै राहतसहित नागरिकमा आशाको दियो बोकेर एक जना व्यक्ति पुग्छ । व्यक्तिगत फाइदाका लागि सबै सिद्धान्तलाई बेच्ने सामाजिक परिवेशका अगाडि खाइपाइ आएको पेशालाई छाडेर एउटा व्यक्ति जनताको सेवामा खटिरहेको छ । राजनीतिका आडमा हिमाल, पहाड, तराई, जात, धर्म र भूगोलकाबीचमा खाडल बनाइरहेका कथित राजनीतिक व्यापारीका बीचमा सबै क्षेत्रलाई जोड्ने पुल बनिरहेको छ । सिद्धान्तको व्यापार हुने मुुलुकमा एउटा व्यक्तिको प्रयासले ठूलो उपलब्धि भइरहेको छ ।

हरेक क्षेत्रमा देखिएको निराशालाई चिर्दै आशाको दियो बाल्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को अभियानको जति धेरै प्रशंसा गरे पनि कमी हुन्छ । आज सीताराम मुलुकको आशा, भरोसा र मियो बन्न सफल भइरहेका छन् । उनकै सिको गर्दै नागरिकस्तरबाटै समेत आफ्नो गच्छेअनुसार सामाजिक सेवा गर्ने अभियानले गति लिन थालेको छ । उनले सुरु गरेको अभियानलाई सम्भवतः तीन करोड नेपालीकै साथ मिलिरहेको छ, अपवादबाहेक ।

भलै यो एउटा सुरुवाती चरण छ, तर सीतारामले सुरु गरेको यो अभियानले हिजो बीपी, पुष्पलाल, मदन भण्डारी, राजा महेन्द्र र वीरेन्द्रले देखेको सपनाले मूर्तरुप धारणा गरेको छ । भलै उनी कुनै राजनीतिक सिद्धान्तबाट निर्दे्शित छैनन् । आज मुलुक र जनताले देखिने गरी सकारात्मक परिवर्तनको आभास गरिरहेका छन् ।

के सीताराम र कुञ्जनाले सुरु गरेको समाजसेवाको यो अभियानले राजनीति गर्नेहरुलाई छोएको छ रु यदि राजनीति गर्नेहरु साँच्चिकै इमानदार छन् र उनीहरु आफ्ना आदर्श नेतालाई विश्वास गर्छन् भने धुर्मुस सुन्तलीले सुरु गरेको यो अभियानमा हातेमालो गर्दै समग्र नेपालको विकास र जनतालाई समृद्ध बनाउने अभियानमा साथ दिन आवश्यक छ । किनभने हिजो जुन किसिमको सपना बीपी, पुष्पलाल, मदन भण्डारी, महेन्द्र र वीरेन्द्रले देखे, त्यही कुरालाई व्यवहारमा उतार्ने काम धुर्मुस सुन्तलीले गरिरहेका छन् ।

हिजो जुन किसिमको सपना बीपी, पुष्पलाल, मदन भण्डारी, महेन्द्र र वीरेन्द्रले देखे, त्यही कुरालाई व्यवहारमा उतार्ने काम धुर्मुस सुन्तलीले गरिरहेका छन् ।

यो एउटा व्यक्तिको मात्र नभएर समग्र नेपालीको चाहना हो । जसलाई निरन्तरता दिन सकेमात्र हिजो हाम्रा अग्रजले देखेको सपना पूरा हुनसक्छ । त्यसका लागि आवश्यकता छ त केवल तपाईं हाम्रो साथको । त्यसका लागि हामी सबै एकजुट बनौँ र धुर्मुस सुन्तलीको यो अभियानमा होस्टेमा हैंसे गरौं । सबै राजनीतिक दलहरुका बिकासवादी चिन्तनलाइ धुर्मुस सुन्तलीले कार्यान्वयन गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै