• २०८१ बैशाख १३ बिहीबार

नेकपा बैठक : कार्यदलको म्याद थप्ने विषयमा विवाद 

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीको सांगठनिक एकताका लागि गठित कार्यदलको समय थप्ने विषयमा विवाद भएको छ । 

पार्टी एकता अझैसम्म टुंगोमा पुर्या्उन नसकिएकाले कार्यदलको समय एक हप्ता थप गर्न त्यसका संयोजकसमेत रहेका गृहमन्त्री  रामबहादुर थापाले प्रस्ताव पेश गरेका छन् ।   

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक थापाले अहिलेसम्म कार्यदलले गरेको प्रगति प्रतिवेदन बुझाउँदै अब बाँकी काम सम्पन्न गर्न एक साताको समय थप गर्न प्रस्ताव गरेका छन् ।

कार्यदलाई सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको भए पनि ढिलाई भएकाले कार्यदल विघटन गर्नेकी भन्ने प्रस्ताव पनि बैठकमा आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव ल्याउनु भए पनि अधिकांशले विघटन नभई एकताको काम टुंग्याउने गरी कार्यदलको म्याद थप्नुपर्ने पक्षमा छन् । 

प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा छन् । तर कार्यदलका अधिकांश सदस्यले आफूहरुलाई काम गर्न नदिएकाले समयमा काम नसकिएको धारणा राखेका थिए ।

जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको औपचारिक एकता हुँदा पार्टी एकीकरणको काम तीन महिनाभित्रै सक्ने घोषणा गरिएको थियो । तर पार्टी एकता घोषणा गरिएको ९ महिना बितिसक्दा समेत पार्टी एकताको कामले पूर्णता पाउन सकेको छैन ।  

बैठकमा संयोजक थापासहित कार्यदलका सबै सदस्यले बाँकी काम सम्पन्न गर्नका लागि केही समय आवश्यक पर्ने भन्दै समय थप्न सचिवालयसँग माग गरेको कार्यदल सदस्य योगेश भट्टराईले जानकारी दिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदन सँगै सबै सदस्यहरुबीच छलफल भए पनि कार्यदललाई म्याद थप गर्ने निर्णय भैनसककेकाले शुक्रबार पुन बैठक बस्ने जानकारी दिए ।

गृहमन्त्रीसमेत रहेका थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै