• २०८१ बैशाख १३ बिहीबार

तनाव हुँदा जे पनि निल्ने व्यक्ति, पेटमा भेटियो २ केजीको ढुंगा, सिक्का र बोतलका बिर्को

kharibot

तस्बिर: अमेरिकन जोर्नल अफ मेडिकल केस रिपोर्टस्

काठमाडौँ । अत्यधिक मात्रामा पेट दुखेपछि अस्पताल भर्ना भएका एक दक्षिण कोरियाली व्यक्तिको पेटबाट डाक्टरहरूले करिब २ किलो बराबरको ढुंगा, बोतलका बिर्को र सिक्का निकालेका छन् । डाक्टरहरूले थुप्रै परिक्षण र स्क्यान गरेपछि व्यक्तिको पूरै पेटभित्र केही बाहिरी चीजको थुप्रो रहेको पत्ता लगाएका थिए ।

सुरुमा डाक्टरहरूले लामो समयको क्रममा निलिएका वस्तुहरू पेटमा जम्मा भएको हुनसक्ने अनुमार गरेका थिए । तर पछि उक्त मानिससँग सोधपुछ गर्दा उनले मानसिक तनाव भगाउनका लागि नियमित रुपमा ढुंगा र सिक्काहरू निल्ने गरेको पत्ता लागेको थियो । ती व्यक्तिले मानसिक तनावका लागि औषधि लिने गरेको भए पनि आफूले मनको चिन्ता भगाउन त्यस्ता वस्तुहरू निल्ने गरेको बताएका थिए । उत्तर कोरियासँगको सिमा नजिक रहेको गोयांग सहरमा बस्ने भनिएको उक्त व्यक्ति जन्मजातै मानसिक अपांग रहेको बताइएको छ ।

सुरुमा पेट भित्रका वस्तु निकाल्न व्यक्तिको मुखबाट एउटा पातलो ट्युब पेटसम्म पुर्याईएको भए पनि त्यहाँ ठूलो मात्रामा ढुंगा र सिक्काहरू थुप्रिएकाले डाक्टरहरू यो विधिबाट ती वस्तु निकाल्न असफल भएका थिए । त्यसपछि सर्जरीका माध्यमबाट एक-एक वटा गरी ती वस्तु बाहिर निकालिएको थियो । उक्त व्यक्तिको मानसिक अवस्थाको कारणले कहिलेदेखि ती वस्तुहरू उनको पेटभित्र रहेका थिए भन्नेबारे केही पत्ता लागेको छैन । उनलाई यसबारे प्रश्न गर्दा यो आफ्नो पुरानो बानी भएको बताएका थिए । डाक्टरहरूकाअनुसार प्राय: केटाकेटीहरूमा मात्र पेटभित्र ढुंगा वा सिक्का जस्ता बस्तु भेटिने गर्दछ जुन उनीहरूले दुर्घटनावश निल्ने गर्दछन् । तर वयस्कहरूको पेटभित्र पाइने बाहिरी वस्तुहरूमा माछा-मासुका हड्डी हुने गर्दछन् ।

दक्षिण कोरियामा भएको यस घटनालाई चिकित्सकहरूले अत्यन्त अनौठो भनेका छन् भने उक्त मानिसको उपचारमा संलग्न डा. प्योंग वाह चोइले यसबारेमा ‘अमेरिकन जोर्नल अफ मेडिकल केस रिपोर्टस’ मा पनि एक अनुसन्धान रिपोर्ट प्रकाशित गरेका छन् । अहिले ती मानिसलाई अस्पतालबाट डिसचार्ज गरिसकिएको बताइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै