काठमाडौँ । पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दर्सले मुल्तान सुल्तानलाई पराजित गरेको छ ।
मुल्तानले दिएको २०१ रनको लक्ष्य पछाएको लाहोरले २० ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
लाहोरको जितमा फकर जमानले ६३ रन बनाए भने कप्तान एबी डिभीलियर्सले अविजित ५२ रन बनाए । त्यस्तै डेभिड वाइजले अविजित ४५ रन बनाएका थिए ।
यसअघि मुल्तानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै २०० रन बनाएको थियो ।
सन्दीपले लिए ३ महत्वपूर्ण विकेट :
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा डेभ्यु गर्दै ३ महत्वपूर्ण विकेट लिएका छन् । पीएसएलमा सन्दीप लाहोर कलान्दर्सबाट मुल्तान सुल्तानविरुद्ध खेल्दै तीन विकेट लिएका हुन् ।
सन्दीपले ४१ बलमा ८४ रन बनाएका मुल्तानका जेम्स भिन्च र मुल्तानका कप्तान शोएब मल्लिकलाई निजी १० रनमा आउट गरेका थिए । त्यस्तै सन्दीपले आन्द्रे रशेललाई ७ निजी रनमा आउट गरेका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिएका हुन् ।
यो सहित लाहोरले ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ ।
लाहोरमा दक्षिण अफ्रिकी विष्फोटक ब्याट्सम्यान एबी डेभिलियर्स कप्तान रहेका छन् । यस टिममा सन्दीपसहित मोहमद हाफीज, कार्लोस ब्रेथवेट, कोरी एन्डरसन जस्ता चर्चित खेलाडी सामेल रहेका छन् ।
इस्लामावाद युनाइटेड, कराची किंग्स, पेशावर जाल्मी, क्वेटा ग्लाड़ीयटर्स, लाहोर कलान्दर्स र मुल्तान सुल्तान रहेका छन्।
सन्दीपले अस्ट्रेलियन बिग बास लिगमा मेलवर्न स्टार्सबाट खेल्दै उपविजेता हुदै पिएसएल खेल्न युएई पुगेका हुन् । सन्दीपले बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ११ विकेट लिएका थिए ।
सन्दीप गएको बर्ष आइपिएल खेलेपछि ग्लोबल टी-२० लिग क्यानाडा, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टी-१० लिग, बंगलादेश प्रिमियर लिग, बिग बास लिग हुदै पाकिस्तान सुपर लिग खेल्न लागेका छन् ।
पिएसएलपछि सन्दीप संभवत मार्चको २३ बाट सुरु हुने आइपिएल खेल्न भारत आउने छन् । पिएसएलका समुह चरणका खेल मार्च १० मा सकिने छन् भने फाइनल खेल मार्च १७ मा हुने छ ।