काठमाडौँ । फ्रान्सका युवा फुटबल खेलाडी किलीयन एम्बाप्पेले फ्रेन्च लिगमा ३७ बर्ष पुरानो रेकर्डलाई तोडेका छन् ।
गएराती पिएसजीको निमेसविरुद्धको खेलमा २ गोल गर्दै एम्बाप्पेले लिगमा आफ्नो ५० गोल पुरा गरेका छन् । एम्बाप्पेले लिगमा कुल ८८ खेलमा ५१ गोल गर्दै सबैभन्दा कम उमेरमा ५० गोल गर्ने खेलाडी बनेका छन् । एम्बाप्पेले २० बर्ष २ महिना ३ दिनमा यो रेकर्ड बनाएका हुन् ।
यस अघि यो रेकर्ड यान्निक स्टोप्याराको नाममा रहेको थियो । उनले २१ बर्ष ११ महिना ९ दिनमा ३७ बर्ष अघि सन् १९८२ मा सोचाउक्सबाट खेल्दै लिग वानमा आफ्नो ५० गोल पुरा गर्दै यो रेकर्ड बनाएका थिए ।
एम्बाप्पे लिग वानमा यस सिजनमा २२ गोल गर्दै धेरै गोल गर्ने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका छन् । उनी पिएसजीकै अर्का खेलाडी एडिसन कभानी भन्दा ५ गोल बढी गर्दै शिर्ष स्थानमा रहेका छन् ।
एम्बाप्पेको नाममा फ्रान्सको लागि कम उमेरमा विश्वकपमा गोल गर्ने रेकर्ड समेत रहेको छ भने पेले पछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडीको रुपमा पनि उनको रेकर्ड रहेको छ । उनले गत बर्ष सम्पन्न विश्वकप फाइनलमा क्रोसियाविरुद्ध गोल गर्दै सो रेकर्ड बनाएका थिए ।