• २०८१ बैशाख ६ बिहीबार

भिडियो च्यालेन्ज अभियानमा स्थानीय सरकारको चासो, प्रचार प्रसार तिब्र

kharibot

काठमाडौं  । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग गर्ने उद्धेश्यका साथ देशका नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज अभियानको प्रचार प्रसार तिब्रगतिमा भइरहेको छ । 

वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले घोषणा गरेको ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो च्यालेन्जबारे पहिलो चरणमा काठमाडौँ, हेटौडा, भरतपुर, बुटवल नेपालगंज र दाङमा र दोस्रो चरणमा वीरगंज, जनकपुर, इटहरी, विराटनगर, झापा, पोखरा र तनहुँमा सम्पन्न पत्रकार सम्मेलनसहितको कार्यक्रमपछि विभिन्न व्यक्तिहरुले आफ्नो सुझावसहित कार्यक्रमको प्रशंसा गरेका छन् ।

दुई चरणमा देशका विभिन्न ठाउमा गरिएको अन्तरक्रिया पछि प्रदेश र स्थानीय सरकारहरुले पनि यस कार्यक्रमलाई चासो दिएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला कानुनमन्त्री तथा प्रवक्ता हिक्मतबहादुर कार्कीले यो अभियानमा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्कीले प्रदेश सरकारको पर्यटन प्रवर्धन गर्ने काममा पनि यस अभियानले सहयोग पुग्ने भन्दै यसमा कुनै न कुनै किसिमबाट प्रदेश सरकारको सहभागिता रहने बताएका छन् ।

त्यस्तै प्रदेश नम्बर ४ का उद्योग पार्टन, बन तथा वातावारणमन्त्री विकास लम्सालले यस अभियानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फाउन्डेसनका पदाधिकारीसँगको भेटमा मन्त्री लम्सालले यस्तो कार्यक्रम प्रदेश सरकारले पनि गर्न खोजेको बताउदै यसले स्थानीय ठाउको प्रवर्धन गर्न ठुलो सहयोग हुने बताए । यस अभियानलाई प्रदेश सरकारले पनि प्रचार प्रसार गर्ने भन्दै यसमा प्रदेश सरकारको सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले अभियानलाई पूर्ण साथ् दिने भन्दै यस अभियानले स्थानीय पर्यटन विकास हुन ठुलो सहयोग पुग्ने बताएकी छन् ।

त्यस्तै यस अभियानमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पनि चासो व्यक्त गर्दै प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सम्पूर्ण पत्रकारहरुले यस अभियानलाई सहयोग गर्ने भन्दै स्थनीय तहका ठाउलाई चिनाउन सुरु गरिएको यो अभियान सरकारले गर्ने काम फाउन्डेसनले गर्न लागेकोमा सफलताको शुभकामना दिएका छन् ।

त्यस्तै विराटनगरका वरिष्ठ पत्रकार लिला बरालले अभियानको प्रसंसा गर्दै यस अभियानमा हुने खर्चको पारदर्शिता र स्रोत खुलाएर कार्यक्रम सम्पन्न गर्न सुझाव दिएका छन् । आफुसँग क्षमता र साधनस्रोत हुनेले यस अभियानमा सहभागी भएर सदुपयोग गर्न सकिने विचार व्यक्त गरेका छन् । 

नेपाल पत्रकार महासंघ जनकपुर शाखाका अध्यक्ष अनिल मिश्रले यो अभियान जनकपुर र काठमाडौँलाई जोड्ने अभियान भएकाले यसलाई स्थानीय तहबाटै सहयोग गर्नुपर्ने धारणा राखेका थिए उनले अभियानलाई समावेशी बनाउन सुझाव दिदै तराइका प्रभुद्धव्यक्तिहरुलाई पनि अभियानसँग जोड्न सुझाव दिएका थिए  

फाउन्डेसनले मिडियाकर्मी र अन्य व्यक्तिहरुको सुझावलाई मनन गर्दै यस अभियानलाई अगाडी बढाउने तयारी गरेको निर्देशक निर्मल श्रेष्ठले बताएका छन् । अहिलेसम्म आएको सुझावमा प्रदेशस्तरीय भिडियो छनौट गर्नुपर्ने भन्ने आएको र यसको विषयमा आफुहरुले तयारी गरिरहेको जानकारी श्रेष्ठले दिएका छन् ।

काठमाडौँसहित देशको पश्चिम क्षेत्रमा गरिएको कार्यक्रमहरुमा मिडियाकर्मीदेखि सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको बताउदै श्रेष्ठले मिडियाकर्मी, भिडियोमा काम गर्नेहरुलाई यस च्यालेन्जमा भाग लिन आफुहरुले प्रोत्साहित गरिरहेको बताए ।

फाउन्डेसनले कार्यक्रममा मिडियाकर्मीका अलावा यस च्यालेन्जमा भाग लिन इच्छुक सबैलाई भाग लिन आव्हान गरेको छ । 

भिडियो संकलनका निम्ति फाउन्डेसनले ‘जब चिनिने छ तपाईको गाउँठाउँ तब खुल्ने छ तपाईको आफ्नै पहिचान, मौका यही हो आफ्नो गाउँठाउँ संसारभर चिनाउने, मेरो गाउँ मेरो ठाउँ’ भन्ने नारालाई समाजका प्रतिष्ठित व्यक्तिबाट प्रचार गरिरहेको छ ।

अहिलेसम्म सिनेमा, खेलकुद, सरकारका विशिष्ट व्यक्तिहरु र समाजका अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरुले यस अभियानको प्रचारमा सहयोग गर्दै आफ्नो भिडियो संदेश दिएका छन् । 

नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वरिष्ठ कलकार हरिबंश आचार्य, कलाकार निर्मल शर्मा, अभिनेत्री स्वेता खड्का, क्रिकेटर सोमपाल कामी, तेक्वान्दो खेलाडी दीपक विष्ट, मिस नेपाल शृंखला खतिवडा, क्याप्टेन विजय लामा, रेडियोकर्मी तथा निर्देशक दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, दीपक राज गिरी, अभिनेता भुवन केसी, कोमल ओली, जितु नेपाल, विभिन्न प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, कलाकार, खेलाडी र अन्य विभिन्न पेशामा लागेका हरु अहिलेसम्म अभियानको प्रचारमा आफ्नो भिडियो संदेश जारी गरेका छन् । त्यस्तै यस अभियानमा समाजका प्रभुत्व व्यक्तित्वहरु पनि जोडिने कर्म जारी रहेको छ ।

कुनै अभियानका लागि समाजका विभिन्न क्षेत्रका यति धेरै प्रतिष्ठित व्यक्तिहरु एक ठाउमा आएको यो पहिलो पटक देखिएको छ । यस अभियानमा समाजका अझै प्रतिष्ठित व्यक्तिहरु जोडिदै जाने फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउछन् ।

ओझेलमा परेका गन्तव्यको प्रवर्धन प्रमुख उद्धेश्य :

देशैभरबाट प्रचारमा नआएका, नयाँ र ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउछन् ।

‘पर्यटकीय क्षेत्रको सम्भावना भएर पनि अगाडि आउन नसकेका विषय, कुनै जात, जातीको पहिचान, संस्कृति वा स्थान विशेषका गतिविधिको प्रवर्द्धन गर्न फाउन्डेसनले देशैभरबाट पाँच मिनेटसम्मको भिडियो संकलन गर्नेछ’, श्रेष्ठले भने। यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ। व्यावसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउन सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउने छन्। स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउन्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ।

चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ। 

उनले भने, ‘यस्तो भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत बाहिर ल्याउन सकिनेछ। यसरी बनाइएका भिडियो आफ्नै गाउँ ठाउँको सम्पत्ति हुने भएकाले आवश्यक प्रवर्द्धनात्मक गतिविधिमा प्रयोग गर्न सकिन्छ।’

यस्तो छ भिडियो च्यालेन्ज अभियान :

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ।

दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ। यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ । साथै खरीबोट डट कम पनि यस अभियानको मिडिया सहयोगी रहेको छ l 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै