• २०८१ बैशाख ६ बिहीबार

प्रदेश ५ को राजधानी प्यूठान बनाउन माग

kharibot

प्यूठान ।जिल्लाका सरोकारवालाले प्रदेश ५ को राजधानी बुटवल वा दाङ हुन नहुने सुझाव दिएका छन् । 

प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आज सरोकारवालाले प्रदेश राजधानी बुटवल वा दाङ हुन नसक्ने बताएका छन् ।  यस प्रदेशका १२ जिल्लामध्ये प्यूठान सबैभन्दा पायक पर्ने ठाउँ भएकाले प्यूठानलाई पनि समेटी राजधानी बनाउन माग गरिएको हो । 

स्थायी राजधानी बुटवल, तुल्सीपुर र घोराही राजधानी बन्ने चर्चा चलिरहेका बेला प्यूठानवासीले यी तीन वटै ठाउँलाई अस्वीकार गरेका हुन् । प्रस्तावित ठाउँ विकसित भइसकेकाले नयाँ ठाउँलाई प्रदेश राजधानी बनाएर उक्त ठाउँको विकास गर्न प्रदेश सरकारले नयाँ रणनीति बनाउन जरुरी रहेको सरोकारवालाको माग थियो । 

भारत र चीनको नजीक भएका क्षेत्रमा राजधानी बनाउन नहुने यहाँका बासिन्दाको तर्क छ । प्रदेशसभा विशेष समितिले आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीले नयाँ ठाउँमा राजधानी बनाउन सुझाव दिएका हुन् । 

सहभागीले प्रदेशको स्थायी राजधानी बनाउँदा प्यूठानको सरुमारानी गाउँपालिकासँगै दाङको राप्ती र गडवा गाउँपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाका क्षेत्रलाई समेटी राजधानी बनाउनसमेत सुझाव दिएका हुन् । 

राजधानी नामकरणमा समेत सुझाव दिँदै प्यूठानको प्रमुख पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी जोडेर नामकरण गर्न जिल्लावासीले आग्रह गरेका छन् । सो कार्यक्रममा प्रदेशसभा सदस्य, जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत नागरिक समाजको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै