• २०८१ बैशाख ५ बुधबार

नेताका दु:ख : मोदीको ‘खुट्टा धुवाई’

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशको प्रयागराजमा ५ सफाइकर्मीको खुट्टा आफैले धोएको विषय अहिले निकै चर्चामा रहेको छ । भारत जस्तो ठुलो प्रजातन्त्र भएको देशका कार्यकारी प्रधानमन्त्रीले सामान्य सरसफाई गर्ने कमर्चारीको खुट्टा धोएको र कपडाले उनीहरुको खुट्टा पुछेको विषय टेलिभिजनको दृश्यमा हेर्ने जो कोहि पनि भावुक बन्ने सिन थियो त्यो । 

उनीहरुले कुम्भ मेलामा सरफाईको काम गरेर विशेष योगदान गरेको भन्दै मोदीले उनीहरुको खुट्टा धोएर दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उनले आफैले चलाएको स्वच्छता अभियानलाई समेत सहयोग पुर्याएको भन्दै मोदीले सम्मान गरे ।

सीधा हिसाबमा मोदीको यो काम प्रसंशनीय छ । यति ठुलो देशको प्रधानमन्त्रीले सामान्य मानिसको यसरी सम्मान गर्नु अलिकति नयाँ र अचम्म लाग्दो नै हो । हामी छिमेकी देश भएकाले यसको प्रभाव र चर्चा नेपालमा पनि देखिएको छ ।

नेपालमा पनि चुनावका बेला यस्ता चर्चित केहि घटना भएका थिए । काठमाडौँको बानेश्वरमा काँग्रेसका युवा नेताहरुले गरेको जुत्ता पोलिस, उम्मेदवारले किसानको खेतमा गएर धन काटेको, हलो जोतेको जस्ता चर्चित घटना भएका थिए ।  

तर मोदीले सफाई कर्मचारीको खुट्टा धुदा यसमा राजनीतिक प्रोपोगाण्डासँग जोडेर पनि हेर्न थालिएको छ । यसमा कति सत्यता छ त्यो त समयक्रममा खुल्दै जाला । तर यसको सानो पृष्ठभुमिका बारेमा भने सजिलै अनुमान र चर्चा गर्न सकिन्छ । मोदी अहिले आफ्नो ५ बर्षे कार्यकाल पुरा गरेर अब चुनावको संघारमा रहेका छन् । चर्को राष्ट्रवादको लहरमा सत्तामा आएका मोदीले लोकप्रिय नारा दिएर चुनावमा भारतीय काँग्रेसले नेतृत्व गरेको तत्कालिन सत्तारुढ गठबन्धनलाई अत्याधिक मतले पराजित गरेर सत्तामा आएका थिए । गुजरातको मुख्यमन्त्रीबाट पहिलो पटक संघीय संसदको सांसद बनेर सिधै प्रधानमन्त्रीको कुर्सिमा पुगेका मोदीले दिएका लोकप्रिय नारा अहिले पनि पुरा गर्न नसकेको आरप खेपिरहेका छन् ।

त्यति बेला आन्दोलनको रुपमा रहेको विदेशमा रहेको कालोधन स्वदेशमा ल्याउने र सबैको खातामा १५ लाख राखिदिने जस्ता विवादस्पद विषय चुनावी घोषणा समावेश थिए । त्यो बाहेक किसानको ऋण माफ गरिदिने, रोजगारको अवसर सिर्जना गर्ने जस्ता कैयौ घोषणाहरु अझै पुरा नगरेको आरोप मोदीले अहिले खेपिरहेका छन् । जसको असर स्वरूप हालै तीन राज्य राजस्थान, मध्यप्रदेश र छात्तिसगढ़मा सम्पन्न निर्वाचनमा उनको पार्टीले सत्ता गुमाएको थियो । अब भारतमा सम्भवत अप्रिलमा संसदीय आम निर्वाचन हुदै छ । यसैको पुर्व सन्ध्यामा मोदी आइतबार सफाई कर्मचारीको खुट्टा धुदै गरेको पाइए ।

यस्ता हत्कण्डा राजनीतिक नेतृत्वहरुले हामी कँहा पनि पटक पटक गरिरहेको पाइन्छ । नेपालमा गतबर्ष सम्पन्न चुनावका बेला कुनै उम्मेदवारले हलो जोतेको, भारी बोकेको, जुत्ता पालिस गरेको जस्ता दृश्य देखेकै हो । निर्वाचनको बेला जे पनि गर्न अगाडी सर्ने र निर्वाचन पछि फर्केर नहेर्ने राजनीतिक नेतृत्व नेपाल, भारत मात्र होइन संसार भर नै उस्तै देखिन्छ ।

हामी पनि संबिधान जारी भएपछि अहिले निर्वाचनबाट आएको लगभग दुइतिहाई बहुमतको सरकार एक बर्ष भोगेका छौ । तर सांकेतिक रुपमा मोदीले निर्वाचनको संघारमा सफाई कर्मचारीको खुट्टा धोएजस्तो हाम्रो देशको नेतृत्व अहिले विस्तारै जनताबाट टाढा हुदै गरेको देखिएको छ । चुनावका बेला गरिएका प्रतिबद्धता, आफ्नै घोषणा पत्र ५ बर्षका लागि थन्काइएको छ । जनतामा निराशा बढेको छ । सामान्य जनताको जीवनस्तर झन् कठिन हुदै छ तर सरकार एक पछि अर्को काण्ड र प्रकरणमा फस्दै गएको देखिन्छ । सरकार र नेतृत्व आफ्नो आँखाबाट विकास र समृद्धि मात्र देख्छ तर जनताले न त त्यो देखेका छन् न त अनुभूति नै गरेका छन् । यस्तो अवस्था नेपालमा मात्र होइन, लोकप्रिय नारा दिएर चुनाव जितेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, राष्ट्रवादको लहरबाट सत्तामा पुगेका फ्रान्सका राष्ट्रपति म्याक्रोन, भारतका नरेन्द्र मोदी सबैको कथा व्यथा उस्तै देखिन्छ । सबैको लोकप्रिय नारा र राष्ट्रवादको चर्को अवाज सत्ता प्राप्ति पछि विस्तारै सेलाउदै गएको र धेरैले विर्सेको देखिन्छ ।

त्यसैले मोदीको सफाई कर्मचारीको खुट्टा धुने प्रकरणलाई अर्को अर्थ लगाउने हो भने यो चुनावी प्रोपोगाण्डा हो भन्दा अन्यथा हुदैन । आफु सत्तामा हुन्जेल उनीहरुका समस्याको बारेमा नहेर्ने तर अब आफु अप्ठ्यारोमा पर्न लागेको देख्ने वित्तिकै जे गर्न पनि तयार हुने प्रवृतिले प्रजातन्त्र, लोकतन्त्र बलियो हुने, समृद्धि आउने भन्दा पनि व्यक्ति प्रधान हुने प्रवृति हावी हुदै जान्छ जसको एक प्रतिनिधि उदाहरण मोदी बनेका छन् । 

नेपालको सन्दर्भमा पनि सरकारका काम र प्रतिबद्धता अनि उनीहरुले गरेको कामको तालमेल हेर्दा उस्तै उस्तै देखिन्छ । सिस्टम विकास गर्ने भन्दा पनि व्यक्ति केन्द्रित प्रणाली स्थापित गर्ने तर्फ हामी र हाम्रो राजनीति केन्द्रित हुदै गएको देखिन्छ जुन लोकतन्त्रका लागि अस्वस्थ त हुदै हो, यति ठुलो आन्दोलन, बलिदान र संघर्षबाट प्राप्त उपलब्धिप्रतिको अपमान पनि हो ।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै