• २०८१ बैशाख १३ बिहीबार

मन्त्री अधिकारीको पोखरा रामघाटमा अन्त्यष्टि, किरिया ७ दिन गरिने 

kharibot

पोखरा । बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार पोखराको रामघाटस्थित सेती नदीको किनारमा गरिएको छ। रवीन्द्रको पार्थिव शरीरमा श्रीमति विद्या र छोराले दागबत्ति दिएका छन् । 

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ रामघाटमा अन्त्येष्टि गरिएको हो । 

रामघाटमा मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराहरु विराज र स्वराजले दागबत्ति दिँदै अन्तिम बिदाइ गरे । रामघाट लानुअघि अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पोखराकै प्रदर्शनी केन्द्रमा राखिएको थियो ।

मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिन मात्र गरिने भएको छ । मन्त्री अधिकारीको परिवारले १३ दिनको सट्टा सात दिनमा काजकिरिया सक्ने पारिवारका सदस्यले बताएका छन् । 

प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईलगायत पार्टीका हजारौँ कार्यकर्ताका साथै सर्वसाधारणको सहभागिता रहेको थियो । 

शव यात्रामा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो । सडकको दुवै पेटीमा उभिएका सर्वसाधारणले मन्त्री अधिकारीको शवमाथि पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शव यात्राका सहभागीले पार्टीको झुकाइएको झण्डा बोकेका छन् । आफ्ना प्रिय नेतालाई गुमाएको पीडाले सबैको अनुहार निराश र भावविव्हल देखिएको थियो । 

पोखराको प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाटमा पुगेर आजै नेता अधिकारीको अत्येष्टि गरिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै