झुक्किएर मेरो उपन्यास आइहाले कुनै आश्चर्य नमानिदिनु होला : हेमन यात्री

खरीबोट

मोरङको रमितेखोलामा जन्मिएका कवि हेमन यात्री लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका छन् । उनी आफ्ना कवितामा मौलिक सांस्कृतिक कथा, मिथक र प्राकप्रसंगसँग बढी खेल्न रुचाउँछन् । २०६९ सालमा आफ्नो पहिलो कवितासंग्रह ‘पहाड मसितै यात्रा गर्छ’ सार्वजनिक गरेपछि निकै लोकप्रियता हाँसिल गरेका उनको त्यसयता अर्को संग्रह प्रकाशनमा आएको छैन । हाल यही संग्रहको चौथो संस्करणको तयारीमा छन् उनी । प्रस्तुत छ कवि हेमन यात्रीसँग उनको लेखन र साहित्यिक यात्रामा केन्द्रित रहेर  खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


अहिले के-मा व्यस्त हुनुहुन्छ? तपाईंको पहिलो कवितासंग्रह प्रकाशित भएको पनि ६ वर्ष पूरा भयो । अब पाठकले नयाँ पुस्तक कहिले पढ्न पाउने?

मेरो पहिलो कविताको किताब निस्कन कम्तिमा पनि पन्ध्र बर्ष मेहेनत गर्नुपरेको थियो मैले । आजसम्म साहित्यिक लगानीबाट आर्जन गरेको सम्पति भनेकै यही एउटा कविताको किताब ‘पहाड मसितै यात्रा गर्छ’ न हो । २०६९ बैशाखमा छापिएको यो कविताको किताब, अरु केही नयाँ कविताहरूसहित चौथो संस्करण चाँडै नै आउँदैछ । यस बीचमा छिटफुट कविता, निबन्धहरू लेख्दै आइरहेको छु । पत्र–पत्रिकामा प्रकाशित भइरहेकै छन् ।

अहिले एउटी आमाजस्तो भएर समय बिताइरहेको छु । जीवनको चार दशक पुग्नै लाग्दा, यसको करीब आधा उमेर भने एक्लैजसो बिताएँ मैले । मनको मर्जीजस्तै थिए ती दिनहरू । पर्खालजस्तो केही कुरा थिएन, जसले मेरा पइतालाहरू रोकोस् । तर समय सधैं एकनासको हुन्छ नै कहाँ? अहिले त ४ बर्षको एउटा सानो छोरो साथी बनेको छ मेरो । भर्खर स्कुल सुरु गरेको छोरोको ‘गाइड’ भएको छु अहिले । तोतेबोलीको ध्वनि, कहिलेकाहिँ निर्दोश अनुहारमा देखापर्ने घुर्क्याइँ, दङ्ग्याइ, मुस्कान, रिस र आँशु, आह ! खासमा म यतिबेला सानो छोरामार्फत आफ्नै बालापनलाई ‘रिभिजिट’ गर्दैछु भने पनि हुन्छ । बालापन कस्तो हुन्छ? यसको जवाफ बाँचिरहेको छु म । अरु बचेको समय भने लेखिरहेको छु । पढिरहेको छु । नयाँ कविताको किताब आउन केही समय लाग्ला अझै । सायद गद्यको किताब भने चाँडै आउनसक्ने सम्भावना छ । 


तपाईं कवितामा आफ्ना मौलिक लोकबिम्ब, मिथक, थातथलो र पहिचान आदि झल्काउनुहुन्छ । पहिचान र कविताको कस्तो सम्बन्ध हुँदो रहेछ?

पहिलो कुरा नेपाली साहित्यमा पहिचानको मुद्दा मुलत: ६० को दशकमा सघन रुपले बहसमा आएको हो । यसलाई ज्यादा राजनीतिले ‘गाइड’ गरेको देखिन्छ । किनारामा पारिएका आवाजलाई राजनीतिले बोकेर केन्द्रमा ल्याएपछि जबरजस्त बहसमा आएको मुद्दा हो पहिचान । यसलाई अनेक कोणबाट बहसमा ल्याइयो । महिला, आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लीमलगायत राज्यद्वारा सीमान्तमा पारिएका जाति वा समुदायका मानिसहरूको आवाज मुखरित भएर आउन थाले । बोल्न नसक्नेहरूको आवाज कविहरूले बोलिदिए । लेखकहरूले बोलिदिए । सुझबुझ भएका बुद्धिजीवी, अधिकारकर्मीहरूले बोलिदिने नै भए । यसरी हेपिएका, थिचिएका मानिसहरूको आवाज, उनीहरूको सभ्यता, भाषा, संस्कारको मूल स्वर नै पहिचानको रुपमा ‘डिस्कभर’ भएर आएका हुन् । त्यसो त ४० को दशकमा भूपाल राईले किराँती सौन्दर्यशास्त्र, ५० को दशकमा राजन मुकारुङ, हाङ्युग अज्ञात र उपेन्द्र सुब्बाहरूले सिर्जनशील अराजकता हुँदै रङ्वाद मार्फत धर्मेन्द्र नेम्बाङ, स्वप्नील स्मृति, चन्द्रबीर तुम्बापोलगायतका लेखक/कविहरूले सीमान्तकृत समुदायका अधिकारका बारेमा लेख्दै आइरहेकै थिए । खगेन्द्र सङ्ग्रौला, सिके लाल, उज्वल प्रसाइँ, राजेन्द्र महर्जनहरूले अखबारी लेखन मार्फत किनाराकृतहरूको पक्षमा लेखिरहे, बोलिरहे । तर पहिचानलाई तत्कालीन माओवादीले आफ्नो प्रमुख राजनैतिक अजेन्डाको रुपमा अघि सारेर केन्द्रीय राजनीतिमा आएपछि मात्रै हो साहित्यिक वृत्तमा स्पष्ट रुपमा सुनिने भएर आएको हो ।

पहिलो कुरा नेपाली साहित्यमा पहिचानको मुद्दा मुलत: ६० को दशकमा सघन रुपले बहसमा आएको हो । यसलाई ज्यादा राजनीतिले ‘गाइड’ गरेको देखिन्छ । किनारामा पारिएका आवाजलाई राजनीतिले बोकेर केन्द्रमा ल्याएपछि जबरजस्त बहसमा आएको मुद्दा हो पहिचान ।

तर पहिचानलाई अधिकारसँग मात्रै जोडेर हेर्नुहुन्न भन्ने लाग्छ । सीमान्तमा पारिएको मानिसहरूलाई अधिकारसम्पन्न बनाउने कुरा भनेको प्राविधिक कुरा हो । यो सतहमा देखिने विषय हुन् । तर कैयौँ ‘अनसिन्’ विषयहरू छन् हामीसँग, जसको आन्तरिक सौन्दर्यको खोजी प्रसस्तै रुपमा भएको छ जस्तो लाग्दैन मलाई । महिलाहरू हेपिएका छन् । उनीहरूको समान अधिकार हुनैपर्छ । तर अधिकार प्राप्त गर्नु मात्रै महिला हुनुको अर्थ होइन । महिला हुनु भनेको सृष्टिको अलग सुन्दर रचना पनि हो । पुरुषभन्दा उनीहरू प्राकृतिक रुपमै अलग भएर आएका हुन्छन् । उमेरले आफ्नो शरीरमा देखिने परिवर्तनसँग उनीहरू कसरी संवाद गरिरहेका हुन्छन् ? पहिलोपटकको रजस्वाला, बढ्दै गइरहेको आफ्नै छाती, बिवाह भएर घर छोड्दै गरेको समय वा भर्खर पेटमा हुर्कंदै गरेको बच्चाको आभास, एउटा पुरुषले कहिले गर्न पाउँदैन । सक्दैन ।  महिला हुनुको बिशिष्ट पहिचान हो यो ।

हामीकहाँ अनेक जातजाती, भाषा र धर्मका मानिसहरू मिलेर बसेका छन् । हाम्रो जीवन र मृत्युको आ–आफ्नै सौन्दर्य छ । जस्तो म आफ्नै किराँती राईहरूको मृत्यु परम्पराको एउटा उदाहरण राख्छु । हाम्रो समुदायमा एउटा मानिसको मृत्युपछि मृतकको अन्तिम संस्कार गर्ने दिन नक्छुङ(झाक्री)मार्फत मृतक फेरी एकपटक आफ्नो घरमा आउँछ । र आफ्नो जिन्दगीलाई एकपटक ‘रिभिजिट’ गर्छ । जीवनभर गरेको कर्महरूका बारेमा भन्छ । सुख, दुःखका अनेक घट्नाहरू सुनाउँछ । कुनै कुराहरूले चित्त दुःखेको भए त्यो पनि सुनाउँछ । जिउँदो रहँदा केही गोप्य चीजहरू कतै राखेको भए, त्यो ठाउँ समेत देखाउँछ । आफ्ना केही इच्छाहरू भए व्यक्त गर्छ । यसरी रातभर नक्छुङ मार्फत सम्वाद गरेर बिहानपख ऊ फेरी पनि सधैंका लागि विदादा मागेर जान्छ । यसरी हामी हुनुको आफ्नै मौलिक पहिचान पनि छ । आफूभित्र लुकेर रहेका यस्ता कैयौँ आन्तरिक सौन्दर्य र सभ्यताहरू छन्, जसलाई लेखन मार्फत ल्याउन जरुरी छ । मैले कवितामार्फत गर्ने प्रयत्न यी र यस्तै विषयहरूको उठान हो ।


तपाईंलाई लेखनमा कस्ता कुराहरूले छुन्छन् ? तपाईंको लेखनको उदेश्य के हुने गर्छ? वैचारिक धरातलमा आफूलाई कहाँनेर पाउनुहुन्छ?

एउटा सामान्य मानिस भएको हुनाले, मसित लेख्ने विषयहरू समेत सामान्य नै हुने गर्छन् । एउटा कविको लेखन सपना उसको पैतालाले निर्धारण गर्छ भनिन्छ । सुन्दा सामान्य लागे पनि यसको अर्थ गहिरो छ जस्तो लाग्छ मलाई । एउटा मानिसको अनुभव लेखकको ज्यादै ठूलो पुँजी हो भन्ने लाग्छ मलाई । त्यो अनुभव मानिसको टेक्ने प्रत्येक पाइलाले निर्माण गर्ने गर्छ । त्यसो भए दैनिक जीवनले दिने सास्तीहरूमा भेटिन सक्छ कविता । कहिले सम्बन्धहरूको कारण हुने ऐठनहरूमा भेटिन सक्छ कविता । समाजको बहुलचरित्र नै हामीले लेख्ने कविताहरूको कच्चा पदार्थहरू हुन् भन्ने लाग्छ मलाई । मेरा कविताको भूमि समेत यही समाज हो । तर कहिले, कसरी, किन भन्ने तर्कहरू भन्दा पर हुन्छ कविता । अञ्जान, अनदेख जस्तो, कतिखेर व्यक्त हुन्छ, स्वयम् कवि नै वेखबर हुन्छ । खासमा दुर्घटनाजस्तो हुन्छ कविताको स्वभाव । तर एउटा असल कविलाई त्यसको आभास हुन्छ र कविताको रुप दिएर बाहिर ल्याउने गर्छ । अर्को कुरा म उदेश्य नै राखेर कविता कहिले लेख्ने गर्दिनँ । समाज वा आफैंमाथि घटित घटनाहरूलाई म आफ्नै ढङ्गले व्यक्त गर्ने गर्छु । शायद केही न केही भनेको हुँदो हुँ मैले कवितामार्फत । कवितामा विचार कि कला भन्ने विषय एकदमै बासी भइसकेको कुरा हो । कवितामा यी दुवैको उपस्थिति अनिवार्य हुन्छ । तिनको ब्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । विचार प्रत्येक मानिसले सोच्ने तरीका हो । जिउने आफ्नै मौलिक तरिका पनि हो । मेरा कवितामा आउने विचार मेरो निजी जीवनका छटाहरू नै हुने गर्छन् । कुनै संगठन, पार्टीको सिद्धान्तलाई मात्र विचार भनेर बुझ्नु ज्यादै सङ्कुचित तर्क हो ।

कवितामा विचार कि कला भन्ने विषय एकदमै बासी भइसकेको कुरा हो । कवितामा यी दुवैको उपस्थिति अनिवार्य हुन्छ । तिनको ब्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । विचार प्रत्येक मानिसले सोच्ने तरीका हो । जिउने आफ्नै मौलिक तरिका पनि हो ।

त्यसैले मेरो विचारको धरातल भन्नु नै आफ्नै जीवन भोगाइका सिकाइ र पाठहरू हुन् । एक मानिस भएको अर्थमा मानवतावादी विचार राख्नु पहिलो दायित्व हो भन्ने ठान्छु म । मलाई लाग्छ, एउटा असल मानिस नभइकन अरु विचारको कुनै माने छैन । पहिला मानिसलाई माया गर्नुस् त्यसपछि मात्रै अरु विचारको ।


पहिलो संग्रहबाटै कविताक्षेत्रमा निकै स्थापित हुनुभयो । यो स्थानसम्म आइपुग्न के-कस्ता सघर्षहरू गर्नुपरे? साहित्यप्रति अनुराग पलाएका सुरुवाती दिनहरू सम्झिदा कस्तो महसुस हुन्छ अहिले?

रोमान्चक र दुःख दुवै । मेरो पुस्ता भनेको पोष्टकार्ड साहित्य पढ्दै हुर्केको पुस्ता हो । गाउँमा अरु विकल्प नै केही थिएन । नयाँ बर्षमा बाँडिने पोष्टकार्डहरूमा अनेकौं अनाम सायरहरूका सायरी पढ्न पाइने । सुरु-सुरुमा दाई दिदीहरूकहाँ आउने कार्डहरूमा ती सायरी पढियो । पछि आफ्नै नाममा आउने जाने हुन थाल्यो । बिस्तारै प्रेमपत्र लेखियो । दुई-चार लाइन साहित्य सायद त्यहाँबाट पनि लेखियो जस्तो लाग्छ । देशभरि मेरा पत्रमित्र साथीहरू हुनुहुन्थ्यो । ती पत्रमित्र साथीहरू फगत पत्रमित्र साथीहरू मात्रै थिएनन् । कति साथीहरू पत्र लेखन कलामा निपूर्ण थिए । मैले लेखनकला त्यहाँबाट अलिकति सिकेँ । हाईस्कुल पढ्दा भित्तेपत्रिका निकाल्थ्यौँ हामी । त्यहाँ आफ्ना र अरुका पनि रचनाहरू छाप्थ्यौँ । कलेज सुरु गरेपछि हवाई पत्रिकामा बढुवा भइयो । अहिलेको सामाजिक सञ्जाल जस्तै थिए हवाई पत्रिका । ठूला पत्रिकामा पहुँच नै हुदैन थियो हामी सिकारुहरूको । हाम्रा लागि सपनाजस्तो थियो ‘गरिमा’, ‘मधुपर्क’जस्ता ठूला साहित्यिक पत्रिकाहरू । त्यसको क्षतिपूर्ति हामी आफूलाई व्यक्त गर्न पनि पत्रिका निकाल्थ्यौँ र अरुको रचना समेत छाप्थ्यौँ । देशभरिबाट हवाई पत्रिका आदानप्रदान हुन्थ्यो । यहीमार्फत कति राम्रा साथीहरू बने । एक हदसम्म साहित्यमा आउनका लागि यही हवाई पत्रिकाले गुन लगाएको हो । मेरो मात्रै होइन आजका धेरै लेखक, कविहरू यही प्रक्रियामार्फत यस क्षेत्रमा आएका हुन् जस्तो लाग्छ ।


कवितामा विचार मात्रै थुपार्न खोज्दा भद्दा नाराजस्तो बनिदिन्छ । विचारको अभावमा कविता कमजोर भइदिन्छ । तपाईंका कवितामा भेटिने विचार र कलाको सन्तुलन कायम राख्ने ‘ट्रीक’ के होला?

कविता लेख्छु भनेर कहिले योजना बनाएर लेख्दिन म । न अग्रिम विषयहरूको छनोट नै गर्छु  । एक्कासी झुक्किएर बिजुली चम्केस्तो विषयको झिल्को उठ्छ दिमागमा, मनमा । कुनै घटनाहरूको, सम्बन्धहरूको, चोट वा सास्तीहरूको । त्यही झिल्कोहरू कविता लेखनको थिम बन्छ । लेख्न सुरु गरेपछि भन्न खोजेको कुराहरू खुल्दै जान्छन् । शब्दहरूको अन्त्यपछि कविताले के भन्न खोजेको हो? अर्थ खुल्छ । खासमा सपनाजस्तो हुन्छ कविताको चरित्र । जस्तो, राति कुनैबेला देखिएका सपना सम्झे–सम्झेजस्तो, बिर्से–बिर्सेजस्तो हुन्छ नि ! अस्पष्ट तर सुन्दर । कविता ठ्याक्कै त्यस्तै हो मेरा लागि । सपना कहाँ सुरु भएर कहाँ टुङ्गिने हो ? यसको कुनै सिलसिला हुन्न । मेरो लागि कविता लेखन पनि त्यस्तै हो । लेख्न सुरु गरेको पहिलो हरफ कविताको अन्तिम हरफ हुन्छ कहिले । अन्तिम भनेर बिट मारेको शब्द पहिलो हुने गर्छ । यदी कवितामा तपाईं पुनर्लेखन गर्नुहुन्छ भने यो अनुभव तपाईंसँग पनि हुन सक्छ । र कवितामा पुनर्लेखन भनेको कविताको पुनर्जन्म भने पनि हुन्छ । अब तपाईं बुझ्नुहुन्छ कि, कविले शब्दहरूसँग कसरी खेल्नुपर्छ ।

सपना कहाँ सुरु भएर कहाँ टुङ्गिने हो ? यसको कुनै सिलसिला हुन्न । मेरो लागि कविता लेखन पनि त्यस्तै हो । लेख्न सुरु गरेको पहिलो हरफ कविताको अन्तिम हरफ हुन्छ कहिले । अन्तिम भनेर बिट मारेको शब्द पहिलो हुने गर्छ ।


समकालीन नेपाली कवितामा आइरहेका कविताहरूलाई कसरी हेर्नुभएको छ? आउँदै गरेका नयाँ पुस्ताहरूबाट कत्तिको आशा गर्न सकिन्छ?

यदी ६० को दशकयतालाई समकालीन मानिदिने हो भने, नेपाली कविताको अनुहार अलग देखिएकै यही समय हो भन्छु म । खास नेपालको प्रतिधित्व गर्ने, संसारको आँखामा नेपाल विविधताले सम्पन्न मुलुक हो भन्ने पहिचानसहितको नेपाली कविता यही समयमा आएका छन् । नेपाली कविताको इतिहासमा कहिले नसुनिएका स्वरहरू यही दशकमा सुनिएका छन् । पहिले जसरी नेपाललाई तराई, पहाड र हिमाल भनेर ब्याख्या गरियो, ठीक त्यसरी नै नेपाली कवितामा पनि यही तराई पहाड र हिमाल मात्रै आए धेरैजसो त । तर यो पछिल्लो दशकमा तराई, पहाड र हिमालका मानिसहरूको कथा लेखिएको छ । नेपालको अनुहार लेखिएको छ । देश भनेको भूगोल मात्रै होइन रहेछ भन्ने प्रमाणसहितका कविताहरू लेखिए पछिल्लो दशक । तर हामीकहाँ समस्या के हो भने सम, देवकोटा, भूपी, रिमाल भनेर कन्ठ गरेर बस्ने एउटा जमात छ, जसले आजको कविता नै नपढी गतिला कविता लेखिएन भनिबसेका छन् । तर अर्को एउटा सत्य के पनि हो भने, पछिल्ला पुस्ताका कविहरूसँग धैर्यता गुम्दै गइरहेको सत्य हो । सामाजिक सञ्जाल र अनेक संचारमाध्यमको पहुँचका कारण पब्लिसिटीको लोभले साधना भन्ने चीज मर्दै गइरहेको देखिन्छ । आजका कविहरू आजै लेखूँ, भोलि हिट भइहालूँ भन्ने लोभले रचनाकारितामा असर भने देखिएको छ । कविता लेखन साधनाको अनेकौँ चरणबाट गुज्रीएर मात्रै सम्भव छ भन्ने बुझ्न जरुरी छ भन्ने लाग्छ ।


नेपाली कवितालाई विश्वमाझ चिनाउन कस्ता विषयवस्तु र शैलीमा कविता लेख्नुपर्छ जस्तो लाग्छ?

संगीतज्ञ अम्बर गुरुङले आफ्नो जीवनको उत्तरार्धमा आइपुग्दा भनेको एउटा लाइन सम्झन्छु म । असलमा नेपाली संगीत भनेको यहाँका लोक संगीत नै रहेछ । यहाँका अनेका जातजाति र भाषाभाषीका सास्कृतिक जगबाट आएका रचनाहरूले नै नेपाल झल्काउने हो । अन्तराष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली गीत-संगीत यहींको माटो सुहाउँदो हुनुपर्छ भन्ने गुरुङको अर्थपूर्ण अभिव्यक्तिले नेपाली भाषा सहित्यमा पनि उत्तिकै महत्व राख्छ । विद्वान समालोचक महेश पौड्यालले केही वर्षअघि मात्रै कवितामा नेपाल भन्ने एउटा सिद्धान्तलाई अघि सारेर नेपालको माटो सुहाउदो कविताहरूको अध्ययन र खोज सुरु गर्नुभएको थियो । अहिले कवितामा नेपाल अभियान कहाँ पुग्यो ? त्यो त थाहा भएन । तर अन्तराष्ट्रिय बजारमा जाँदा कस्ता कविताहरू जानु जरुरी छ भन्ने कुरा महेशजीहरू जस्तो समालोचना र अनुवादमा एकसाथ काम गरिरहेकालाई ज्ञान हुन्छ । यो सिद्धान्तको सार माथिको अम्बर गुरुङको अभिव्यक्तिसँग पनि नजिक छ जस्तो लाग्छ ।

अन्तराष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्ने नेपाली गीत-संगीत यहींको माटो सुहाउँदो हुनुपर्छ भन्ने गुरुङको अर्थपूर्ण अभिव्यक्तिले नेपाली भाषा सहित्यमा पनि उत्तिकै महत्व राख्छ ।


राम्रो लेखक बन्नका लागि पठन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ? तपाईंलाई सबैभन्दा धेरै मन परेका लेखक र पुस्तकहरू कुन-कुन हुन्?

राम्रा लेखक हुनुको पहिलो सर्त भनेकै राम्रो पाठक हुनु हो । राम्रो सिर्जना के हो भन्ने थाहा नपाउने लेखकले जीवनमा कहिले राम्रो लेख्न सक्छ भन्ने नै लाग्दैन मलाई । त्यसैले एउटा राम्रो लेखक, राम्रो पाठक हुन अनिवार्य छ । कस्तो पुस्तक पढ्ने भन्ने कुरा आ–आफ्नो रुची र छनौटको कुरा हो । मेरो पठनको हकमाचाहिं प्राय: साहित्यिक पुस्तक नै हुने गर्छ । आत्मकथा पनि मेरो रुचीको क्षेत्र अन्तर्गत नै पर्छ । मलाई मन परेका धेरै लेखक र पुस्तकहरू छन् मेरो सूचीमा । निकै लामो हुन सक्ला ।

मदनमणि दिक्षितको ‘माधवी’,

धच गोतामेको ‘घामका पाइलाहरू’,

ध्रुवचन्द्र गौतमको ‘अलिखित’,

आइबी राईको ‘आज रमिता छ’,

सरुभक्तको ‘पागल बस्ती’,

विपीको ‘नरेन्द्र दाई’,

खप्तड बाबाको ‘विचार विज्ञान’.

बुद्धिसागरको ‘कर्णाली ब्लुज’,

अमर न्यौपानेको ‘पानीको घाम’,

नयनराज पान्डेको ‘उलार’,

मलाई स–साना कुराले पनि खुसी बनाउँछ । सानो कुराले दुःखी पनि । जीवनका दैनिक आरोह अवारोहहरूमा भेटिन्छन् यस्ता खुसी र दुःखहरू । सामान्य मानिस भएको हुँदा मेरा सुख, दुःखहरू पनि सामान्य नै छन् ।

राजन मुकारुङको ‘दमिनी भिर’,

अविनाश श्रेष्ठको ‘तान्या, इन्द्रकमल र अन्धकार’,

जे.डी. स्यालिंगर ‘क्याचर इन द राइ’,

पल एस बर्कको ‘द गुड अर्थ’,

खलील जिब्रानको ‘द प्रोफेट’,

हर्मन हेस्सेको ‘सिद्धार्थ’

त्यसै मलाई मन पर्ने लेखकहरूमा बैरागी काइँला, कृष्णभूषण बल, मिनबहादुर बिष्ट, मनु मन्जिल, श्रवण मुकारुङ, रमेश क्षितिज, विप्लव ढकाल, सन्जीव राई, सुदीप पाख्रिन, स्वप्नील स्मृति, चन्द्रबीर तुम्वापो, विष्णु सन्यास, अनिल बान्तवा, देवान किराती, बद्री भिखारी, महेश पौड्याल, ज्योति जङ्गल, बिना थिङ तामाङ, फूलमान बल, सरिता तिवारी, निमेश निखिल, तीर्थसंगम राई, सुन्दर कुरुप, प्रकाश थम्सुहाङलगायत धेरैका कविता मन पर्छन् । अझ धेरै हुनुहुन्छ । अघि भने नि मैले, यो सूची निक्कै लामो हुन्छ ।


तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी केबाट मिल्छ? जीवनमा पूरा नभएका तर पूरा गर्न मन लागेका तीन कुरा मात्र रोज्नुपर्यो भने के-के रोज्नुहुन्छ ?

मलाई निश्चित यही कुराले नै खुसी मिल्छ भन्ने केही छैन । मलाई स–साना कुराले पनि खुसी बनाउँछ । सानो कुराले दुःखी पनि । जीवनका दैनिक आरोह अवारोहहरूमा भेटिन्छन् यस्ता खुसी र दुःखहरू । सामान्य मानिस भएको हुँदा मेरा सुख, दुःखहरू पनि सामान्य नै छन् । जीवनलाई बाङ्गाटिङ्गा रेखा मानेर हिंडेपछि उस्तो सपना र रहरहरू पनि हुन्नन् क्यार मान्छेसँग । हिँड्दाहिंड्दै जहाँ पुगिन्छ, गन्तव्य त्यसैलाई मानिदिने हो । काम गर्दागर्दै प्राप्त गरेका उपलब्धीहरूलाई सपना ठानेपछि उस्तो हैरानी बेहोर्नु नपर्ला भन्ने सोचले बाचिरहेको मानिस हुँ म । त्यस्तो गन्ति गरेर इच्छा र सपनाहरू पालेर बाँच्दिन म ।


कविहरूको उपन्यास लेख्ने होडबाजी नै छ । तपाईंको आख्यानमा आउने योजना छैन?

कविहरू उपन्यासमा जानु राम्रो हो । एउटा कविको अभिव्यक्तिमा काव्यको ‘फ्लो’ हुन्छ । कुनै पनि साहित्यिक रचनामा काव्यको प्रयोग कति छ, त्यसैको आधारमा रचना पठययोग्य हुने गर्छ । आजका राम्रा आख्यानकारहरूलाई हेर्नुस् न । अमर न्यौपाने, बुद्धिसागर, राजन मुकारुङ, सरस्वती प्रतिक्षा, यी जम्मै कविहरू हुन् । कवि भूपिनको उपन्यास चाँडै आउदैछ । रावत उपन्यास लेखिरहेको छ । स्वप्नील स्मृति, उपेन्द्र सुब्बाहरू कति पेज लेखिसकेर ‘रेस्ट’ गरिरहेको खबर छ । झुक्किएर मेरो उपन्यास आइहाले कुनै आश्चर्य नमानिदिनु होला । हा हा हा ।

झुक्किएर मेरो उपन्यास आइहाले कुनै आश्चर्य नमानिदिनु होला । हा हा हा ।


लेखेर कात्तिको सन्तुष्टि पाइरहनु भएको छ? आगामी दिनमा कसरी अगाडि बढ्नुहुन्छ ?

लेखेर सन्तुष्टी हुनुभन्दा पनि सन्तुष्ट प्राप्त गर्नका लागि लेख्छु म । आफूभित्र गुज्रीरहेको उच्छ्याट, दिग्दारी, दुःख वा खुसीको, समाजको अनेकौ चित्र र चरित्र लेखनको माध्यमले व्यक्त गर्ने न हो । लेखनको माध्यमले त्यो बाहिर आएपछि स्वत: हलुका हुन्छ मन, मस्तिष्क । शरीरको रोग औषधीले निको भएजस्तै, मन र मस्तिष्ककमा खेलिरहेको आँधी लेखनले शान्त बनाउँछ । जसरी झरीपछिको आकाश सफा हुन्छ । जसरी आँधी सकिएपछिको रुख शान्त हुन्छ ।


अन्त्यमा, कवितामा उदाउँदै गरेका नवकविहरूलाई के सुझाव दिन चाहनुहुन्छ?

निरन्तरको साधनाले नै एउटा लेखकलाई लेखक बनाउने हो । कवि बनाउने हो ।

राम्रा कविता लेख्नका लागि, राम्रा कविता के हो जान्नु जरुरी छ । एकपटक लेखेर पुग्दैन । पटकपटक पुनर्लेखन गर्नुपर्छ । अभिव्यक्तिमा नवीनता कसरी दिन सकिन्छ, त्यता सोच्नु पर्ला । पचास सयजनाले भन्ने कुरा एउटै हुनसक्छ । तर तपाईं त्यसलाई कसरी भन्नुभयो ? यसले ज्यादै ठूलो अर्थ राख्छ । निरन्तरको छलफल र अन्तरक्रियाले नै आफूलाई परिमार्जन गर्न सकिने भएको हुनाले छलफलमा सहभागिता जनाउनु पर्छ होला शायद । र एउटा लेखक, कविको काम भनेको लेख्ने, लेख्ने र फेरी लेख्ने हो । निरन्तरको साधनाले नै एउटा लेखकलाई लेखक बनाउने हो । कवि बनाउने हो । र अध्ययन सबैभन्दा महत्वपूर्ण कुरा हो । लेख्छु भन्ने मानिसले पढ्नु पहिलो सर्त हो ।


सम्बन्धित समाचार

लिम्बूवानमा स्वायत्त हुने स्वभाव बढी छ : कवि स्वप्निल स्मृति

पाँचथरका कवि स्वप्निल स्मृति सीमान्तकृत, उत्पीडित र अल्पसंख्यकहरूको पक्षमा वकालत गर्दै लामो समयदेखि कलम चलाउँदै आएका छन् । ६० को दशकमा नेपाली साहित्यमा सामान्य बहुरङ्गवादको अभियान सुरु गरेका उनका 'रङ्गैरङ्गको

मलाई सबैभन्दा खुसी कुनै साहित्यिक रचना लेख्दा नै लाग्छ : किशोर पहाडी

झन्डै चार दशक लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका साहित्यकार किशोर पहाडीको सातौं कथासंग्रह ‘रोजा कथाहरू’ शिखा बुक्सले पुसमा सार्वजनिक गरेको छ । उनी कथा, कविता र बालसाहित्य लेखनका

झुक्किएर मेरो उपन्यास आइहाले कुनै आश्चर्य नमानिदिनु होला : हेमन यात्री

मोरङको रमितेखोलामा जन्मिएका कवि हेमन यात्री लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहँदै आएका छन् । उनी आफ्ना कवितामा मौलिक सांस्कृतिक कथा, मिथक र प्राकप्रसंगसँग बढी खेल्न रुचाउँछन् । २०६९ सालमा आफ्नो

खुल्ला झ्याल (साकी)

'साकी' नामले विश्वसाहित्यमा चर्चित हेक्टर ह्युग मुन्रो (१८७०-१९१६) एक बेलायती लेखक थिए जो आफ्नो तीक्ष्ण र रोचक कथाका लागि परिचित छन् । उनी बेलायतको एडवार्डेली समाज र संस्कृतिलाई व्यंग्य गर्दै


z