तिमी जाऊ !
मेरो अंगालोको भीर छिचोलेर
हावामा बहकिँदै-बहकिँदै
इन्द्रेणीको आठौँ रङ्ग हुन ।
थाहा छ ?
मैले तिमीलाई बिर्सन्छु भनेँ भने
झन् बढी सम्झनेछु
र मेरो मुटुका काँप-काँपबाट
टुसाउनेछन् यादका अनगिन्ति आँकुराहरू
म तिम्रो मनमा गढ्न सकिनँ
कि तिमी पनि मेरो जीवनको दलदलमा जाक्किनु हुँदैन
तिमी जाऊ !
मध्यरातमा म निदाइरहेको बेला
मेटाउँदै सिन्दुर पोखिएको त्यो जर्जर बाटोलाई
ताकि म तिमीलाई तिम्रो सपनीमा समेत
पछ्याउन नसकूँ
जसरी एकदिन गायब भएथ्यो
हाम्रो पिंजडाको प्यारो सुँगा
त्यसरी नै तिमी पनि गायब हुनु बाफ झैँ बतासमा ।
म निद्राबाट ब्युँझेर
कहीं आसपासमा तिमीलाई नभेट्दा
तिमीलाई कतै खोज्ने छैन
चिच्याएर बोलाउने छैन
न छापिनेछ कुनै खबरपत्रमा
तिमी हराएको सूचना
किनकी तिमी गएपछि
मलाई थाहा छ म कहिल्यै ब्युँझन सक्ने छैन ।