• २०८१ बैशाख ११ मंगलबार

सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि अध्ययन गराइने : मुख्यमन्त्री राई

kharibot

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् ।

राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उनले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गरे । मुख्यमन्त्री राईले प्रविधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भइसकेको जानकारी दिए ।

दक्ष युवा वैदेशिक रोजगारीेमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउँदै उनले मुलुकको विकासमा आफ्नो क्षमता, सिप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मूल्याङ्कन गरिने विश्वास दिलाए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरणप्रति सचेत भई विज्ञान र प्रविधिको प्रयोगबाट समृद्ध प्रदेश निर्माण गरिने बताए । आयोजक संस्थाका उपाध्यक्ष माधव ढुङ्गेलले विश्वविद्यालयमा ४० वर्ष अगाडिको प्रयोगशालालाई परिवर्तन गरी समयानुसार अब्बल बनाउनु पर्नेमा जोड दिँदै सम्मेलनको निष्कर्षलाई प्रदेशको नीति तथा योजना र कार्यक्रममा समावेश गरेमा मुलुकको समृद्धि हुने बताए । सोही संस्थाका उपसचिव देवीप्रसाद अधिकारीले विज्ञान र प्रविधिलाई प्रवद्र्धन गरी युवालाई नीति निर्माण तहमा सहभागी सुनिश्चित गराउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।

यसअघि हिजो प्रा डा रामेश्वर अधिकारी, डा महेन्द्र थापा र शङ्कर खतिवडाले विज्ञान र प्रविधि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने आज मदन भण्डारी मेरियल प्रतिष्ठानका अध्यक्ष गुरु बराल र महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा तुलसीप्रसाद निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा उक्त प्रदेशका ११ जिल्लाका २०० विद्यार्थी र प्राध्यापकको सहभागिता रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै