• २०८१ बैशाख ७ शुक्रबार

जनताको घरदैलोमा राप्रपा

kharibot

काठमाडौँ । १५ फाल्गुनको विहानी,फुङलिङको मौसम निकै चिसो थियो, चारैतिर हुस्सु, कञ्चङजंघा रेञ्जलाई वादलुको घुम्टोले ढाकेको अवस्था, चिसोको वावजुद जनतामा उत्साह देखिन्थ्यो ।  एउटा कौतुहलता । सडक चहलपहल छ । नयाँ अनुहार यत्रतत्र देखिन्थे ।  हिन्दु, बौद्ध, किराँत, मधेश, पहाड, हिमालको  प्रतिनिधित्व गर्ने झाँकी सहितको रथ १४ गते मध्यरातमा नै फुङलिङ वजार प्रवेश गरिसकेको थियो । 

विहानीको करिव ९.३० वजे राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा ठुलो जनसमुदाय वजार अवस्थित पाथिभरा माताको दर्शन गर्न वाजा गाजाको साथ वडो उत्साहपुर्ण मुद्रामा निस्कियो । १४ गते पाथिभरा मन्दिरमा अनुष्ठान गरि फर्केको राप्रपाको धार्मिक टोली पनि त्यहि जुलुसमा समाहित भयो । फुङलिङ वजारको  सानो सडक राप्रपा र सनातन धर्मका झण्डाहरूले शोभायमान भयो ।  हिन्दुराष्ट्र जिन्दावादको गगनभेदी नाराले फुङफिङ वजार गुञ्जायमान हुँदा जनजाति वहुल ताप्लेजुङका स्थानियले जुलुसलाई हार्दिकता पुर्वक स्वागत गरे । 

राप्रपा नेताहरूले सभालाई सम्बोधन गर्दै नेपाल हिन्दुराष्ट्र हुनु पर्ने जिकिर गरे । ताप्लेजुङदेखि पाँचथर हुँदै ईलामको जनजाति वहुल क्षेत्रमा राप्रपाले दस साना ठुला आमसभा तथा कोणसभा गर्यो । जनताको उत्साहप्रद उपस्थिति रह्यो । राप्रपाको किल्ला, पुर्वको रणनीतिक महत्वको स्थान झापामा राप्रपाले निकै ठुलो र भव्य महत्त्वपूर्ण सभा गर्यो । यो सभा उत्साहपुर्ण मात्र रहेन ।  यात्राको पुर्ण रक्त संचारमा कोसेढुङ्गा नै रह्यो । 

भजन कृतनमा नाच्दै अध्यक्ष थापा ।


झापाबाट सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाहि, रौतहट, बारासम्म पुग्दा लगभग ५५ आमसभा, कोणसभा र धार्मिक अनुष्ठान तथा कार्यक्रमहरू सम्पन्न भएका छन । मधेश वहुल प्रदेश नं दुईमा पनि जनताले राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई भव्यताका साथ स्वागत गरे । आफ्नो मत राखे । सुझाव दिए । ऐकेबद्धता प्रदर्शन गरे । 

राप्रपा अध्यक्ष कमल थापाले मधेश क्षेत्रमै प्रचण्डको सरकारमा सामेल हुनु रणनीतिक भुल भएको भन्दै जनतासँग माफि मागे । अव सत्ताको भन्दा सिद्धान्तको राजनीतिमा केन्द्रित हुने वचन दिए । अर्को सभामा राष्ट्र विखण्डनको नारा उचाल्ने सिके राउतलाई मधेशकै भुमिवाट चुनौती दिए । राष्ट्र विखण्डनको संवेदनशील विषयमा सरकार मौन बसेको भन्दै आक्रोस व्यक्त गरे । जनतासँग प्रत्यक्ष सम्वाद, धार्मिक व्यक्तित्व तथा समाजसँग छलफल अन्तरक्रिया, मन्दिरहरूमा अनुष्ठान, भजन-किर्तन गर्दै उल्लासमय र उत्साहित ढंगले राप्रपाको स्वाभिमान यात्रा अगाडि बढदैछ । आमसभामा उल्लेख्य उपस्थिति रहेको छ । सडकमा नै पत्रकार सम्मेलन गरिएको छ । आमसंचार माध्यमले यात्राको समाचारलाई महत्व दिएका छन ।

मधेस क्षेत्रको धनुषामा आमसभामधेस क्षेत्रको धनुषामा आमसभा


यो उत्साह तथा सवै क्षेत्रको सहयोग र सद्भावले स्वाभिमान यात्रा सफलतापूर्वक अगाडि बढने निश्चित छ ।

नेपालीको राष्ट्रिय स्वाभिमान गिरेको बेला, सरकार, मुख्य राजनीतिक दलहरू किंकर्तव्य विमुख भएको अवस्थामा जनतालाई यो यात्राले संजिवनीको काम गरेको छ । अब जनता व्युझिएका छन । ०६२/६३ को आन्दोलनमा नउठाईएको मुद्दामा राजनीतिक दलहरू प्रवेश गरेर किन गलत निर्णय गरे ? जनताले प्रश्न सोध्न थालेका छन् । राजसंस्था, सनातन हिन्दुराष्ट्र नहुँदा राष्ट्रियता कमजोर भएको महसुस गरिरहेका छन् । यी तमाम सवालहरूको जवाफ दिँदै जनतालाई सचेत, दृढ र सबल बनाउन यो यात्रा कोसेढुङ्गा हुने छ भन्नेमा दुई मत छैन् ।

राप्रपाको स्वाभिमान यात्राको सेरोफेरोमा राजाबाट तराईको केही जिल्लाको भ्रमण हुन गई रहेको छ । अहिले राजसंस्थाको बिषयमा फैलाईएको अनर्गल भ्रमहरू र दुष्प्रचार जनताले बिस्तारै वुझ्न लागेका छन । राजा मुलुक र जनताको लागि आवस्यक भएको जनता तथा राजनीतिक दलले पनि महसुस गर्दै छन । राजाको भ्रमणमा उत्साहजनक उपस्थिति रहने गरेको छ । यो भ्रमणले आम मधेसी जनताहरू राजसंस्था र हिन्दुराष्ट्रको मुद्दामा थप सकारात्मक हुने कुरा निसंदेह छ ।

झापाली जनताको अपार जनसमर्थन ।


अहिले वर्षा, हिमपात, जाडो केहिको प्रवाह नगरि राप्रपाको नेता तथा कार्यकर्ता आधा महिनाको लागि पुर्व मेची-पश्चिम महाकालीदेखि राजधानी काठमाडौ सम्मको लामो यात्रा तय गर्दैछन । विगतमा भएको कमि कमजोरीको जनता समक्ष आत्मा आलोचित हुँदै भविष्यमा सत्ता भन्दा सिद्धान्त, निष्ठा र मुलुकलाई केन्द्र विन्दु बनाएर जनताको सेवामा जाने कुरामा जनतालाई आश्वस्त बनाउदै छन । जनताले राप्रपाको यो कदमलाई सहर्ष स्विकार गरेका छन ।

दुई तिहाइको कम्युनिस्ट सरकारले जनताको आशा, भरोसामा तुषारापात गरेको छ । प्रतिपक्षी काग्रेस कम्युनिस्टको धर्मनिरपेक्षता, गणतन्त्र र संघियताको मुद्दा समातेर भाइ कम्युनिस्ट भएको र प्रतिपक्षी दलको भुमिका निर्वाह गर्न चुकेको अवस्थामा राष्ट्रवादी शक्तिलाई जनताले खोजेका छन् ।

जनताको विश्वास जित्दै तमाम देशभक्त राष्ट्रवादी शक्तिहरूलाई गोलबन्द गर्दै राप्रपाको नेतृत्वमा यो मुलुकको स्वाधिनता, समृद्धि तथा सनातन मूल्य र मान्यताको लागि गरिने जनआन्दोलनलाई सरकारले नजरअन्दाज गरे नेपाली जनताले सडकबाट नै हिन्दुराष्ट्र पुनस्थापित गर्नेछन् । राप्रपा लगायत राष्ट्रवादी शक्तिले यो मुद्दालाई नेपाली जनता तथा अन्तर्राष्ट्रिय समुदायलाई वुझाउन सके परिवर्तन निश्चित छ ।

मुलुकले विगत वाह्रवर्ष देखि भोग्दै आएको बेतिथि, विसंगति, भ्रष्टाचार, दुराचार, अराजकतालाई विस्थापित गर्न आन्दोलन अपरिहार्य तत्व हो । अबको मुलुकको राजनीतिले केही समय भित्र नै नयाँ कोर्ष लिनेमा स्वदेश तथा प्रवासमा रहने तमाम राष्ट्रवादी समुदाय निश्चिन्त छन्।

महाशिवरात्रीको पावन अवसरमा सवैमा शुभकामना । 

(लेखक खड्का राप्रपाका प्रवास विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन्)
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै