• २०८१ बैशाख ७ शुक्रबार

नेतृत्वविहिन नेविसंघ कहिलेसम्म ?

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) अहिले नेतृत्व विहिन रहेको छ । गत माघ २८ गते नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि सोहि दिन काँग्रेस सभापति शेरबहादुर देउवाले महरको राजीनामा स्वीकृत गरेका थिए ।

२०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको महर नेतृत्वको नेविसंघको कार्यसमितिको दुई पटक करिब ५ महिना पदावधि थपिएको भएपनि आन्तरिक विवादका कारण महाधिवेशन गर्न नसक्दा अन्तत: राजीनामा नै दिने अवस्था आयो । 

केन्द्रीय समितिविहिन बह्येको नेविसंघमा अब तदर्थ समितिको संयोजक तथा पदाधिकारीको लागि आ-आफ्नो गुटबाट दाबेदारी पेश गर्नमा नेविसंघका नेताहरु व्यस्त रहेका छन् । महरले राजिनामा दिएपछि पार्टीले तदर्थ समिति बनाएर सो कार्य समितिले महाधिवेशन गराउने गरी नयाँ नेतृत्वलाई जिम्मेवारी दिन लागेको हो । पार्टीले केही दिन देखिको जारी केन्द्रीय कार्य समितिको वैठकमा छलफल गरी रहेको छ । नेविसंघका विभिन्न गुटका नेताहरु आ–आफ्नो लबिङमा लागिरेहका छन् । 

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल देखि उपसभापति र महामन्त्रीद्धयहरु आफु निकट विद्यार्थी नेताहरु बनाउनका लागि कसरत गरिराखेका छन् ।

२०२७ सालमा विपिन कोइरालाको अध्यक्षतामा गठित नेविसंघको नैनसिंह महरको नेतृत्वसम्म पुग्दा लामो इतिहास भएको नेविसंघ धेरै जसो समय नेतृत्व छान्ने बेला सधै विवादमा आउने गर्दछ ।

पार्टी राजनीतिमा स्थापित हुने खुट्किलोको रुपमा रहेकोले नेविसंघको नेतृत्वमा आउन विद्यार्थी नेताहरुले सबै खाले पहल गरिरहेको देखिन्छ ।

अहिले नेविसंघमा परिमार्जित विधानअनुसार ३२ वर्षे उमेर प्रावधान काँग्रेस कार्य समिति बैठकले पारित गरिसकेकोले यसलाई लागु गर्ने नगर्ने भन्नेमा पनि विवाद रहेको छ । पार्टी सभापति देउवा पक्षले अब हुने महाधिवेशन पछि मात्र उमेर हदबन्दीको व्यवस्था लागु हुने भन्दै तदर्थ समितिमा उमेरको हदबन्दी नलगाउने बताउदै आएको छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का नेता कृष्णप्रसाद सिटौला समुह भने अब बन्ने तदर्थ समितिदेखि नै ३२ बर्षे उमेर हदबन्दी लगाउनु पर्ने तर्क गरिरहेका छन् । अहिले उमेर हदबन्दीको यहि विवादले पनि तदर्थ समिति गठनका लागि समय लागिरहेको काँग्रेस नेताहरु बताउछन । 

सधै चलायमान हुनुपर्ने विधार्थी संघ नेतृत्व विहिनको अवस्था लामो समयसम्म राख्न नहुने भन्दै जे गरेपनि चाडो निर्णय गरेर ११औं महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा केहि नेताहरुले माग समेत गरेका छन् ।

अहिले उमेर हदको विषय टुंगी नसकेकाले सबै विद्यार्थी नेता नेतृत्वको दौडमा छन् । विभिन्न नेताहरुले आफू निकट विद्यार्थी नेतालाई नेतृत्व दिनुपर्ने अडान पनि पार्टीमा राख्दै आएका छन् । 

को को छन् दौडमा ?

अहिले नेतृत्वको लागि नेविसंघबाट ३२ वर्षे उमेर पुगेका र ३२ वर्ष मुनिका केहि नेताहरु नेतृत्वको दौडमा रहेको देखिन्छ । नेतृत्वको दौडमा सरोज थापा, पुष्प कुमार शाही,  ऋषिकेशजंग शाह, आनन्द त्रिपाठी,  अम्बिका चलाउने र प्रेम जोशीलगायत रहेका छन् । आफू निकटका विद्यार्थी नेताहरुलाई पार्टीका नेताहरुले पनि बोक्ने गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले ऋिषिकेशजंग शाह, राजीव ढुङ्गाना र आनन्दराज त्रिपाठी मध्येबाट उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ भने वरिष्ठ नेता पौडेलले मनोजमणि आचार्य वा दिपक भट्टराईलाई बनाउने अभियान चलाएका छन् ।

त्सस्तै उपभापतिद्धय विमलेन्द्र निधिले सरोज थापा र विजयकुमार गच्छदारले कपिलेश्वर यादव बनाउन देउवालाई दबाब दिइरहेको बुझिएको छ । त्यस्तै महामन्त्री शशांक कोइरालाले सागर परियार वा निलकण्ठ रिजाललाई तथा अर्का महामन्त्री पूर्णबहादुर खड्काले शुभराम बस्नेतको नाम अगाडी सारेका छन् ।  त्यस्तै अर्का नेता कृण्णप्रसाद सिटौलाले बलदेव तिमल्सिनाको नाम अगाडी सारेको बुझिएको छ । 

पार्टीमा तदर्थ समितिको संयोजक बनाउदा ३२ वर्ष उमेरहद लगाउने या नलगाउने भन्नेमा विषयमा टुंगोमा नपुगेकोले पनि कसको नेतृत्वमा तदर्थ समिति गठन गर्ने भन्ने विषय अन्योल मै रहेको देखिन्छ । 

उमेरहद लगाउने निर्णय भएको खण्डमा भने प्रकाश घिमिरे, प्रेमराज जोशी, अम्बिका चलाउने लागायतको सम्भावना देखिएको छ ।

अन्त्यमा, 

निर्वाचनमा पराजय भएको एक बर्ष पछिसम्म पनि अझै राम्रोसँग सम्हालिन नसकेको काँग्रेसले आफ्नो विद्यार्थी संघको नेतृत्व छिटो छानेर विवाद टुग्याउने पहल गर्नु जरुरी देखिन्छ । यति धेरै नेता उत्पादन गरेको नेविसंघले नयाँ महाधिवेशन गर्न नसक्नु आफैमा दुखद विषय हो । गुट उपगुटबाट ग्रसित काँग्रेसको रोग विद्यार्थी संघमा सर्दा अहिलेको अवस्था आएकोमा कुनै विवाद छैन । 

एकातिर सत्तारुढ दल एकजुट हुदै झन् बलियो हुदै गएका छन् भने काँग्रेस आफ्नै गुट उपगुटलाई नै मिलाउन नसक्दा झन् कमजोर हुदै गएको देखिन्छ । त्यसैले पार्टी र आफ्ना संघका विवाद मिलाएर अगाडी बढ्नु नै काँग्रेसका लागि हितकर हुने देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै