महिलाहरुलाई स्वरोजगार बनाउँदै मीना 

खरीबोट

काठमाडौँ । भन्ने गरिन्छ, मान्छेले कि परेर जान्छ कि पढेर । हरेक कुरा गर्न र सिक्न मान्छेको रुचि त झन् आवश्यक छँदै छ ।  तर पनि हरेक सफल मान्छेको विगतको पाना पल्टाउँदा धेरै संघर्ष भेट्न सकिन्छ । हो त्यस्तै, संघर्षशील महिलामध्येको एक नाम हो मीना चन्द ठकुरी ।

गुल्मीमा जन्मिएर हुर्किएकी मीनाले जसोतसो कक्षा ७ सम्म अध्ययन गरेकी छिन् । आफ्नो जीवनलाईे सम्हाल्न उनी लागि परेकी छन् । उनी आफू र आफ्नो परिवारलाई मात्र नभएर हरेक नेपाली महिला, अझ भनौ केही गर्न खोज्ने र गर्ने अवसर नपाएका महिलाहरु्को लागि समेत भगवान् साबित भएकी छिन् । कारण, आफ्नो श्रीमान गाडी चलाउँथे, काठमाडौँको ठाउँमा बचत कम हुन्थ्यो । आखिर यातायात क्षेत्रमा कमाइ कम हुने वा श्रीमान्ले बचत गरेन भन्ने महसुस  भयो । आफूले पनि काम गर्न पाए परिवार पाल्न सहज हुन्थ्यो भन्ने सोचेर उनले श्रीमान्को असहमति बिना नै ट्याम्पो सिकिन् र चलाउन थालिन् । 

पछि बिस्तारै दु:ख पाएका दिदीबहिनीहरुको सहारा बन्दै उनले नि:शुल्क नै समय मिलाएर ट्याम्पो सिकाउन थालिन् । त्यसैले त उनी कैयौ दिदी बहिनीहरुको लागि भगवान् सावित भइन् । आफू सिक्दै र अरुलाई सिकाउँदै अघि बढ्न थालिन् । 

आर्थिक रुपमा बलियो नभएको कारण महिलाहरु पछाडि परे भन्ने सोच भएकी मीना महिला दिदी बहिनीहरुको आर्थिक क्षमता बलियो बनाउन आफूले जानेको र बुझेको सीप टेम्पो सिकाउन अगाडि सरिन् ताकी २ छाक खान कसैको बाटो हेर्न नपरोस् । 

आफूले सिक्दै गर्दा सिकाउन सक्छु भन्ने नसोचेको भए पनि उनमा भएको त्यो आत्मविश्वासले काम पूरा गरेरै छाड्यो । दिनभरि टेम्पो चलाउने र केही समय मिलाएर उनले अन्य महिलालाई टेम्पो चलाउन सिकाउन थालिन् । लामो समय बाटो घाटोमा नै सिकाउने गरेको भए तापनि ०६९ सालबाट कसैले संस्था दर्ता गरेर सिकाउन आग्रह गरेपछि,  नेपाल यातायात महिला चालक समूह दर्ता भएपश्चात् उनलाई थप सहज भयो । आफूले काम गरेर बचेको समयमा अन्य महिलालाई  सहयोग गर्दै गर्दा आज संस्था दर्ता भएकै ५ वर्ष पूरा भइसकेको छ । यस अवधिमा ४ सयभन्दा बढी महिलाहरुलाई ३ र ४ पाङ्ग्रे गाडी चलाउन सिकाउन उनी सफल भइसकेकी छिन् । आर्थिक अवस्था कमजोर भएका र केही काम गर्नुपर्छ भन्ने भावना भएका महिला दिदीबहिनीहरुको लागि मीनाको यो कदम साँच्चै उदाहरणीय छ । 

उनी भन्छिन्, “ ममात्र सुखी भएर हाँस्न सक्दिनँ, सबै दिदीबहिनीहरु खुसी भएको हेर्ने मेरो चाहाना हो ।” 

विगत १५ वर्षदेखि यातायात क्षेत्रमा सक्रिय रहदै आएकी मीना आर्थिक रुपमा बलियो भए कसैले हेप्न नसक्ने जिकीर गर्छिन् । 

गुल्मीदेखी  काठमाडौँसम्मको यात्रा :

काठमाडौँ बस्नु थोरैको रहर भए तापनि धेरैको बाध्यता हो । अध्ययन होस् वा रोजगारीको लागि मान्छे आफ्नो प्यारो गाउँलाई छोड्न बाध्य भएको छ । हो, त्यस्तै, बाध्यतामा परेर काठमाडौँ बस्ने मध्यहरु पर्छन् मीना र उनको परिवार । द्वन्द्व कालमा स्कुलबाटै बालबच्चालाई अपहरण गर्ने भएकाले आफ्ना २ बच्चाहरुको सुरक्षाको लागि उनको परिवार गुल्मी छोड्न बाध्य भयो । त्यसपछि भने उनको जीवनमा संघर्षको पहाड मडारिन लाग्यो । आफ्नो परिवारको जीवन धान्नकै लागि उनले टयाम्पो चलाइन् र आज नेपाल यातायात महिला चालकसमूहको अध्यक्ष भएकी छिन् । हेर्दा सबैलाई लाग्छ एउटा ट्याम्पो चालक अहिले नेपाल यातायात महिला चालक समूह अध्यक्ष भएको छ सबै राम्रो छ, तर मान्छेका आ-आफ्ना समस्याहरु हुन्छन् ।

मीनाले हरेक दिन आफू र आफ्नो परिवार मात्र नभएर सबै दिदीबहिनीको लागि सोच्ने भएकाले उनी अहिले पनि तिनै दु:खी र सहाराविहीन दिदीबहिनीको सारथी बनिरहेकी छिन् । चालक संघमा आबद्ध दिदी बहिनीहरुले मासिक २ सय जम्मा गरेको रकमले जति उठ्छ त्यसैमा उनले अहिले दिदिबहिनीहरुले गाडी चलाउन सिकाइ रहेकी छिन् । ३ र ४ पाङ्ग्रे गाडीमा दिदीबहिनीहरुले पाएको सफलामा नै उनी खुसी छिन् । भन्छिन्, ”नेपालमा मात्र नभएर विदेशमा समेत दिदीबहिनीहरुले गाडी चलाउनु भएको छ यो देख्दा खुसी लाग्छ । ”

महिलालाई यातायातमा असहज :

लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय रहँदै आएकी मीना एक सफल रोगजारकर्ता समेत हुन् । उनले धेरै दिदीबहिनीहरूलाई सवारी साधन चलाउन सक्षम बनाइन् । महिलाले बाहिरको मात्र नभएर घरको समेत सम्पूर्ण काम गर्नुपर्ने भएकाले महिलालाई गार्हो हुने उनको भनाइ छ । 

यातायात क्षेत्रमा महिला दिदीबहिनीहरूको सारथी बन्दै आएकी मीनाको आगामी योजना भनेकै महिला दिदीबहिनीहरूलाई यसै क्षेत्रमा लाग्न सहयोग र हौसला प्रदान गर्नु हो । उनी भन्छिन्, ‘सकुन्जेल दिदीबहिनीहरूकै लागि काम गर्छु, लोनमा निकालेको एउटा गाडीमा धेरै दिदीबहिनीहरूले रोजगार प्राप्त गर्नुभयो, यसलाई अझ व्यवस्थित र क्षमतावान् बनाउने उनको लक्ष्य छ ।’ तर उनको त्यो उचित योजनाको कदर र सम्मान कसले गर्ने ?

२० वर्षे पुराना सवारी साधन बन्द गर्ने योनजाले पनि दिदीबहिनीहरुलाई असहज भएको उनको भनाइ छ । पर्यटनदेखि सार्वजनिक गाडीसम्म दिदीबहिनीले चलाएको र सबैले दिदीबहिनीसँगको यात्रामा सहजता महसूस गर्ने भएकाले पनि यातायात क्षेत्रमा दिदीबहिनीहरू पुरुषको बराबरीमा आउनुपर्छ भन्ने उनको विचार छ । यातायात क्षेत्रमा सार्वजनिक यातायातमा ३० देखि ४० हजारसम्म मासिक कमाइ गर्न सकिने बताउने मीना, निजी गाडीमा भने १५ देखि २० हजारसम्म मासिक कमाउन सकिने बताउछिन् । 

दिदीबहिनीलाई अनुरोध :

इच्छा शक्ति भए हरेक काम गर्न सकिन्छ । पुरुषको तुलनामा महिलाहरू कमजोर बन्नुहँुदैन भन्ने सोच भएकी मीना आम दिदीबहिनीलाई विदेश नजान आग्रह गर्छिन् । ‘रोजगारीको समस्या भए आउनुहोस् म गाडी चलाउन सिकाउँछु,’ उनी भन्छिन् । आफूले २, ४ पैसा कमाउन सके कसैले दबाउन, होच्याउन नसक्ने उनको भनाइ छ । घरभित्र खुम्चेर होइन खुला हृदयले घरबाट बाहिर निस्केर संसार चिन्नुपर्छ भन्ने सोच भएकी मीना साँच्चै सबैलाई अगाडि बढ्न आग्रह गर्छिन् । 

यातायातका समस्या :

यातायात व्यवसायमा लागेका व्यक्तिहरूलाई आराम गर्ने ठाउँको अभाव हुनु, भाडाको गाडी जति कुदायो उति कमाइन्छ भन्ने सोच, ट्राफिकले गर्ने व्यवहार, खाल्डाखुल्डी बाटो आदिले यातायातमा समस्या भएको उनको अनुभव छ । 

कुनै दिन ट्राफिकले तँ भनेर सम्बोधन गर्दा नराम्रो महसूस हुने उनको अनुभव छ । राज्यले आवश्यकताभन्दा बढी सवारीसाधन भित्र्याउनु, ट्राफिक बत्तीको समस्याले गर्दा जाम बढ्दै गएको उनको भनाइ छ । 

लाइसेन्स निकालेको त्यो दिन :

एउटा छुट्टै इच्छा र आकांक्षा बोकेर हिँडेको मान्छे अवश्य सफल हुन्छ । त्यस्तै, यातायात क्षेत्रमा फड्को मार्न चाहने मीना आफ्नो काममा सफल भएको बताउँछिन् । उनले आफूले ३ महिनाको दूधे बालकलाई छोडेर लाइसेन्सको परीक्षा दिन गएको र सफल भएको गर्वका साथ बताउँछिन् । 

नेपाल यातायात महिला चालक समूहको काम :

नेपाल यातायात महिला चालक समूहले समाजले यातायात सिक्ने चाहने र आफ्नो खुट्टामा उभिन चाहने दिदीबहिनीहरूको लागि एउटा नयाँ आयाम हो  ।  महिला हिंसा र उत्पीडनमा परेका दिदीबहिनीहरूको लागि चालक समूह एउटा अभिभावकको रूपमा खडा भएको छ । यातायात क्षेत्रमा काम गर्न नसक्नेहरूका लागि विभिन्न तालिम उनले प्रदान गदै आएकी छिन् । समूहका सदस्यहरूबाट मासिक संकलन गरिने २ सय रुपैयाँ र अरु कुनै पनि सहयोगी हातले दिएको पैसा जम्मा गर्दै उनी महिलाहरुलाई स्वरोजगार बनाउने आफ्नै खाले अभियानमा सक्रियताका साथ संघर्ष गरिरहेकी छन् । 

सरकारी निकायसँग आग्रह :

महिला दिदीबहिनीहरूसँग नजिक रहेर खोलिएको संस्था भएकाले पर्याप्त सम्भावना हुँदा पनि लगानीको अभावमा कयांै काम गर्न नसकेको मीना बताउँछिन् । एउटा गाडीमा धेरैलाई सिकाउन सम्भव छैन,  बनाउने मिस्त्री र ज्याला दिन रकम नहुँदा उनी आफै जसोतसो मिस्त्रीको समेत काम गर्दै आएकी छन् । ड्राइभिङ सिकाउन कुनै निश्चित ठाउँ नभएका कारण जहाँ खाली जग्गा छ त्यहीँ सिक्ने र सिकाउने काम गर्दै आएको उनी बताउँछिन् । 

कुनै न कुनै एक सवारी, महिनाको यति लिटर पेत्रोल नै किन नहोस् कुनै पनि सहयोग भए आफूप्रति ठूलो सहयोग हुने मीनाको आशा छ । उनले सोचे जस्तै गरी सहयोग प्राप्त गरे यातायात श्रेत्रमा ५० प्रतिशत महिला सहभागी हुने उनको भनाइ छ । यदि सम्बन्धित निकायले कुनै सानो सहयोग गरे पनि धेरै महिला दिदीबहिनीले स्वदेशमै स्वरोजगारका लागि सक्षम बनाउन सकिने उनको विश्वास गरेको छ । 

दिदीबहिनीलाई आत्मबल नघटाउन उनी आग्रह गर्छिन् । कोही पनि कर्मठ महिला दिदीबहिनीलाई समस्या परे नेपाल यातायात महिला चालक समूहमा सम्पर्क गर्न आग्रह गर्दै मीना आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छिन् ।

सम्बन्धित समाचार

'सहकारी नियमावली आँउदैमा जादुको छडी जस्तो समस्या समाधान हुदैन, समय लाग्छ'

काठमाडौँ । विगत लामो समयदेखि सहकारी क्षेत्रमा विविध समस्याहरु देखापरेका छन् । यस क्षेत्र विशेषगरी सहकारी टिक्ने र नटिक्ने तथा बचतकर्ताहरुको रकम सुरक्षित हुन्छ कि हुदैन भन्ने ठूलो चुनौती रहेको

राजनीतिले लेखनमा 'गाइड' गर्दछ : धर्मेन्द्र नेम्बाङ

लामो समयदेखि साहित्य लेखन तथा राजनीतिमा सक्रिय रहँदै आएका कवि धर्मेन्द्र नेम्बाङको दोस्रो कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ यही वैशाख १४ गते शनिबार मण्डला थिएटरमा एक कार्यक्रममा बीच

मैले प्रतिस्पर्धा वा व्यापारका लागि कथा लेख्ने होइन : एल. बी. क्षेत्री

चितवनमा बसेर साहित्य लेखन तथा साहित्यिक गतिविधिमा सक्रिय रहेका लेखक एल.बी. क्षेत्रीको कथासंग्रह ‘व्रतभङ्ग’को विमोचन वैशाख २१ गते एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदैछ । पुस्तकलाई बीएन प्रकाशनले बजारमा ल्याउन

महिलालाई जिम्मेवारी दिनै कन्जुस्याइँ गरेको अवस्था छ - शशी श्रेष्ठ

काठमाडौँ । काभ्रे जिल्लाको मंगलटार बजारमा जन्मिएकी शशी श्रेष्ठ काठमाडौंबाट नेकपाकी प्रतिनिधिसभा सदस्य हुन् । सांसद श्रेष्ठ सांसदको भूमिकासँगै संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको भूमिकामा पनि अहिले सक्रिय


z